ऐतिहासिक राधाकृष्ण रथ यात्राको तयारी पुरा

August 22, 2024     Paryatan Yatra

विराटनगर ।  विराटनगरको धार्मिक पर्यटनसँग जोडिएको सबैभन्दा महत्त्वपूर्ण पर्व हो– राधाकृष्ण रथयात्रा । यसको ऐतिहासिकता र धार्मिक महत्त्व धेरै छ । विराटनगर महानगरपालिका वडा नम्बर १, २ र ३ को संगमस्थल पोखरियाको पानीट्यांकीमा रहेको राधाकृष्ण मन्दिरबाट रथयात्रा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने गरिएको छ ।तस्विरः विगतका बर्षमा निस्केको रथ यात्रा ।

यस वर्षको रथ यात्रा भाद्र ११ गते मङ्गलवार निस्कदैछ । त्यसका लागि सबै खाले तयारी पुरा भएको मन्दिर व्यवस्थापन समितिका सचिव कृष्ण कार्कीले बताउनु भयो । यस पटक रथ यात्रा दिनको ३ बजे मन्दिर वाट निस्कने छ । रथले ४३ स्थानमा विश्राम लिने छ । रथ विराटनगरको बिच बजार हुँदै रोडशेस चोक वाट महेन्द्र चोक हुँदै कोसी राजमार्ग वाट वरगाछी हुँदै पूर्व तर्फ पानीट्यांकी हुँदै मन्दिर पुग्न करिब ५ घण्टा लाग्ने अनुमान गरिएको छ । रथ यात्राको उद्घाटन कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्नु हुने छ । यात्रा ५ लाख भन्दा बढी भक्तजनहरू सहभागी हुने आयोजकको दाबी छ ।

राधाकृष्ण मन्दिर वि. सं. १९८८ मा स्थापना भएको हो । रथयात्राका बेला यहाँ विशेष धार्मिक अनुष्ठान गरिन्छ । यसबाहेक अरू बेला पनि धार्मिक महोत्सवहरू आयोजना हुने गरेको छ ।

जनै पूर्णिमा, झुलन पर्व, श्रीकृष्ण जन्माष्टमी, ऐतिहासिक रथयात्रा, चर्तुमास पुराण, राधा अष्टमी, वामन जयन्ती, महाशिवरात्रिलाई महोत्सवका रूपमा मनाइन्छ ।

मन्दिर स्थापना भएकै वर्षबाट भगवान् श्री राधाकृष्ण आरूढ ‘खट’ यात्राबाट रथयात्रा प्रारम्भ भएको हो । २०२५ सालमा विशाल रथको निर्माण गरी रथयात्रा महोत्सवका रूपमा मनाउन थालिएको हो । रथयात्रामा नेपाल र भारतका लाखौँ भक्तजन सहभागी हुने गरेका छन् ।

कृष्ण जन्माष्टमीको भोलिपल्ट राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजेपछि निस्कने रथयात्रा यहाँको मुख्य आकर्षण हुने गरेको छ । मन्दिर वाट निस्केको रथले तिन पैनी, गोल्छा मोड, जलजला मोड, ट्राफिक चोक, महेन्द्र चोक, धरान रोड, बरगाछी हुँदै ७ किलोमिटर दुरी पार गरेपछि मन्दिरमा पुगेर विसर्जन हुन्छ । यात्राको क्रममा श्रद्धालुहरूको सजिलोका लागि बिचका दर्जनौँ स्थानमा पूजा गर्न केही बेर रोक्ने चलन छ ।

प्या गोडा शैलीमा बनाइएको रथको लम्बाई २२ फिट, चौडाइ १४ फिट र उचाइ १८ फिट छ । रथको अग्र भाग जुवाबाट ७५ फिट लम्बाइका दायाँ र बायाँ लट्ठा (डोरी) राखिन्छ । यो डोरी समाएर रथ तान्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ । रथको अघिपछि विभिन्न जातजाति, सम्प्रदाय, धर्म र संस्कृति झल्कने झाँकी र भजन मण्डलीहरूको ताँती हुन्छ ।

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.