चिया-पर्यटन : सरकारले चिनेन, व्यवसायीले बुझेनन्

March 6, 2023     Paryatan Yatra

युवराज गौतम

धेरैजसोलाई बिहान उठ्नेबित्तिकै सुरुप्प चिया नपिए चित्त बुझ्दैन । घर आएका पाहुना वा साथीभाइ भेटघाटमा चियाबाटै सत्कार सुरु गर्ने संस्कार छ । होटल वा रेस्टुरेन्ट छिर्नासाथ चिया अर्डर गर्ने चलन छ । टाढाबाट आएका पाहुना वा स्नेहीहरुलाई चियापत्ती उपहार दिने चलन अचेल व्यापक बनेको छ ।

साना–ठूला होटलमा भव्य चिया पार्टी नै आयोजना गरिन्छ । सरकार होस् या निजी क्षेत्रले आफ्नो कार्यक्रम आयोजना गर्दा आगन्तुकलाई चिया खुवाएर सम्मान गर्ने गर्छन् ।

जाडोयाममा चिया पसलहरु खुबै व्यस्त हुन्छन् । चियाको तलतलले नेपालीलाई कहिल्यै छाड्दैन । जाडोमा तात्तातो चिया पिउँदा बेग्लै आनन्द आउँछ । शहरहरुमा विभिन्न किसिमका चिया बिक्री गर्ने प्रशस्त दोकानहरु छन् । कोशेलीका रुपमा वा दैनिक प्रयोग गर्न चियापत्ती किन्न पारखीहरु झुम्मिन्छन् । फरक फरक स्वादको चिया विक्री गर्ने चिया पसलहरु अनगिन्ती छन् ।

काठमाडौंका खोला किनार वा करिडोर क्षेत्रमा तात्तातो चिया बिक्री गर्ने ‘टि–स्पट’हरु खुलेका छन् । हिजोआज साना साना माटाका कपमा ‘मट्का चिया’ पिउने फेसन छ । भारतबाट भित्रिएको यस्तो फेसन नेपालमा खुबै चलेको छ ।

वास्तवमा चिया नेपालीहरुको संस्कृति हो र संस्कार हो । त्यसबाहेक नेपाली चिया अर्थतन्त्र र पर्यटनसँग प्रत्यक्ष जोडिएको छ । चियाले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगट्दै आएको छ ।

इलामका डाँडाबाट फैलिएको चिया ३० भन्दा बढी जिल्लामा विस्तार भइसकेको छ । एकातिर चियाको मुनाबाट आम्दानी भइरहेको छ भने प्राकृतिक सुन्दरताका कारण आगन्तुकहरुबाट बेग्लै आम्दानी भइरहेको छ । पूर्वी पहाडका उजाड पाखापखेरु रहरलाग्दा देखिन थालेका छन् । आलु, अदुवा, कुचो, मकैं र कोदोमा निर्भर किसान चियाबाट समृद्ध बन्दै गएका छन् ।

मुलुक प्रादेशिक संरचनामा गएपछि स्थानीय सरकारले आफ्नो प्रदेशको विकास र समृद्धिका लागि भिन्नाभिन्नै अवधारणा र रणनीतिहरु बनाइरहेका छन् । स्थानीय स्रोत साधनको पहिचान र परिचालन गरेर स्थानीय क्षेत्रलाई समृद्ध र सक्षम बनाउने अभियानहरु थालनी भइसकेका छन् ।

स्थानीय स्रोत र साधनको अवस्थालाई हेरेर प्रदेश सरकारले आफ्नै किसिमका विकासका योजनाहरु तयार पारेको छ । ‘समृद्ध नेपाल र सुखी नेपाली’ को अवधारणाअनुरुप सरकारले स्थानीय स्रोत साधनलाई अधिकतम परिचालन गर्ने रणनीति लिएको छ । सोहीअनुरुप बजेट तयार पारिएको छ । बार्षिक कार्ययोजना स्थानीयको बस्तुस्थितिकै आधारमा तयार भएको पाउन सकिन्छ ।

