पहाडको डाँडीमा रेखाकार रूपमा विस्तार भएको चैनपुरको अवस्थिति पनि आफैंमा निकै मनमोहक छ। मौसम सफा भएको अवस्थामा गढीबाट हिमाली श्रृंखलाहरूको समेत अवलोकन गर्न सकिन्छ ।कोशी प्रदेशको हिमाली जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारी र तुम्लिङटार धेरै पहिले गएको थिएँ। तर सोही जिल्लामा अवस्थित पूर्वी नेपालकै ऐतिहासिक र नामी चैनपुर बजार (हालको चैनपुर नगरपालिका) पुग्ने अवसर भने २०८० सालमा बल्ल जुर्यो। केटाकेटी हुँदा घरघरमा आउने गाइने दाइहरूले सारङ्गी रेट्दै पूर्वेली लोक भाकामा गाएको चैनपुरको कथा–कैरन सुनेकोले पनि चैनपुरबारे अलि बढी नै उत्सुकता थियो। यस्ता गाइने दाइहरू पूर्वका हिमाल, पहाड र तराईका गाउँगाउँसम्म पुग्ने भएकोले पनि पूर्वतिर चैनपुरको नाम नसुन्ने कमै होलान् भन्ने लाग्छ। यसपटक कामको सिलसिलामा आफ्नो टिमसँगै चैनपुर नगरपालिकामा करिब दुई हप्ता जति बसियो। स्थानीय सरकार, वडाका जनप्रतिनिधि र स्थानीयवासीहरूबीच राम्रोसँग अन्तरक्रिया गर्ने अवसर जुर्यो। त्यो लामो बसाइमा घुमघामसँगै चैनपुरलाई नजिकबाट हेर्ने, केही बुझ्ने र अनुभव गर्ने अवसर पनि जुर्यो। यसक्रममा चैनपुरको बारेमा एउटा साङ्गोपाङ्ग बुझाइ र अनुभूति समेत सँगालियो। यहाँ त्यही ऐतिहासिक चैनपुरको सामाजिक, आर्थिक र भौतिक विषयवस्तुमा आधारित रहेर यसको आरोह–अवरोह, संभावना र चुनौतीको बारेमा चर्चा गरिनेछ। विगतमा चैनपुर पूर्वी नेपालकै ऐतिहासिक महत्व बोकेको पुरानो पहाडी बजार केन्द्र थियो। राणाशासन र पंचायत व्यवस्थाको सुरुवाती समयमा यो बजार निकै फस्टाएको थियो। वरिपरिका जिल्ला, बजारकेन्द्र, बस्ती लगायत तराईका जिल्लाबाट समेत व्यापारीहरू चैनपुरको धातुको करुवा, घरेलु हतियार लगायत डोको, नाम्लो, जडीबुटी, सख्खर, फलफूल आदि खरिद गर्न आउने गर्थे। चैनपुरमा व्यापारको संभावना देखेर काठमाडौं, भक्तपुर, ललितपुर, धुलिखेल, बनेपा, साँगा, नाला आदि स्थानबाट समेत व्यापार व्यवसायको सिलसिलामा नेवारहरू आई चैनपुरमा बसोबास गरेका थिए। चैनपुर नगरपालिका ‘चन्द्रपुर’ भन्ने धार्मिक ऐतिहासिक नामबाट अपभ्रंश हुँदै चैनपुर रहन गएको जनविश्वास रहेछ। पौराणिक मान्यता अनुसार सतीदेवीको दायाँ आँखा पतन भएको पवित्र स्थलको रूपमा परिचित चैनपुरको प्रसिद्ध सिद्धकाली मन्दिरले यस नगरपालिकालाई थप धार्मिक र पौराणिक महत्व समेत प्रदान गरेको छ। ऐतिहासिककालमा किराँतहरूको शासन रहेको यस स्थानलाई त्यतिबेला गोलाबजार समेत भनिने गरेको रहेछ। नेपाल एकीकरणपश्चात् चैनपुरलाई पूर्व ६ नं. भनिने रहेछ। नेपाल र भोटबीचको अन्तिम युद्ध यसै गढीबाट टिष्टासम्म पुगी लडेको इतिहास स्थानीय बुढापाकाहरूले सगौरव सुनाए।
