डेविड घिमिरे
हिले । पर्यटकीय गन्तव्यका रूपमा चिनिने कोसी प्रदेशको सुन्दर जिल्ला धनकुटाका धेरै धार्मिक पर्यटकीय स्थल मध्ये पुग्ने पर्ने स्थान हो हिले बजार नजिकै रहेको श्री वक्र कुण्ड पञ्चेश्वर महादेव मन्दिर । हिले बजारबाट हिँडेर १० मिनेटमा नै पुगिन्छ भने सवारीसाधनमा ५ मिनेटमा नै यस मन्दिर पुग्न सकिन्छ । मन्दिरमा नाग देवताको बास रहेको विश्वासमा भक्तजनहरू पूजाआजाका लागि आउने गर्दछन् । अन्य मन्दिरहरूमा देवी देउताको बढी मात्रामा पूजा गरिन्छ भने यो मन्दिरमा नाग पूजाका क्रममा सर्प, बिच्छी खजुर आदि अन्य विषालु जीवको पनि पूजा गरिन्छ । चट्याङले घरमा कुनै प्रकारका हानि नोक्सानी नपुर्याओस् भन्न बज्रवाहकहरूको पूजा गर्ने चलन छ । यो क्षेत्रमा चट्याङले बढी दुख दिने गर्छ । यो मन्दिरमा पूजा–आराधनाका लागि धनकुटाका विभिन्न क्षेत्रसहित तेह्रथुम, भोजपुर, सङ्खुवासभालगायतका स्थानबाट समेत भक्तजन तथा पर्यटन आउने गर्दछन् ।मन्दिरमा सात मुख भएको नागको करिब दश फुट अग्लो मूर्ति स्थापना गरिएको छ । खोटाङको हलेसी मन्दिरमा रहेको जस्तै धर्मद्रार पनि यहीँ रहेको छ । हरेक वर्ष नाग पञ्चमीको दिन मेला लाग्ने गर्दछ ।
मन्दिर परिसर वाट धनकुटा बजार, हिले बजार उत्तर पानी, पाख्रीवास, विभिन्न फाट, हिमश्रृखला, चिया बगान लगायतको दृश्य आँखै अगाडिको देख्न सकिन्छ ।
छिनछिनमा नै घाम लाग्ने छिनैमा पानी पर्ने यो स्थान अधिक समय कुहिरो भित्र लुकी रहेको हुन्छ । कुहिरो सँग लुकामारी खेल्दै प्रकृति सँग रमाउने पर्यटकहरूलाई यो मन्दिरले धार्मिक विश्वास समेत दिलाउँछ । मन्दिरमा आएर आफ्नो मनोकामना राख्दा मनोकामना पूरा हुने विश्वास छ ।