लीलावल्लभ घिमिरे
मौलिक जातजाति र समुदायको संस्कृति संरक्षण गर्नु सबैको दायित्य हो । यसमा स्थानीय सरकारले पहल गर्नुपर्ने कुरामा दुई मत हुँदैन । यसैलाई आधार मानेर यहाँ आदिवासीको मौलिकता संरक्षण गर्न संग्रहालय स्थापना गरिएको छ ।
रामधुनी नगरपालिककोे वडा नम्बर २ शिवनगरमा आदिवासी जनजाति संग्रहालय छ । संग्रहालयमा थारु समुदायको पहिचान झल्कने विभिन्न सांस्कृतिक भेषभुषा, कला तथा ऐतिहासिक सामग्रीहरु प्रदर्शनमा राखिएका छन् । संग्रहालयको भित्तामा आदिवासी समुदायको जीवनशैली झल्काउने खालको परम्परागत चित्रकला कुँदिएको छ । उज्यालो गाँउ भनेर चिनिने गरेको यो क्षेत्र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । यस क्षेत्रलाई थारु पराम्परा र मौलिकतामा आधारित घरबास सुविधा (होमस्टे) बनाउने प्रयास नगरपालिकाले गरिरहेको छ ।
सुनसरी पूर्वका थारू चौधरीका इतिहास, कला, संस्कृति र जीवनशैलीलाई नजिकबाट बुझ्न चाहनेहरूका लागि थारू संग्रहालय पाठशाला नै हो भन्दा फरक पर्दैन । रामधुनी नगरपालिकामा ६० प्रतिशत थारू जातिको बसोबास छ । थारू चौधरीका आधुनिक पुस्ताले पूर्खाहरू कस्ता थिए, त्यसबेलाको जीवनशैली र रहनसशन कस्तो थियो, खानपान, कला संस्कृति, भाषा कस्तो थियो भनेर यहाँ अध्ययन गर्न सक्ने छन् ।
संग्रहालयभित्र जन्मदेखि मृत्युसम्मका गतिविधि, गाउँको झल्को दिने परम्परागत घर, देउता–घर, इनार, माछापोखरी, थारू समुदायका संस्कृति र संस्कारलाई झल्काउने सामग्री राखिएका छन् । कतिपय सामग्री उपलब्ध नभएकाले इतिहासका अधारमा त्यसलाई भित्ते तस्बिर र चित्रकलामार्फत प्रतीकात्मक रुपमा दर्शाइएको छ ।
संग्रहालयमा थारू समुदायले कृषि र यातायातको रूपमा प्रयोग गरेका ६० वर्ष पुरानो गोरुगाडा, सन्दुक (बाकस), माटाका पुराना परम्परागत भाँडाकुँडा, चुल्हो, जमिन जोत्न र खन्न प्रयोग हुने औजारहरू र ढकियाजस्ता परम्परागत वस्तु राखिएका छन् । मुसहर, सरदार र चौधरी जातिले पुज्ने भगवानको प्रतिमासमेत राखिएको छ ।
यहाँ पुग्नका लागि रामधुनीनगरको व्यापारिक तथा प्रशासनिक केन्द्र झुम्का बजारबाट पश्चिमतर्फ कालीझोडा जाने सडक पछ्याउनु पर्छ । झुम्का बजारबाट करिब दुई किलोमिटर दूरीमा पर्ने यो स्थानमा चिया खाजा खानका लागि सामान्य होटलहरु पाइन्छ । सार्वजनिक यातायातका साधन भने पाइँदैनन् । झुम्कावाट सिटी सफारी, टेम्पो तथा साना भाडाका गाडीहरु जुनसुकै बेलापाउन सकिन्छ ।