काठमाडौंबाट दूरी नाप गरी राखिएको कोसेढुंगाले पनि यस ठाउँको ऐतिहासिक, प्रशासनिक र पुरातात्विक महत्वलाई उजागर गरेको छ। चैनपुरका शिल्पकारहरूले बनाएका धातुको करुवा चैनपुरको अर्को महत्वपूर्ण पहिचान हो । तर २०२४ सालमा नेपाल सरकारको निर्णयबाट चैनपुरबाट जिल्ला सदरमुकाम खाँदबारी सर्यो। जिल्लाको प्रशासनिक र व्यापारिक केन्द्रको रूपमा स्थापित भइसकेको चैनपुर त्यसपछि विस्तारै ओरालो लाग्यो। यहाँका प्रतिष्ठित र ठूला व्यापारीहरू व्यापारको खोजीमा जिल्ला सदरमुकाम खाँदबारी र पूर्वी तराईका शहरहरूतर्फ पलायन भए जसको परिणामस्वरूप पंचायत व्यवस्थाभरि चैनपुर लगभग सुनसान जस्तै भयो। धनकुटाको लेगुवाबाट अरुण नदीको तीरैतीर खाँदबारी जाने सडक पक्की भएसँगै जिल्ला सदरमुकाम खाँदबारीले आफ्नो सामाजिक, आर्थिक, प्रशासनिक र राजनैतिक अन्तरसम्बन्ध बढाउँदै लग्यो भने चैनपुर विस्तारै ओझेलमा पर्दै गयो। तुम्लिङटार विमानस्थलबाट आउने पर्यटक र व्यापारीहरू समेत चैनपुर भन्दा खाँदबारी जान थालेपछि भने इतिहासको त्यो गुलजार चैनपुर सुनसान र गुमनाम जस्तै भयो। पंचायती व्यवस्थाको अन्त्यसँगै देशमा प्रजातन्त्र त आयो तर २०५२ सालबाट सुरु भएको सशस्त्र युद्धले चैनपुरलाई पनि नराम्रोसँग गाँज्यो। २४ वैशाख २०५९ मा त माओवादीले चैनपुरमाथि आक्रमण नै गरे। चैनपुरबाट मानिसहरू सुरक्षित भविष्य र बसोबासको लागि तराईका ठूला शहर र राजधानी काठमाडौं जाने क्रम झन् बढ्यो। यी विभिन्न राजनैतिक र प्रशासनिक घटनाक्रमहरूले गर्दा चैनपुर इतिहासको लामो कालखण्डसम्म (२०२४ सालमा चैनपुरबाट जिल्ला सदरमुकाम खाँदबारी सरेसँगै २०७३ सालमा स्थानीय तह पुनःसंरचना नहुन्जेलसम्म करिब ५० वर्ष) एकान्त र स्थिर रहन पुग्यो। तर समयले विस्तारै कोल्टे फेर्यो र २०७३ सालमा स्थानीय तह पुनःसंरचनासँगै साविकको गौंडा र सदरमुकाम रहेको चैनपुर बजारमा साविकका सिद्धकाली, सिद्धपोखरी, चैनपुर, बानेश्वर, खराङ र नुनढाकी गाविसहरू गाभिएपछि चैनपुर नगरपालिका बन्यो। नगरपालिका भएसँगै चैनपुरको भूगोल विस्तार भएर ११ वटा वडाहरू बने र विभिन्न धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्वका पर्यटकीय क्षेत्र र सम्पदाहरू नगरपालिकाको राजनैतिक सिमानाभित्र समेटिन पुगे। यसैक्रममा लामो समयसम्म राष्ट्रिय राजमार्गबाट अलग रहेको चैनपुर कोशी राजमार्गको पहुँचले पूर्वी तराईका ठूला शहरहरूका साथै जिल्ला सदरमुकाम खाँदबारी र तुम्लिङटार विमानस्थलसँग जोडिन पुग्यो। साँच्चै भन्नुपर्दा कोशी राजमार्ग पुगेसँगै चैनपुर पुनः जुर्मुराउन