इलाम जिल्लाको माइजोगमाइ गाउँपालिकाको केन्द्र नयाँ बजारबाट ५ सय मिटरको यात्रापछि पुगिन्छ उत्तरे पोखरी । घना जङ्गलको बिचमा रहेको उत्तरे पोखरी प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यो पोखरी प्राकृतिक रूपमा जति सुन्दर छ‚ त्यतिकै धार्मिक हिसाबले पनि प्रख्यात छ ।
बाला चर्तुदशीको दिन यो पोखरीमा सतबिउ छर्ने भक्तजनको भीड लाग्छ । पोखरी वरिपरि यात्राका लागि पदमार्ग निर्माण गरिएसँगै आन्तरिक पर्यटक आवागमन बढ्दै गएको छ । जसका कारण उत्तरे पोखरीको पर्यटकीय महत्त्व झनै बढेको हो । यो पोखरी जङ्गलको बिचमा छ तर पोखरीमा रुखका पात भने देख्न पाइँदैन । पोखरीमा कुनै पनि पात खस्यो भने चराले टिपेर बाहिर लान्छन् भन्ने विश्वास गरिन्छ ।
पोखरी वरिपरिको जङ्गलमा लोपोन्मुख वन्यजन्तु रेडपाण्डा र चराचुरुङ्गीको वासस्थानले गर्दा चरा विज्ञसँगै वन्यजन्तु विज्ञको अनुसन्धानको केन्द्र समेत बनेको छ । नयाँ बजारबाट १५ मिनेट पैदल यात्रा गरेपछि उत्तरे पोखरी पुगिन्छ । माइजोगमाई पुग्दा पोखरीको दृश्यावलोकन नगरी यात्रा पूर्ण हुँदैन । पोखरीमा जाँदा हल्का खालका खानेकुरा र पानी बोकेर जाँदा रमाइलो हुन्छ ।