इलाम । माइजोगमाई गाउँपालिकाको शिरमा रहेको मेघमाबाट निकै टाढासम्मका मनमोहक दृश्य देख्न पाइन्छ । नयाँ बजारबाट करिब १७ किलोमिटर उत्तरमा रहेको यो क्षेत्र पर्यटकहरूको अत्यधिक रोजाइमा पर्दछ ।
टङ्लुबाट डेढ किलोमिटर यात्रामा पुगिने पर्यटकीय क्षेत्र हो मेघमा । २ हजार ६ सय मिटरको उचाइमा रहेको मेघमा क्षेत्रमा विश्वभरमा धेरै मूर्ति भएको बौद्ध धर्ममा आस्था राख्ने एक मात्र ऐतिहासिक गुम्बा छ । भारतपट्टि सिंहलीला नेशनल पार्क क्षेत्र रहेको नेपाली बस्ती मेघमा धार्मिक हिसाबले लोकप्रियता कमाएको ठाउँ हो ।
मेघमा घुम्न आउने पर्यटकलाई बौद्ध विहारले स्वागत गर्छ । यहाँको अलौकिक मौसमले छिनछिनमा विहारलाई लुकाउँदै प्रकट गराउँदा पर्यटकको मन फुरुङ्ग बनाउँछ ।
लेकाली बस्ती भएकाले मेघमा क्षेत्रमा वर्षामा झरी कुहिरो र हिउँदमा हिउँले ढपक्क ढाक्छ । मौसमको यो विविधताले पर्यटक तान्न योगदान गरेको छ । मेघमामा भारतको दार्जिलिङ र नेपालतर्फ इलामको फिक्कल नयाँ बजार हुँदै हजारौँ पर्यटक पुग्ने गरेका छन् । यहाँ बस्नका लागि होटल तथा होमस्टे छन् । मेघमा नजिकै भारतीय सीमा सुरक्षा बलको गुल्म बसेको छ । यहाँ पुग्नका लागि भाडाका सवारी साधन लिनु पर्ने हुन्छ ।
मेघमा गुम्बा
माइजोगमाई–२ मेघमामा रहेको गुम्बा यहाँको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल हो । नेपाल–भारत सीमा भएर पदयात्रामा निस्कने, बौद्ध धर्मावलम्बी र खोज अनुसन्धानकर्ताका लागि पनि यो गुम्बा उत्तिकै महत्त्वपूर्ण छ । सात दशक पुरानो साङछेन ङग्युर होसाल देक्षेन छोलिङ गुम्बामा रहेको बुद्धको मूर्ति विश्वकै दुर्लभ मानिन्छ ।
गुम्बामा १ सय ८ वटा मूर्तिमा मानव जीवनका भिन्नभिन्न क्रियाकलाप, यौन क्रीडा झल्कने दृश्यलगायतको कलात्मक प्रस्तुति देख्न सकिन्छ । जस कारण केटाकेटीले यहाँका मूर्ति हेर्न हुँदैन भन्ने भनाइ छ । यी मूर्तिहरू शान्ति र क्रान्तिका प्रतीक हुन् ।
गुम्बामा बुद्ध पूर्णिमाका दिन धूमधामका साथ पूजाआजा गरिन्छ । अन्य बौद्ध पर्वमा पनि भक्तजनको भीड लाग्ने यस गुम्बामा पश्चिमा र भारतीय पर्यटक दर्शनका लागि आउने गरेका छन् । यस्तै मूर्ति तिब्बतको पटाला र जापानमा रहे तापनि पछि दुवै नष्ट भएकाले विश्वमै एउटा मात्र यस्तो प्रकृतिको मूर्ति रहेको स्थानीयको भनाइ छ ।
इलाम सदरमुकामबाट ४० किलोमिटर उत्तर पूर्वमा पर्ने मेघमा पूर्वी नाका पशुपतिनगर हुँदै सीमावर्ती मानेभन्ज्याङबाट करिब १० किलोमिटरको यात्रामा पुग्न सकिन्छ । त्यस्तै, फिक्कलबाट नयाँ बजार हुँदै जौबारीको बाटो भएर पनि मेघमा पुग्न सकिन्छ । यस क्षेत्र कञ्चनजङ्घा, कुम्भकर्णलगायत हिमशृङ्खलाको दृश्यावलोकनसँगै जैविक र प्राकृतिक सौन्दर्यका हिसाबले पनि अब्बल मानिन्छ ।