थाल्यो भने आफ्नो पुरानो शान र रौनक फर्केर आउला भन्ने आभास स्थानीय बुढापाकामा देखिन थालेको छ। उत्तर दक्षिण कोशी राजमार्गको बसन्तपुर-मुढे शनिश्चरे-चैनपुर-बोहराटार सडक अन्तर्गतको ३२ किमि खण्ड चैनपुर नगरपालिकामा पर्दछ। यो राजमार्गले नगरपालिकाका ५ वटा वडाहरूलाई (वडा नं ७, ८, ९, १० र ११) राष्ट्रिय राजमार्गको पहुँच दिएको छ। त्यसैगरी चैनपुर-गुफापोखरी सडक खण्डले नगरपालिकाको १, २, ३, ४, ५ र ६ नं वडाहरूलाई समेट्ने भएकोले चैनपुर नगरपालिकाका सबैजसो वडाहरू सडक संजालसँग जोडिएका छन्। चैनपुर लगायत पोखरी र खराङ बजारका लगभग ५ किमि जति भित्री सडकहरू ढलान गरिएकोले बजार हिंडडुल गर्न सहज छ भने पुरानो बजार भएतापनि चैनपुरको मुख्य बजार सफा छ। चैनपुरबाट गुफापोखरी जाने सडकको ११ किमि खण्ड कालोपत्रे भइसकेको र यो सडक निर्माणाधीन रहेकोले अबको केही वर्षमा नगरपालिकाका सबै वडा केन्द्रहरू पक्की सडकले जोडिने छन्। धनकुटा जिल्लाको हिले बजारबाट पश्चिमतर्फ मध्यपहाडी लोकमार्ग हुँदै अरुण नदीको किनारमा अवस्थित लेगुवा बजारबाट तुम्लिङटार हुँदै संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारी जोड्ने सडक समेत कोशी राजमार्गसँग सभाखोला पुलमा जोडिएको छ।
चैनपुर नगरपालिका उत्तर दक्षिण दुई वटा राजमार्गहरूले (कोशी राजमार्ग र लेगुवा-खाँदबारी राजमार्ग) जोडिएको छ। यस दृष्टिकोणले हेर्दा चैनपुर पहाडी भू-भाग भएतापनि सुगम भइसकेको छ। विगतमा धनकुटा जिल्लाको हिले बजारबाट २-३ दिन लगाएर पैदल हिंडेर पुगिने चैनपुर अब हिले-लेगुवा-सभाखोला पुल हुँदै केही घण्टाको यात्राबाट पुग्न सकिन्छ भने कोशी राजमार्गको हिले-बसन्तपुर-मुढे शनिश्चरे हुँदै पनि सहजै पुग्न सकिन्छ। निर्माणाधीन खराङ-हात्तीसुँडे-पिलुवा दोभान सडक सम्पन्न भएसँगै चैनपुरबाट तराई झर्ने दूरी अझ कम हुने देखिन्छ। कोशी राजमार्ग हुँदै चैनपुर बजारबाट तुम्लिङटार विमानस्थल करिब आधा घण्टाको यात्रामा पुगिने भएकोले चैनपुर हवाई यातायातसँग समेत जोडिएको छ। यसले तुम्लिङटार विमानस्थल मार्फत चैनपुरवासीको राजधानी काठमाडौंसँग समेत सहज पहुँच स्थापित भएको छ। कुनैवेला मोटर चढ्न २-३ दिन हिंडेर धरान र पछि धनकुटा जिल्लाको हिले बजार पुग्ने चैनपुरवासीको कथा अहिले कोशी राजमार्गले पूरै बदलिएको छ। भर्खरै पिच भएको सफा कालोपत्रे सडक, चारैतिर खुल्ला, सफा र शान्त वातावरण, प्रशस्त वन क्षेत्रहरू, चिटिक्क परेका चैनपुरे बस्ती र परम्परागत शैलीमा निर्मित पुराना घरहरू, प्रशस्त खोलानाला र नदीहरू, बसोबास र घुमफिरको लागि साह्रै अनुकूल मौसम, वास्तवमा चैनपुर प्राकृतिक र