४९ लाखभन्दा बढी जनसंख्या ओगटेको कोशी प्रदेशको प्राथमिकतामा पर्यटन क्षेत्रलाई लिइएको छ । कृषि र जलविद्युतलमार्फत पनि कोशी प्रदेशले समृद्धिको बाटो तय गर्ने औंल्याइएको छ । तमोर, अरुण, दूधकोसी, लिखु, सुनकोसी, सप्तकोसीलगाय नदीमा २६ हजार पाँच सय ४१ मेगावाटको जलविद्युत उत्पादन क्षमता छ । कृषिमा पनि प्रशस्त सम्भावना छ ।

यस प्रदेशमा समुद्र सतहबाट ५० मिटरदेखि पाँच हजार मिटर उचाइसम्म कृषि तथा पशुपालन गरिदै आइरहेको छ । त्यसबाहेक पर्यटन यस क्षेत्रको समृद्धिको प्रमुख आधारस्तम्भका रुपमा लिइएको छ । विज्ञहरुले बृहत अध्ययनपछि ‘ग्रिन इष्ट’ को अवधारणा आवश्यक भएको तथ्य सार्वजनिक गरिसकेका छन् ।

भारत, बंगलादेश, चीन र भुटान जस्ता मुलुकहरुको ‘गेटवे’ मानिने प्रदेश १ मा प्राकृतिक, धार्मिक तथा पर्या–पर्यटनका हिसाबले अब्बल मानिएको छ । सगरमाथा, पाथीभरा, मकालु, कञ्चनजंघा, इलाम र अधिकांश जिल्लामा फैलिएको चिया यहाँको पर्यटनका लागि आकर्षक मानिन्छ ।

१४ वटा जिल्ला समेटिएको यस प्रदेशमा एक महानगरपालिका, दुई उपमहानगर, ४६ नगर र ८८ वटा गाउँपालिका छन् । सबैतिर कृषि प्रमुख आय स्रोत हो । जसमध्ये धान, चिया, अलैंची, पशुपालन आम्दानीका प्रमुख स्रोत हुन् ।

सगरमाथा र कञ्चनजंगा हिमाल आरोहणबाट पर्यटक आकर्षण बढाएर आम्दानी प्रशस्त हासिल गर्न सकिन्छ । प्रदेशका १४ जिल्लामध्ये ८ जिल्ला चियाले हराभरा छन् । चिया प्राकृतिक रुपमा पनि सुन्दर देखिन्छ । सँधै हरियाली देखिन्छ । जसका कारण चिया–पर्यटन यस प्रदेशको प्रमुख आयस्रोत बनाउन सकिन्छ साथै बनाउन सकिने आधार पनि छन् ।

यस कारण चिया पर्यटन

‘आफ्नो वरिपरि
भीर, पाखा र कान्लाभरि
थुम्का थुम्का चिया, र
झुम्का झुम्का अलैँची उमारेर
सन्तोषले एक्कासि सुस्मित उठेको झैँ
हरियो भरियो इलामलाई देख्ता मलाई
नेपालभरि अलिअलि इलाम छर्न मन लाग्यो’

कवि भूपि शेरचन इलाम आएका बेला अनुभव गरेको सौन्दर्यबाट प्रेरित भएर रचना गरेको उल्लेखित कविताशंले नै प्रष्ट पार्छ– चिया–सौन्दर्य कति मनमोहक हुन्छ । यही सौन्दर्यको उपयोग गरेर ठूलो संख्यामा पर्यटक आकर्षित गर्न सकिन्छ । पर्यटक आगमन बढेपछि आर्थिक क्षेत्र स्वतः चलायमान हुन्छ ।

विश्वका कतिपय देशमा चिया–पर्यटन अर्थात् टि–टुरिजम प्रमुख आयस्रोतको रुपमा विकसित भएको छ । नेपालमा भने यसको अवधारणा विकास र प्रवर्द्धन हुन सकिरहेको छैन ।

