
पाथीभरा फेरिबाट कञ्चन कुम्भकर्ण र कञ्चनजङ्घा
December 25, 2021 Paryatan Yatraताप्लेजुङ । मंसिर महिनाको अन्तिम दिन सोमबार, पूर्वी नेपालको ताप्लेजुङमा रहेको पाथीभरा मन्दिरबाट मौसम सफा देखिएको छ ।
मौसम सफा भएकोले पाथीभरा मन्दिरबाट देखिएको कञ्चनजंघा, कुम्भकर्ण, मकालुलगायतका हिमाल निकै मनमोहक देखिन्छन्। पाथीभरा देवीको मन्दिरमा बाह्रै महिना मानिसहरु दर्शन गर्न जाने र हिमाल हेर्न जानेको संख्या कम छैन ।
समुद्री सतहबाट झण्डै ३८ सय मिटर उचाइमा रहेको पाथीभरा मन्दिरमा हेलिकप्टरबाट अथवा ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्लिङबाट पैदल यात्रा गरेर जान सकिन्छ। पैदल यात्राका लागि फुङ्लिङस्थित सुकेटार विमानस्थलबाट हिँडाइ सुरु गरेर त्यहाँबाट कच्चि बाटो हुँदै तल्लो फेदी र माथिल्लो फेदी हुँदै जानुपर्छ।
सयौं भेडा एकैपटक हराएपछि दुःखी बनेका भेडा गोठालाहरुलाई पाथीभरा देवीले सपनामा दर्शन दिइ आफ्नो आरधना गर्न भनेकी थिइन् भन्ने किंवदन्ती रहेको छ। पाथीभरा देवीको मन्दिरमा भक्तजनहरुले घण्टी र त्रिशुल चढाउने गर्छन्। मन्दिर वरपरको क्षेत्रमा भक्तजनले चढाएका सामाग्रीहरु ठूलो मात्रामा पाइए पनि कसैले टिप्न हुन्न भन्ने जनविश्वास छ।
पाथीभरा मन्दिरको फेदिबाट अनिल श्रेष्ठले कैद गरेको तस्बिर ।
साभारः हाम्रोमत दैनिकबाट