पर्यटन प्रवर्द्धन गर्न भक्तपुरमा पोखरी पदयात्रा

August 24, 2023     Paryatan Yatra

भक्तपुर नगरपालिकाले पर्यटन प्रवद्र्धन गर्न पोखरी पदयात्रा आयोजना गरेको छ । ‘भक्तपुरको पोखरी चिनौं, सम्पदा संरक्षणमा अघि बढौं’ भन्ने नाराका साथ शनिबार सांस्कृतिक सम्पदा पदयात्रा आयोजना गरिएको नगरपालिकाले जनाएको छ । पदयात्रा अन्तर्गत १६ पोखरीको अवलोकन भएको छ ।

भक्तपुरको वडा नम्बर ९ स्थित लामगः पुखुबाट सुरु भएको सांस्कृतिक पदयात्रा नगाँचा, ग्वंग पुखु, क्वाठण्डौँ पुखु, तिनाछें, सलां गणेश पुखु, बसिकुलां नाग पुखु, दुगुमला, भोलाछें पुखु, अंचा पुखु, ब्यासी पुखु, ख्यो पुखु (धवाहिटी पुखु) कालदह पुखु, नः पुखु, तः पुखु (सिद्ध पोखरी) हुँदै न्हु पुखु (रानी पोखरी) मा पुगेर सकिएको थियो । पोखरी पदयात्रामा सांस्कृतिक गतिविधि र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ठाउँ–ठाउँमा सांस्कृतिक प्रदर्शनी, खाद्य स्टल तथा मौलिक उत्पादनहरूको प्रदर्शनी तथा बिक्री केन्द्रहरूसमेत राखिएको थियो । र्‍यालीमा भक्तपुरका जनप्रतिनिधि, कर्मचारी, विद्यालयका शिक्षक, स्वयंसेवक, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, खेलकुद समिति, बाजा समूह लगायत नगरबासीहरुको सहभागिता थियो ।

भक्तपुर नगरपालिकाका अनुसार नेपाली सेनाको कब्जामा रहेको रानीपोखरी भक्तपुर नगरपालिकाले जिर्णोद्धार गरेपछि रानीपोखरीले पनि पर्यटन आकर्षित गर्न थालेको छ । सिद्धिपोखरी, कमलपोखरी सहित भक्तपुरमा १ नम्बर वडा देखि १० नम्बर सबै वडामा पोखरीहरु छन् । नगरभित्र भएको पोखरीको महत्व बुझेर नै नगरपालिकाले पर्यटन प्रवर्द्धनका कार्यक्रम अगाडि बढाएको नगर प्रमुख सुनिल प्रजापतिले बताए । भक्तपुरका पोखरीहरुबारे जानकारी दिएर पोखरी देखाएरै आन्तरिक तथा बाह्य पर्यटकलाई तान्ने योजना भक्तपुर नगरपालिकाले थालेको उनको भनाइ छ । प्रजापतिले भक्तपुर पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुँदै जाने क्रममा धेरै चुनौतीहरु पनि थपिएको र ती चुनौतीहरुलाई अवसरको रुपमा प्रयोग गर्न सके धेरै उपलब्धि हासिल हुने बताए ।भक्तपुरका सम्पदा अवलोकन गर्न संसारका सबै पर्यटकहरु भक्तपुर घुम्न आउने गरेको बताउँदै सांसद प्रेम सुवाल मानव निर्मित सम्पदाहरु नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्ने धारणा राखे ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.