हुन त नेपालका करिब ३५ जिल्लामा चिया विस्तार भइसकेको छ । चिया उत्पादन गरी बिक्री गरेर आम्दानी लिने पाटो एकातिर रहेपनि पर्यटनको अर्काे पाटो आय स्रोतको गतिलो आधार मान्न सकिन्छ ।

चीन, भारत, केन्या, श्रीलंकाजस्ता देशहरुमा चिया पर्यटनबाट अधिकतम फाइदा लिएको पाइन्छ । चीनको सिचुवान प्रान्तमा चियाको ‘म्युजियम’ नै छ । त्यहाँको जंगलमा पहिलोचोटि पत्ता लागेको चियाको बोट भएको स्थानलाई संरक्षित गरिएको छ । त्यो पहाडी इलाका भएकाले आगन्तुक पर्यटकलाई माथिसम्म पुग्न रोप–वेको व्यवस्था गरिएको छ । जुन ठाउँ हेर्न हजारौं जाने गर्दछन् ।

चीनमा मात्र होइन जापानमा पनि यसको विस्तार व्यापक रुपमा भएको छ । चीन र जापानमा चियालाई पेय पदार्थका रुपमा मात्र होइन सभ्यताको रुपमा लिने गरिन्छ । हजारौं चिया घरहरु खुलेका छन् ।

त्यहाँ उत्पादन हुने चियालाई ‘टि टेस्टिङ्ग सेरोमनी’ को रुपमा लोकप्रिय भएको छ । त्यहाँ ‘ग्रिन टि, वाइट टि, ब्ल्याक टि, अर्यानिक टि’ चखाएर चियाका पारखीहरुलाई आकर्षित गराउने गरिन्छ ।

पर्यटकलाई सोही किसिमका चिया चखाएर स्वागत गर्ने परिपाटीको विकास भएको छ । भारतको दार्जिलिङ, आसाम, डुवर्सलगायत क्षेत्रमा पनि यसको विकास हुँदै गइरहेको छ । चिया संस्कृतिका रुपमा विकसित हुँदै गइरहेको छ ।

चिया अतिथिलाई सत्कार गर्ने एक पेय पदार्थ मात्र नभएर मानव सभ्यताको एक अभिन्न संस्कार पनि भएको छ । ठूला बैठक, सभा, गोष्ठीमा ‘टि–ब्रेक’ का रुपमा चिया पिउने परम्पराका कारण अलग्गै संस्कार, सभ्यता हुँदै चिया पर्यटनका रुपमा परिभाषित हुन पुगेको छ ।

चिया–पर्यटन प्रबर्द्धनको प्रारम्भ चीनबाट भएपछि विश्वका अन्य राष्ट्रले यसबाट ठूलो आर्थिक उन्ननि गरिरहेका छन् । त्यसैले चिया पर्यटनको अवधारणा विकास र प्रबर्द्धनका लागि प्रदेश १ को गतिलो आधार मान्न सकिन्छ । तर सरकारको प्राथमिकतामा परेको छैन ।

चियालाई पर्यटनको विविधतामा जोडेर प्रदेश सरकारले योजना बनाउनै सकेको छैन । वास्तवमा प्रदेश सरकारले चियालाई पर्यटनसँग कसरी जोड्न सकिन्छ भन्ने मेसो नै पाउन सकेन । सम्भाव्यता अध्ययन र प्रवर्द्धनमा प्रदेश सरकारले चासो नदिनु उदेकलाग्दो छ ।

विश्वका चिया पारखीहरु चियाको सेवनबाट स्वास्थ्यमा हुने फाइदाका बारेमा बुझेर चिया पिउन प्रोत्साहित हुने गर्छन् । विशेष गरेर पश्चिमा राष्ट्रका नागरिकहरु चिया सेवनको फाइदाका वारेमा विशेष सजग छन् । त्यसैले उनीहरु ‘टि इज हेल्थ ड्रिंक’ भनेर चिया उत्पादक देशहरुमा गुणस्तरीय चिया उत्पादनमा विशेष चासो राख्ने गर्छन् । नेपालका पूर्वी पहाडी जिल्लाहरु चिया उत्पादन हुने उपयुक्त हावापानी भएको क्षेत्रमा गणना हुन्छ ।

