सुदूर पूर्वको जिल्ला इलाम भन्नासाथ सबको मनमा नेपालकै उत्कृष्ट पर्यटकीयस्थलमध्ये एक भन्ने चित्र आउँछ । उन्नत कृषि कर्मबाट सुधारिएको जीवनशैलीले पनि यो जिल्ला प्रसिद्ध छ । इलाममा पर्यटकीय क्षेत्रको कुरा गर्दा माइजोगमाई अग्रपङ्क्तिमा आउँछ । जिल्लाका आकर्षक पर्यटकीय स्थल यहीँ समेटिएका छन् । समग्रमा प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, जैविक विविधता, मिश्रित जातजातिको बसोबास स्थलका रूपमा परिचित जिल्लाकै महत्त्वपूर्ण पालिका माइजोगमाई गाउँपालिका हो भन्दा फरक पर्दैन ।
मुलुक सङ्घीय प्रणालीमा गएपछि स्थानीय तहको सीमाङ्कन गर्दा पहिलेका गाउँ विकास समितिहरू नयाँ बजार, प्याङ, नामसालिङ, जोगमाई र सोयाङलाई गाभेर माइजोगमाई गाउँपालिका बनाइएको हो ।
प्राकृतिक सौन्दर्य, जातीय विविधता र सांस्कृतिक विशिष्टता माइजोमाईका विशेषता हुन् । इलामको पूर्वी भागमा मात्र बसोबास गर्ने अल्पसङ्ख्यक लेप्चा, ह्योल्मो, पहरी र थामी जातिहरूको यस गाउँपालिकामा बसोबास छ । विविध जाति, कला एवं संस्कृतिको अनुपम क्षेत्र माइजोगमाईमा राई, लिम्बु, गुरुङ, मगर, शेर्पा, छेत्री, बाहुन लगायतका जातजातिको मिश्रित बसोबास छ ।
गाउँपालिकाको उत्तरी क्षेत्रमा जौबारी, फाटक, तुम्लिङ, मेघमा, आहालेभञ्ज्याङ, थुम्के रानी, नयाँ बजार प्राकृतिक सौन्दर्यले सिँगारिएका छन् । उत्तरे पोखरी, मलु पोखरी, साङ्गछोलिङ गुम्बा, महादेवस्थान, माई बेनी क्षेत्र, सात तले झरना जस्ता गहनाहरूले माइजोगमाईलाई सजाएका छन् ।
ऐतिहासिक एवं पर्यटकीय महत्त्वको रूपमा रहेको समाजसेवी सन्त बाला गुरुको कर्मभूमि नयाँ बजार, प्रसिद्ध धार्मिक आस्थाको केन्द्र माई बेनी धाम, नयाँ बजारको बौद्ध गुम्बा लगायत थुप्रै ऐतिहासिक क्षेत्रहरूले पर्यटकहरूको मात्र मन लोभ्याउने होइन अध्ययन अनुसन्धान गर्नेदेखि अध्यात्मवादीहरूलाई समेत जोडिरहेका छन् ।
छिनमै घमाइलो हुने अनि छिनमै भुइँकुहिरोले छोप्ने अनि फेरि झरीमा मग्न रहने यहाँका अधिकांश पर्यटकीय स्थलहरूले आकर्षण थपेका छन् । करिब २० हजार जनसङ्ख्या रहेको यो गाउँपालिका पछिल्लो समय स्थानीय जन निर्वाचित प्रतिनिधिहरू आएसँगै समग्र विकासमा अघि बढिरहेको छ ।
स्थानीय कृषि उत्पादनमा जोड, शिक्षा र स्वास्थ्य जस्ता अनिवार्य आवश्यकता पूर्तिका साथै सडक, खानेपानी र मानवीय विकासमा पनि जोड दिइँदै आएको छ । पर्यटन पूर्वाधार विस्तार गर्दै सौन्दर्य बढाउने कामलाई गाउँपालिकाले प्राथमिकतामा राख्दै आएको छ ।
सीमित स्रोत साधन भए पनि पालिकाले प्रदेश र केन्द्रीय सरकारसँगको सहकार्यलाई अघि बढाउने प्रयत्न गरिरहेको छ । इलाम जिल्लाका १० पालिकामध्ये एक माइजोगमाई गाउँपालिका ४ सय ३२ मिटरदेखि ३ हजार ७० मिटरको उचाइसम्म फैलिएको छ ।
यो पालिका अलैँची, आलु, अम्लिसो, अदुवा, दूध, किवी फल र विभिन्न प्रकारका जडीबुटी उत्पादनका लागि प्रख्यात छ । विभिन्न प्रजातिका चरा, विभिन्न किसिमका पुतली र रेड पाण्डा ९हाब्रे० को वासस्थानले यो पालिकाको महत्त्व झनै बढाएको छ ।
कसरी पुग्ने ?
पूर्वपश्चिम राजमार्गमा पर्ने झापाको चारआलीबाट उकालिएपछि इलामको जोर कलश, कन्याम हुँदै फिक्कल आइपुगिन्छ । चारआलीबाट फिक्कलसम्म मेची राजमार्गको कालोपत्रे सडकको यात्रा करिब डेढ घण्टाको हुन्छ । फिक्कलबाट नेपाल–भारत सीमा क्षेत्र पशुपतिनगर जोड्ने सडकतर्फ मोडिनुपर्छ । फिक्कल–पशुपतिनगर खण्डको एक किलोमिटर सडक पार गरेपछि पुगिन्छ सूर्योदय नगरपालिका–९ स्थित बरबोटे क्षेत्र ।
बरबोटेबाट माइजोगमाई गाउँपालिकाको यात्राका लागि उत्तरतर्फ मोडिनुपर्छ । बरबोटेबाट १९ किलोमिटर यात्रा गरेपछि माइजोगमाईको केन्द्र नयाँ बजार आइपुगिन्छ । यो सडक पनि कालोपत्रे भइसकेको छ । बिहान ८ बजे नयाँ बजारबाट झापाको बिर्तामोडसम्मका लागि सार्वजनिक यातायातका साधन पाइन्छ । दिउँसो २ बजे बिर्तामोडबाट नयाँ बजारका लागि सार्वजनिक यातायातका साधन पाइन्छ ।
अन्य समयमा भने बिर्तामोड, चारआली र फिक्कल जहाँबाट पनि भाडामा साना सवारी साधन पाइन्छन् । हवाई मार्ग प्रयोग गर्ने हो भने काठमाडौबाट झापाको चन्द्रगढी विमानस्थलसम्म आउन सकिन्छ । त्यहाँबाट सिधै नयाँ बजार पुगेर विभिन्न पर्यटकीय स्थलहरूमा जान सकिन्छ । नयाँ बजार क्षेत्रमा २० वटाभन्दा बढी होटल छन् । यहाँ एक रातमा १ सय जनाभन्दा बढी पर्यटक सहज रूपमा होटलमा बास बस्न सक्छन् ।