सांस्कृतिक हिसाबले निकै सम्पन्न छ। नगरपालिका भित्र ६१ वटा सामुदायिक वनहरू नै छन् भने समुद्र सतहबाट २६० मिटर (पिलुवा दोभान) देखि ३५३५ मिटर (जडिबुटे देउराली) सम्म फैलिएकाले उचाइगत विविधतासँगै नगरपालिकाको जलवायु, जीवजन्तु तथा वनस्पतिहरूमा समेत व्यापक विविधता छ । यस नगरपालिकामा पौराणिक मान्यता अनुसार सतीदेवीको दायाँ आँखा पतन भएको पवित्र धार्मिक स्थलको रूपमा रहेको प्रसिद्ध सिद्धकाली मन्दिर, १८७७ सालमा निर्मित ऐतिहासिक बानेश्वर मन्दिर, विश्वकै ठूलो प्राकृतिक शिवलिंग रहेको बालेश्वर गुफा, प्राकृतिक तथा धार्मिक स्थलहरू, बानेश्वर डाँडा, प्राकृतिक सुन्दरताले भरिपूर्ण गुफापोखरी, भिरेश्वर गुफा, ताङलेवा झरना, तातोपानी जस्ता धार्मिक र पर्यटकीय स्थलहरू छन्।
त्यसैगरी चैनपुर परम्परागत नेवारी वास्तुकला, शिल्पकला, काठबाट बनेका ऐतिहासिक र परम्परागत घरहरू, कला र संस्कृतिको समेत धनी रहेको छ। ऐतिहासिक मठमन्दिर, चैनपुरको जात्रा र पर्वहरू, प्राकृतिक गुफा, पोखरी, झरना, ट्रेकिङ रुटहरू, सुन्तला खेतीका फाँटहरू, तातोपानीका कुण्डहरू, दृश्यावलोकन गर्न सकिने सुन्दर प्राकृतिक डाँडाहरू, सुन्दर र हरियाली प्राकृतिक खुला चौरहरू, लालीगुराँसका वनहरू यहीं छन्। यसले चैनपुरमा धार्मिक, सांस्कृतिक, प्राकृतिक र साहसिक सबै प्रकारको पर्यटनको प्रशस्त संभावना देखिन्छ। कोशी प्रदेशमा ठूला शहरहरू विराटनगर, इटहरी, धरान, दमक र यसको आसपासको शहरी क्षेत्रहरूमा १० लाखभन्दा बढी जनसंख्या बसोबास गर्दछन् र यी शहरका अधिकांश मध्यम वर्गसँग अहिले आफ्नै दुईपांग्रे र चारपांग्रे सवारी साधनहरू छन्। पर्यटकीय दृष्टिकोणले चैनपुर बाह्रै महिना घुम्न सकिने स्थान हो भने चैनपुरमा हिउँद र गर्मी दुवै यामलाई मिल्ने प्रकारका पर्यटकीय गन्तव्यहरू छन्।
चैनपुर बजारमा मध्यमस्तरका होटलहरू खुलिसकेका छन्, होटलहरूमा इन्टरनेट सहजै उपलब्ध छ भने चैनपुरबाट टाढा भए पनि गुफापोखरी आसपास समेत स्थानीयस्तरका होटलहरू सजिलैसँग पाउन सकिन्छ। कोशी प्रदेशका ठूला शहरहरूबाट आफ्नै सवारी साधनमा ४-५ घण्टाको यात्रामा पुग्न सकिने भएकोले पूर्वी तराईका शहरवासीहरूको लागि चैनपुर २-३ दिनको समय लिएर पारिवारिक बिदा मनाउन सकिने उत्कृष्ट पर्यटकीय गन्तव्य हुनसक्ने देखिन्छ। पूर्वका शहरवासीहरू तराईको कठोर गर्मी छल्न, केही दिन भए पनि शहरी कोलाहल र भीडभाडबाट मुक्त हुन अनि शहरी वातावरणमा हुर्कंदै गरेका आफ्ना स-साना नानीहरूलाई पहाडी भूगोल, वनस्पति, परम्परागत नेपाली गाउँघर/बस्तीहरू देखाउन र पूर्वी पहाडको कला संस्कृतिलाई नजिकबाट बुझाउन चैनपुरको भ्रमण प्याकेज