सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नम्बर ७ मा रहेको प्रेम ताल (पन्चायन सिमसार) क्षेत्र अति नै रमणीय छ । पहिला प्रेम ताल भनेर चिनिने यो सिमसार क्षेत्रको नाम अहिले पन्चायन सिमसार क्षेत्रका रूपमा परिचित छ ।
स्थानीय मानिसहरू प्रेम गर्ने बस्ने वा भेटघाट गर्ने स्थानको रूपमा परिचित यो तालको नाम नै प्रेम ताल बन्न गएको हो ।
यहाँ जानका लागि इटहरी बजारको उत्तर तर्फ रहेको तरहरा बजार वाट पश्चिम तर्फ जाने सडक समायो भने पुग्न सकिन्छ । यहाँ जानका अर्को सडक हो राम धुनी नपाको प्रमुख व्यापारिक केन्द्र झुम्का बजार । झुम्का वाट प्रेम ताल जाने हो भने पूर्व–पश्चिम राजमार्गमा पर्ने कान्छी चोक वाट उत्तर बक्लौरी हुँदै उत्तर तर्फको कालोपत्रे सडक पिपल चोक हुँदै करिब ६ किलोमिटर दुरी पार गरेपछि पन्चायन सिमसार पुग्न सकिन्छ ।
यो पर्यटकीय स्थलमा आउने अर्को छोटो बाटो हो धरान बजार । धरान बजारको दक्षिणमा रहेको हरियाली सामुदायिक बनको बिचमा रहेको सडक वाट सालका रुख सँग लुकामारी खेल्दै आउने हो भने प्रेम ताल पुगेको पत्तै हुदैन् । यहाँ जानका लागि सबै स्थान वाट निजी तथा भाडाका सवारी साधन नै प्रयोग गर्नु पर्छ । यो सिमसार क्षेत्र वनभोजका लागि निकै प्रख्यात छ । यहाँ शौचालय देखि वनभोज स्थलमा पानी र बत्तीको समेत व्यवस्था छ । यहाँ वनभोज जानु भयो भने कुनै शुल्क लाग्दैन । खाजा नास्ता खानका लागि होटलहरु नजिकै छन् । २५ हेक्टरमा ताल निमार्ण भएको छ भने बोटिङ्ग गर्न समेत पाइन्छ ।
घना जङ्गलको दक्षिण तर्फ रहेको तालमा हाँसको वोटमा डुबुल्की मार्न जति मज्जा आउँछ त्यो भन्दा बढी मज्जा तालको पश्चिम तर्फ रहेको सेल्फी जोन क्षेत्रका सेल्फी सँगै मुस्कुराउन आउने गर्छ । यहाँ सेल्फी गेट नै बनाएर फोटो खिच्नका लागि बन भित्र सडक बनाएको छ । यो तालमा पुग्ने जो कोहीलेपनि सेल्फी खिच्न छुटाउँदैनन् ।