प्याराग्लाइडिङ इलामबाट झर्यो् काँकडभिट्टा

January 18, 2022     Paryatan Yatra

इलामको रोङ गाउँपालिका वडा नम्बर ६ को झण्डिडाँडाबाट शुक्रबार प्याराग्लाइडिङको परीक्षण गरिएको छ।

व्यावसायिक रूपमा प्याराग्लाइडिङ सञ्चालन गर्ने उद्देश्यसहित रोङ गाउँपालिकाको सक्रियतामा परीक्षण उडान गरिएको वडा नम्बर ६ का अध्यक्ष मनिकुमार स्याङ्बोले बताए।

पोखराको हाई फ्लायर प्याराग्लाइडिङ प्रालिका रूपक कोइराला, हरि बुढाथोकी र सागर नेपालीले प्याराग्लाइडिङको परीक्षण उडान गरेका हुन्।

रोङ गाउँपालिकामा पहिलोपटक सिंगल र डबल उडान भएको थियो। गाउँपालिकाका अनुसार पहिलोपटक प्राविधिक हिसाबले उपयुक्त छ कि छैन भन्ने हिसाबले परीक्षण उडान गरिएको हो।

पाइटल रूपक कोइरालाले पूर्वमा प्याराग्लाडिङका लागि इलामको झण्डिडाँडा उपयुक्त गन्तव्य हुने बताए।

झण्डिडाँडाबाट उडान गरिएको प्याराग्लाइडिङ झापाको मेची नगरपालिका वडा नम्बर १ को बाल विकास आधारभूत विद्यालयको प्राङ्गढमा अवतरण भएको थियो।

यस्तै, अर्को सोही वडाको तिरिङमा अवतरण भएको थियो। ‘आज पहिलो दिन भएर हामी कसैले पनि प्याराग्लाइडिङको मजा लिएनौं। भोलि पहिलोपटक यात्रुका रूपमा प्याराग्लाइडिङको अनुभव आकाशबाट लिनेछु,’ वडाध्यक्ष स्याङ्बोले भने।

स्याङ्बोले व्यावसायिक रूपमा प्याराग्लाइडिङको सम्भावना अध्ययनका लागि परीक्षण गरिएको बताए।

उनले भने, ‘यस ठाउँमा प्याराग्लाइडिङमार्फत् पर्यटक आकर्षित गराई समग्र यस क्षेत्रकै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेका छौं,’ उनले भने।

मेची राजमार्गको हाँस पोखरीबाट कर्साङ पदमार्ग हुँदै झण्डिडाँडा थाकेर पुगेका पर्यटकका लागि आकाशमा डुल्दै थकान मेट्न प्याराग्लाइडिङ सहयोगी हुने रोङ गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य केशव प्रधानले बताए।

व्यावसायिक रूपमा प्याराग्लाइडिङका लागि पालिकाले पूर्वाधार निर्माणमा समेत जोड दिने रोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन दाहालले जानकारी दिए। उनले भने, ‘इलामको रोङ गाउँपालिका पर्यटन, कृषि, जैविक विविधता, लोपन्मुख पशुपन्छी र जडिबुटीको उद्गमस्थल हो।’

इलामको कन्याम, फिक्कल, इलाम बजार, सलकपुर, पाथीभरा मन्दिर रोङको आकाशबाट नजिकै देख्न सकिन्छ।

यस्तै, भारतको पश्चिम बंगाल, दार्जिलिङ, मिरिक, सिलिगुडी पनि देख्न सकिने पाइलट हरि बुढाथोकीले बताए।

झापाको मेचीनगर, काँकडभिट्टा, भद्रपुर, विर्तामोड, चारकोशे जंगल पनि रोङको आकाशबाट पर्यटकले देख्न सक्ने उनले बताए।

प्याराग्लाइडिङको लागि कर्साङ पदमार्गका विभिन्न ठाउँ उपयुक्त रहेको बुढाथोकीले बताए।

झापाको चारालीबाट ३५ किलोमिटर मेची राजमार्ग हुँदै हाँसपोखरी पुग्न सकिन्छ। हाँसपोखरीबाट सुरू भएको कर्साङ पदमार्गको ९ किलोमिटर दुरीमा झण्डिडाँडा पुग्न सकिन्छ। त्यहीँबाट प्याराग्लाइडिङको मजा लिन सकिने पाइलटले बताएका छन्।

पर्यटकले उदाएको र अस्ताएको सूर्य झण्डिडाँडाबाट सजिलै देख्न सक्छन्। आकर्षक होमस्टे, विभिन्न प्रजातिका सुनाखरी, जंगलमा भेटिएका चराचुरूंगीको आवाज, सुन्तलाको खानी सलकपुर जस्ता क्षेत्रहरूले कर्साङ पदमार्ग पूर्वको आकर्षक गन्तव्य बन्न थालेको स्थानीयले बताए। साभारः सेताेपाटी

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.