बनाउन सक्छन्। सँगसँगै चैनपुरले घरका हजुरबुवा, हजुरआमाहरूलाई तीर्थाटनको अवसर दिन्छ भने युवाहरूलाई ट्रेकिङ र हाइकिङको समेत आनन्द पस्कन सक्दछ। यस हिसाबले हेर्दा चैनपुरले सबै वर्ग र उमेर समूहका पर्यटकहरूलाई आकर्षित गर्न सक्ने ल्याकत राख्दछ। बसन्तपुर कटेपछि कोशी राजमार्ग र मध्यपहाडी लोकमार्ग छुट्टिने स्थानभन्दा केही माथिको टुटे देउरालीबाट गुराँसको राजधानी भनेर ख्याति पाएको तीनजुरे मिल्के जलजले (टीएमजे) – पाँचपोखरी – मंगलबारे हुँदै करिब २९०० मिटरको उचाइमा अवस्थित पूर्वी नेपालकै प्रसिद्ध र मनमोहक गुफापोखरी पुग्न सकिन्छ। गुफापोखरीबाट पूर्वको कञ्चनजङ्घा लगायत अन्य हिमश्रृंखलाहरूको अद्भुत दृश्यावलोकन गर्न सकिने भएकोले युवाहरूको लागि यो एउटा अविस्मरणीय ट्रेकिङ रुट हुनसक्छ।
ग्राभेल सडकको विस्तार भइसकेकोले केटाकेटी र बुढापाकाहरू समेत गुफापोखरी सजिलैसँग पुग्न सक्दछन्। चैत–वैशाख महिनामा टीएमजे क्षेत्रमा ढकमक्क लालीगुराँस फुल्ने र पुस–माघमा गुफापोखरी क्षेत्रमा प्रशस्त हिउँ पर्ने भएकोले यो रुट गर्मी र हिउँद दुवै यामको लागि उपयुक्त छ। पहाडको डाँडीमा रेखाकार रूपमा विस्तार भएको चैनपुरको अवस्थिति पनि आफैंमा निकै मनमोहक छ। ढुंगा र काठबाट बनेका परम्परागत, ऐतिहासिक र चिटिक्क परेका स्थानीय घरहरू, नेवारी काष्ठकला, शिल्पकला र वास्तुकला, प्यागोडा शैलीमा निर्मित ऐतिहासिक मठ–मन्दिर, पुराना र साँघुरा गल्लीहरूले गर्दा चैनपुर आफैंमा एउटा खुल्ला संग्रहालय जस्तो लाग्छ भने पहिलो पटक पुग्नेलाई धुलिखेल, पनौती, साँगा या भक्तपुर पुगे जस्तै आभास पनि हुन्छ। चैनपुर बजारको जिरो प्वाइन्ट नजिकै रहेको गढीबाट चैनपुरको एक सजीव हवाई दृश्यले पनि मन त्यतिकै लोभ्याउँछ। मौसम सफा भएको अवस्थामा गढीबाट हिमाली श्रृंखलाहरूको समेत अवलोकन गर्न सकिन्छ। प्रसिद्ध सिद्धकाली मन्दिर चैनपुर बजारबाट करिब ४ किमि पूर्वपट्टि रहेको छ। आफ्नो मनोकामना पूरा गर्न र धार्मिक आस्था भएकाहरूको लागि यो एउटा महत्वपूर्ण तीर्थस्थल हुन सक्दछ। सिद्धकाली मन्दिरबाट केही पूर्वपट्टि पुरानो पोखरी बजार रहेको छ।
त्यसैगरी बानेश्वर मन्दिर, बानेश्वर डाँडा र खराङ बजार पनि चैनपुरबाट नजिकै रहेका छन्। चैनपुर बजार लगायत सिद्धकाली मन्दिर, पोखरी बजार, बानेश्वर मन्दिर, बानेश्वर डाँडा, खराङ बजार सबै स्थानहरूमा पक्की सडक पुगिसकेकाले केटाकेटी र बुढापाकाहरू आफ्नै या भाडाका सवारी साधनहरू लिएर पनि ती स्थानसम्म सजिलैसँग पुग्न सक्दछन्। चैनपुर जाँदा कोशी राजमार्गमा पर्ने पूर्वको सुन्दर शहर धरान, प्रसिद्ध पर्यटकीय स्थल भेडेटार, धनकुटा