समुद्रपार मुलुकहरुमा खानेकुरामा विषादीको मात्रालाई लिएर धेरै संवेदनशीलता अपनाउने गरिएको छ । त्यसैले सकेसम्म विषादीरहित चिया प्रयोग गर्ने गर्छन् । मान्यताप्राप्त निकायबाट मानव स्वास्थ्यमा हानि नगर्ने गरी निर्धारण गरिएको न्यूनतम परिमाण विषादी भएको चिया र अरु चिजले बजार पाउन सहज हुन्छ । यसमा पनि विशेष ध्यान दिनुपर्ने अवस्था छ ।

प्राकृतिक सुन्दरताका साथै हावापानी पनि उपयुक्त भएकाले इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, झापा, दोलखा, कास्की, लमजुङ, ललितपुरलगायत जिल्ला चिया पर्यटनको उपयुक्त स्थानका रुपमा विकास गर्न प्रशस्त सम्भावना भएको क्षेत्र मानिन्छ ।

चिया खेतीको इतिहास

नेपालमा डेढ शताब्दीभन्दा अघिबाट सुरु भएको चिया खेती आर्थिक स्रोतका रुपमा विकसित हुँदै गएको छ । करिब २८ हजार हेक्टर जमिनमा चिया विस्तार भइसकेको छ ।

नेपालमा चिया खेतीको इतिहास निकै लामो छ । वि.सं. १९२० मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले चीन भ्रमणबाट फर्कँदा चिनियाँ जातको चियाको बीउ उपहारस्वरूप तत्कालीन चिनियाँ सम्राटबाट पाएका थिए ।

त्यसलाई नेपालमा भित्र्याएका थिए भनिन्छ । चीनबाट ल्याएको चियाको बीउ रोप्ने आदेश इलामका तत्कालीन बडाहाकिम तथा जङ्गबहादुरका ज्वाइँ गजराज सिंह थापालाई भएको थियो ।

वि.सं. १९२० मा इलाम चिया कमान र त्यसको दुई वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चिया खेतीको शुरूवात भएको मानिन्छ । त्यही दशकमा सीमावर्ती भारतको दार्जिलिङमा पनि चिया खेती प्रारम्भ गरिएको थियो ।

जहानियाँ राणा शासनका बेला नेपालमा शुरूवाती अवस्थामा रहेको चिया उद्योग त्यति फस्टाउन सकेन । दार्जिलिङतिर भने चिया खेती तथा उद्योग विस्तार एवं विकास हुँदै गयो ।

२००७ सालमा प्रजातन्त्र प्राप्तिपछि मात्र नेपालमा लगानीको वातावरण केही खुकुलो हुँदै गयो । यसको सकारात्मक प्रभाव चिया क्षेत्रमा पनि पर्यो । २०१६ सालमा झापा जिल्लाको रड्गिया डाँडामा बुधकरण चिया बगानको नाममा निजी स्तरको पहिलो चिया बगान स्थापना भयो ।

त्यस्तै, सरकारी स्तरमा पनि वि.सं. २०२३ असोज २३ गते नेपाल चिया विकास निगम स्थापना भयो । शुरूवाती दिनहरूमा प्रशोधन कारखानाको अभावमा दार्जिलिङकै कारखानाहरूलाई हरियो पत्ती बेच्नु पर्ने अवस्था थियो ।

वि.सं. २०३५ मा इलाममा र त्यसको केही वर्षपछि झापाको सोक्तिममा पहिलो पटक प्रशोधन कारखाना स्थापना गरिएपछि भने दार्जिलिङतिर जानुपर्ने बाध्यता धेरै हदसम्म हटेको थियो ।

उत्पादन र पर्यटन सँगसँगै

चियापत्ती प्रशोधन गरेर वा हरियो पत्ती बेचेर आम्दानी गर्नुमात्र होइन कि पर्यटकलाई चियाबारी घुमाएर किसानकै हातबाट चिया चखाएर आकर्षित गर्न सकिन्छ ।

