धरानमा फोहोर बग्ने खोलामाथि सुन्दर पार्क

August 19, 2021     Paryatan Yatra

धरान । धरानको माछा भौडी निक्कै चर्चित ठाउँ हो । भानुचोकदेखि पुर्व देशीलाइन सडक, चिनिया चोकबाट दक्षिण झर्ने कैलाश पथ र सदन रोड पश्चिम आएर ठोक्किन्छ । त्यस ठाउँलाई दोभान चोकपनि भनिन्छ ।
त्यो चोक वडा नं २ र ३ को सिमाना हो । स्थानीयहरु त्यसलाई नो म्यान्स ल्याण्ड पनि भन्छन् । त्यही चोकबाट दक्षिणतर्फ भौडी बग्छ, जसको नाम हो माछा भौडी । खासमा यो ड्रेन हो, तर बर्षाको पानी निक्कै गहिरो र ठुलो रुप लिइसकेको छ । यसको दाँया र बाँया दुवैतर्फ शान्तिपथतर्फ झर्ने सडक बनिसकेको छ । यो भौडी भने फोहोर र दुर्गन्धले गर्दा फोहोरी ठाउँको परिचय बनाइसकेको थियो । स्थानीयबासीहरु पनि माछा भौडीको फोहारबाट आजित थिए ।
माछा भौडी भएर हिड्नेहरु पनि पहिला जस्तो नाक खुम्च्याउदै हिड्नुपर्ने अवस्था छैन ।

माछा भौडीको रुप फेरिदैछ । पहिला फोहोर र दुर्गन्ध फैलिने भौडीमा सुन्दर पार्कको परिकल्पना अनुसार धमाधम भौतिक संरचनाहरु निर्माण भइरहेको छ । २०७४ मा पहिलो स्थानीय तह निर्वाचन पछि नै यसको रुप फेरिन शुरु गरेको हो । स्वर्गीय मेयर तारा सुब्बाको पालामा ज्येष्ठ नागरिकहरुलाई लक्षित गरेर नगर गौरवको आयोजनामा छनौट गरि यहाँ पार्क निर्माण कार्य अघि बढेको थियो । पहिलो बर्ष ३७ लाख बराबरको काम भयो । निर्माण कार्य अघि बढ्दै जादा ज्येष्ठ नागरिकको लागि मात्र नभै बालबालिकाहरुको लागि पनि मनोरञ्जन गर्ने ठाउँको रुपमा विकास भएको छ ।
करीव १ करोड ६० लाखको लागतमा बन्ने यो र्पाकमा बालबालिकाहरुलागि विषेश सामाग्री राखीएको छ । बीचमा पर्यटकहरुलाई आकर्षित गर्न पानीको फोहोरा पनि निर्माण हुनेछ । बिहान मनिङ वाक गर्नेहरुको लागि जिम गर्ने केही सामानहरु पनि राखिएकोछ । माछा भौडीको पहिचान दिलाउन माछा वा जलपरीको स्तम्भ राखीएको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.