बजार, हिले, सिधुवा, वसन्तपुर, मुढे शनिश्चरे जस्ता पर्यटकीय स्थानहरू हेर्दै जान पाइने भएकोले यात्रा आफैंमा अविस्मरणीय हुन्छ। फर्कंदा तुम्लिङटार-लेगुवा-पाख्रिबास सडकहुँदै पुनः हिले बजारमा आउन सकिन्छ। यसरी अर्को रुटबाट फर्कंदा कोशी राजमार्गमा पर्ने बानेश्वर मन्दिर, बानेश्वर डाँडा, खराङ बजार, सभा त्रिवेणी (अरुण, बरुण र सभा खोलाको संगम) लगायत अरुण नदी किनारका सुन्दर फाँटहरू, डरलाग्दो अक्करेको भीर, लेगुवा बजार र धनकुटाको प्रसिद्ध पाख्रिबास कृषि अनुसन्धान केन्द्र समेत देख्न सकिने भएकोले हिले बजार आइपुग्दा एउटा रोमाञ्चक यात्राको सर्कल नै पूरा भएको आभास हुन्छ।
घुमाउरो सडक, हरियाली वनपाखाहरू, लेक, बेंसी, अरुणका सुन्दर फाँटहरू, क्याम्पिङका लागि उपयुक्त स्थलहरू आदिले गर्दा युवाहरूको लागि त यो एउटा उत्कृष्ट वाइकिङ रुट नै हुनसक्छ। स्थानीय सरकारले निजी क्षेत्रसँग मिलेर पर्यटन पूर्वाधारमा लगानी गर्न सक्दा र पूर्वका पर्यटन व्यवसायीहरूले पर्यटकहरूको लागि उत्कृष्ट भ्रमण प्याकेजहरू पस्किने हो भने पर्यटनबाट स्थानीयस्तरमा रोजगार सृजना हुन्छ। स्थानीय उत्पादनले बजार पाउँछ र समग्र चैनपुरको आर्थिक समृद्धि समेत हुने देखिन्छ। कृषिको लागि उपयुक्त मौसम र करिब १० हजार हेक्टर जति खेतीयोग्य जमीन भएकोले चैनपुरमा कृषि विकासको अर्को महत्वपूर्ण अग्रणी क्षेत्रको रूपमा रहेको छ। धान, मकै, कोदो, गहुँ जस्ता अन्नबालीसँगै अलैंची, अदुवा, कफी, उखु जस्ता नगदेबाली आलु, गोलभेंडा, बन्दा र काउली जस्ता तरकारी लगायत विभिन्न प्रकारका जडीबुटी र सुन्तला, आँप, लिची जस्ता फलफूलहरू प्रशस्त मात्रामा उत्पादन हुने गर्दछ। विगत केही वर्षदेखि रुद्राक्ष खेतीबाट पनि स्थानीय कृषकहरूले मनग्ये आम्दानी गरिरहेका छन्। त्यसैले चैनपुरमा उत्पादन हुने अलैंची, कफी, सुन्तला, उखु, बदाम, आँप, लिची, अनार, तरकारी, ड्रागन फ्रुट आदिको पकेट क्षेत्रहरूको विकास गरी व्यवसायीकरण गर्न सकेको खण्डमा स्थानीय कृषकहरूको आर्थिक उन्नतिको प्रशस्त संभावना रहेको छ।
कोशी राजमार्ग पुगेसँगै चैनपुरबाट दैनिक रूपमा बस, टाटा सुमो र बोलेरो जीपहरूले धरान, इटहरी, विराटनगर र दमक जस्ता शहरहरूसम्म यातायात सेवा संचालन गरेका छन्। अलैंची, रुद्राक्ष, कफी, सख्खर, करुवा, सुन्तला, अदुवा, अम्रिसो, खयर काठ, असला माछा, खसी र कुराउनी जस्ता स्थानीय कृषि उत्पादनले विस्तारै बाहिरी बजार पाउन थालेको छ भने गाउँमा क्रमशः विकासको क्रम सुरु भएको छ। तर विकास र समृद्धि गाउँ पसेसँगै चैनपुरमा नयाँ–नयाँ चुनौती पनि देखा परिरहेको छ। स्थानीय युवाहरू त्यही टाटा सुमो र