नाङ्गा डाँडालाई सदुपयोग गरेर रोपिएको चियाका वुट्टाले मुना मात्र होइन प्राकृतिक सुन्दरता पनि बढाएको छ । यसर्थ, चियाको स्वाद चखाएर, चियाबारीमै घुमाएर, चियाबारी भित्रकै घरमा बास गराएर, चिया कृषकले नै तयार पारेको हाते चिया उपहार प्रदान गरेर चिया पर्यटनलाई स्थापित गर्न सकिन्छ ।

चियाबारीभित्र रिसोर्ट, छोटो दूरीको पदमार्ग, होमस्टे चिया पर्यटनको अवधारणाभित्र पर्दछ । विश्वका राष्ट्रहरुमा नेपाली चियाको गुणस्तर राम्रो भएकाले नेपाल आउन पर्यटकहरु उत्साहित छन् ।

नेपालमा चिया खेतीको अवस्था, खेती गर्ने शैली, ऐतिहासिक प्रशोधन कारखाना, कारखानाको अवस्था, चिया उत्पादन गर्ने तरिका, किसानको जीवनस्तर लगायत यहाँको प्राकृतिक सुन्दरतामा विदेशी पर्यटकलाई आकर्षित गराउन सकिन्छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांक अनुसार नेपालमा १६ हजार ९ सय २० हेक्टर जमिनमा चिया खेती गरिएको छ । विस्तार हुने क्रम बढ्दो छ ।

२८ जिल्लामा किसानस्तरमै विस्तार भइसकेको छ । बोर्डले हरेक वर्षको १५ वैशाखमा राष्ट्रिय चिया दिवस मनाउने गर्छ । नेपालमा १६ हजारभन्दा बढी चिया कृषक र ६० हजार यसका श्रमिकहरु संलग्न रहेको बोर्डको भनाइ छ ।

आर्थिक वर्ष २०७६/०७७ मा २ अर्ब ७८ करोड रुपैयाँ बराबरको १ लाख १ हजार १ सय ८५ मेट्रिक टन चिया निर्यात भएकोमा आर्थिक वर्ष २०७७/०७८ मा ३ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ बराबरको १ लाख १ हजार ९ सय २० मेट्रिक टन चिया निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । बोर्डका अनुसार सन् २०२०/०२१ मा नेपालमा १ करोड ५६ लाख ४१ हजार केजी सिटिसी चिया उत्पादन भएको थियो ।

अर्थोडक्स चिया ७१ लाख ६८ हजार २ सय ५५ केजी उत्पादन हुँदा ग्रिन टी ७ लाख ७२ हजार ४ सय ५५ केजी उत्पादन भएको थियो । अन्य चिया १ लाख ५१ हजार ९१ केजी उत्पादन हुँदा कूल २ करोड ३७ लाख ४५ हजार ९ सय १ केजी चिया उत्पादन भएको थियो ।

उत्पादन र प्रशोधन गरी विदेशमा बिक्री गरेर आउने आम्दानी जस्तै चियालाई पर्यटनसँग जोडेर प्रशस्त अर्थोपार्जन गर्न सकिन्छ । यसका लागि प्रदेश १ सरकारले विशेष योजना बनाउनु जरुरी देखिएको छ । त्यसमा उद्योगी, व्यवसायीलगायत निजी क्षेत्रलाई पनि साथ लिएर काम गरे प्रभावकारी हुन सक्छ । व्यवसायीले पनि चिया बिक्रीको आम्दानीमा सीमित नभइ त्यसलाई चिया–पर्यटनसँग जोडेर काम गरे अझ आम्दानी बढाउन सकिने कुरामा ध्यान दिनुपर्छ ।

प्रदेश र स्थानीय सरकारको प्रयासमा संघीय सरकार र निजी क्षेत्रले पनि भरथेग गरे झनै उत्तम हुनेछ ।

(साभार सरल पत्रिका)

 

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.