झापा–गाडी वाट बाहिर निस्केर हेर्दा आँखा अगाडी एउटा विशाल टावर देखिन्छ । टावर हेर्दा आफू कुनै युरोपको सहरमा पुगे छु कि भन्ने भान पर्छ । सुनसान मानव बस्ती रहित ठाउँमा सगरमाथा जस्तै अग्लो गगन चुम्बी महल देख्ने जो कोहीमा पनि धेरै प्रश्नहरू उठेन सक्छन् । टावर यतिका लगानी गरेर कस्का लागि र कि बनाएको ? उत्तर सहज छैन तर टावर अटल उभिई रहेको छ । गगन चुम्बी टावर आज कुनै सहरमा वनेको भए कति चहल पहल हुने थियो होला मनले मनै सँग कुरा गर्छ । यो विशाल टावर अन्यत्र कहीँ नभई कोसी प्रदेशको झापा जिल्लाको दमक नगरपालिकामा रहेको छ ।
पूर्वपश्चिम राजमार्गमा पर्ने दमकको मुख्य चोकबाट उत्तरपूवतर्फ झन्डै ६ किलोमिटर यात्रा गरेपछि पुगिन्छ १८ तले भ्यु टावर । वारि परी धान खेत । सुनसान स्थानमा सगरमाथा जस्तै अग्लो चुचुरो देख्ने जो कोही पनि एक छिन अक्क न बक्क पर्छ । १८ तले ‘भ्यु टावर’ बन्यो तर चहलपहल शून्य छ । यो टावरको उचाइ १०० मिटर हो । जब कि काठमाण्डौंको धरहराभन्दा ९० मिटरको मात्र छ ।
२०७६ असारमा निर्माण सुरु भएको टावरको लागत झन्डै १ अर्ब ७० करोड रुपैयाँ छ । टावरको औपचारिक उद्घाटन भएको छैन । यसको सञ्चालन र व्यवस्थापनको जिम्मा कसलाई दिने भन्ने सहरी विकास मन्त्रालयले अझै टुङ्गो लगाएको छैन । नेकपा एमालेका अध्यक्ष केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा २०७२ सालमा यो भ्यु टावर बनाउने घोषणा गर्नु भएको थियो । ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा २०७६ असार २७ गते टावरको शिलान्यास भएको थियो । चिनियाँ कम्पनी जेडसीजीआईआईसी र आशिष् ओम साइराम जेभीले टावर निर्माणको ठेक्का पाएको थियो । पाँच बिघा क्षेत्रफलमा फैलिएको टावर परिसरमा ‘बिजनेस कम्प्लेक्स, बैङ्क, वित्तीय अड्डाहरू, मनोरञ्जन स्थल, रेस्टुरेन्ट, कृषि तथा औद्योगिक सामग्री बिक्री केन्द्र, सुविधायुक्त लिफ्ट र दृश्यावलोकन स्थलहरू राखिने योजना छ ।
टावर सञ्चालन निकै खर्चिलो हुने निश्चित छ । राज्यको महँगो लगानी भइरहँदा यसको प्रतिफलमा संशय नै छ । तत्काल टावर सञ्चालन कार्यविधि बनाएर सुरक्षाको प्रबन्ध गरी सञ्चालनमा ल्याउन सके पर्यटकहरूको चहलपहल बढ्न सक्ने थियो ।
दमक बजारबाट पैदल एक घण्टा दूरीमा रहेको भ्यु टावर रहेको क्षेत्र ग्रामीण भेग हो । अरू विदेशी मुलुकको उदाहरणअनुसार टावरबाट हेर्ने भनेको सहर हो, विकास र समृद्धिको रमिता हेर्ने हो । तर हाम्रो टावरको संरचना भने सहर र विकास हेर्ने भन्दा पनि एकलास भूगोलमा छ । यसलाई के–कसरी उपयोग गर्ने भन्ने मोडिलाटी बनाउन निकै कठिन देखिन्छ । टावर निर्माणमा अहिलेसम्म १ अर्ब ६७ करोड खर्च भइसकेको छ, फिनिसिङको थप खर्च आउनै बाँकी छ ।