तीर्थ सिग्देल
आजकल मान्छे अती नै ब्यस्त सेड्युलमा हुन्छन् । घर व्यबहारदेखि अफिसको काम र सामाजिक कार्यले अलिकति पनि समय मिलाउन गाह्रो हुन्छ । म पनि त्यही ब्यस्त सेड्युलमा रहेको मान्छे हु भन्दा हुन्छ ।
त्यसमा पनि सहरी जनजीवनले सताउदै लगेका कारण त्यति सहजै कतै निस्किन गाह्रो परिरहेको हुन्छ । तर मनै त हो । कतै जाउ न त केही समयका लागि भन्दा कहाँ नसकिने हो र ! त्यही परिवेशका बिचमा रुमल्लिदै मजस्तो हिड्न चाहने तर नसक्नेलाई पनि एउटा अवसर प्राप्त भयो । जो म भुल्न सक्दिन किनभने यात्राले पाठ सिकाउछ र आनन्द पनि दिन्छ ।
पुसको चिसो । अलिक सिर्सिर हावा चलिरहेको छ । बिर्तामोडबाट उकालो चड्ने योजना बनाउदा बनाउदै हामी खास चिसो खान पुग्यौ । झापाबाट इलामको सिमाना पुग्न आधा घन्टा पार गरे पुग्छ। यस्तो यात्रामा ज्याकेट र कान छोप्ने टोपी बोक्न बिर्सियो भने हालत हुन्छ । अरु बेला त यो गति हुन्छ भने पुस माघमा त बिजोग नै हुन्छ ।
म यात्रामा निस्कदा धेरै तयारी गर्दिन र अनावश्यक सरसामान पनि बोक्दिन । अलिक खुकुलो र हल्का तरिकाले निस्कन्छु । यस पटक पनि मेरो उही चाल देखेर पत्रकार राजु अधिकारी हासेर कुरा काटेको मलाई थाहा थियो ।
पुसको १ गतेतिर रोङ गाउँ पालिकाका वडा अध्यक्ष जुझारु युवा मणिकुमार स्याङ्बोले गरेको रिक्वेस्ट नकार्न सकिन । त्यही भएर म हिडेर यात्रा गर्न तयार भएको थिए । २ गते २ बजेतिर उकालिएका हाम्रा पाइलाहरुले त्यस दिन करिब ३ घन्टा चालिरहे । निरन्तर निरन्तर साझ नपरेसम्म ।
त्यो गन्तब्य मेरा लागि नौलो थिएन । पोहोर साल पुगेकै ठाउँ हो त्यो । तर हिडेर होइन । गाडी चडेर । त्यो बेला पुगेको सुर्योदय हेर्ने ठाउँ एकै वर्षमा कति छिटो फेरिएको हो मणि ? कसरी काम गर्ने जागर आउँछ हौ ? इलाममा अन्तुबाट पनि सुर्योदय र सुर्यास्तको सुन्दर दृश्य हेर्न सकिन्छ । तर तराईबाट नजिकैको दुरीबाट त्यस्तो मनमोहक दृश्य देख्न सकिने स्थानको प्रोमोसन गर्नु हाम्रो कर्तव्य थियो किनभने जुन स्थलको जे विषयमा महत्त्व हुन्छ त्यसलाई चिनाउनु सहि कर्तव्य हो । मलगायत झापाबाट पुगेका दुई दर्जन र इलामबाटै आएका दर्जन पत्रकारले लौरो टेकेर र खुइखुइ गर्दै हिडेको दृश्य अझ गजबको थियो । त्यो पनि जङ्गलै जङ्गल ।
खासमा इलामको झापासग सिमाना जोडिएको रोङको धेरै भुभाग जङ्गल पर्छ । जहाँ जे छ, त्यसैको विकास गर्ने हो । त्यही भएर होला रोङ गाउँ पालिका र त्यसका जुझारु युवा जनप्रतिनिधि मणिकुमार स्याङ्बो उर्फ सुवासले मान्छेहरुलाई जङ्गलमा पैदल हिडाउने सपना देखे । र, त्यो सपना जब योजना बन्यो । त्यसले मुर्तरुप लियो ।
हामीहरु त्यही योजनाका सारथि थियौ । इलामको कुटिडाडा अर्थात् पाथीभरा मन्दिर नजिकैको हास पोखरीलाई पछाडी छाड्दै जब हामी उकालो चड्यौ । भोलिपल्ट झापाको मेचीनगरको सिरानमा पुगेपछि मात्र हाम्रो यात्रा टुङ्गियो ।
हामीले त्यो सुनाखरी( स्थानीय अल्पसंख्यक लेप्चाको बोलचालीमा करसोङ) मार्गमा पाइला चालेका थियौ, २९ किलोमिटर त्यो मार्ग हाम्रालागि निक्कै लामो थियो । त्यही भएर बास बसेर बिहान सुर्योदय दर्सन गर्दै अधिकारी होमस्टेमा खाना खाएर गाडी नचढेको भए, घर पुग्दा खुट्टाले काम नगर्ने थिए कि ? साभारःMRcnepal.com