बोलेरो चढेर दिनप्रतिदिन रोजगारी र अन्य अवसरको खोजीमा तराईका ठूला शहरहरू, राजधानी काठमाडौं र विदेश जान तँछाडमछाड गरिरहेका छन। बसाइँसराइको यो विकराल समस्याले चैनपुरको जनसंख्या क्रमशः घट्दै गइरहेको छ। हालसालै प्रकाशित २०७८ को जनगणना अनुसार चैनपुरको जनसंख्या २६७९९ पुगेको देखिन्छ तर २०६८ साल र २०७८ सालको जनगणनाको तथ्याङ्कलाई तुलना गरेर हेर्दा विगत दश वर्षमा चैनपुर नगरपालिकाको जनसंख्या भने ७१० (-१.१२%) ले घटेको देखिन्छ। नगरपालिकाको विगत पाँच वर्षको तथ्याङ्क हेर्दा ७८० जना व्यक्तिहरू अन्यत्रबाट बसाइँ सरी आएको देखिन्छ भने २१९१ व्यक्तिहरू चैनपुरबाट अन्यत्र बसाइँ सरी गएको देखिन्छ जसले पनि नगरपालिकाको जनसंख्या क्रमशः घट्दै गइरहेको थप पुष्टि गर्दछ। कृषिको प्रशस्त सम्भावना भएतापनि समयमा मल, बीउ र उत्पादनले बजार नपाउने राष्ट्रिय समस्याबाट चैनपुरका कृषकहरू पनि पीडित छन्। नगरपालिका गठन भएको लगभग १० वर्ष भइसकेको र निर्वाचित जनप्रतिनिधिहरूको समेत दोस्रो कार्यकालको दोस्रो वर्ष भइसक्दा समेत वडा कार्यालयहरूको आफ्नै भवन बन्न नसक्नु अर्को विडम्बना छ। कोशी राजमार्गको पहुँच पुगेसँगै चैनपुरमा फेरि चहलपहल बढ्न थालेको छ, भौतिक पूर्वाधारले केही गति लिएको छ, वडा केन्द्र र भित्री बस्तीहरूसम्म डोजरहरू धमाधम सडकहरू खनिरहेका छन्। तर भिरालो भूस्वरूप र कमेरो माटो भएको चैनपुरमा यसले पहिरो र भूक्षयको जोखिमलाई अझ बढाउने हो कि भन्ने चिन्ताले चैनपुरवासीलाई त्यतिकै सताइरहेको पनि छ। हेवा खोलामा आएको हालैको बाढीबाट ठूलो मात्रामा जनधनको क्षतिले गर्दा नदी कटान, बाढी र डुबान अर्को डरलाग्दो विपद् र वातावरणीय समस्याको रूपमा देखा परेको छ। जसले गर्दा चैनपुरलाई जोखिममा रहेका घर र बस्तीहरूलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्नुपर्ने, बाढी र पहिरो नियन्त्रण गर्न तटबन्धहरू निर्माण गर्नुपर्ने थप चुनौती समेत बढेको छ। जंगली जनावरहरूको अतिक्रमण र आक्रमण चैनपुरको अर्को विकराल समस्या बनेर देखा परेको छ। जङ्गली जनावरहरूलाई जङ्गलमा पर्याप्त खाना र पानीको अभावले गर्दा बाँदर र दुम्सी लगायत अन्य जंगली जनावरहरूले बालीनाली खाइदिने, नष्ट गरिदिने र कहिलेकाहीं त मानिसहरूलाई आक्रमण समेत गर्छन्। यसबाट स्थानीयवासी र कृषकले ठूलो हैरानी र क्षति व्यहोर्नु परेको छ भने जीविकोपार्जन नै कठिन र जटिल हुन पुगेको छ। त्यसैले अन्नबालीको सट्टामा वन्यजन्तुले असर नगर्ने वा कम असर गर्ने वैकल्पिक बाली प्रणाली विकास गर्ने र बाली बीमामा किसानको पहुँच स्थापित गर्नु टड्कारो आवश्यकता छ। साभार अनलाइन खबर