भव्य समारोह बिच सुरु भयो कोसी कृषि एक्स्पो

September 12, 2024     Paryatan Yatra

विराटनगर । निकै तामझामका साथ आज वाट मोरङको कटहरीमा कृषि एक्स्पो सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ कोसी प्रदेशको आयोजनामा मोरङको कटहरीमा कृषि एक्स्पोको औपचारिक रूपमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्कमत कुमार कार्की र सङ्घीय सरकारका कृषि तथा पशुपक्षी विकास मन्त्री मन्त्री रामनाथ अधिकारीले संयुक्त रूपमा उद्घाटन गर्नु भयो । 

आइतबारसम्म चल्ने कृषि एक्स्पोमा नेपाल र भारतका गरी १ सय ३० वटा स्टल रहेका छन् । जुम्लाको मार्सी चामलदेखि विभिन्न प्रकारको दाल र स्याउ, झापाको गाउँले अचार र नमुना अचार, पाँचथरको काँक्रा र किवीको जुस लगायतका कृषि सामग्री बिक्री भइरहेका छन् ।

नेपाल र भारतका १५ जना कृषि विज्ञहरू कृषि एक्स्पोमा सहभागिता जनाएका छन् । र उनीहरू कृषि उत्पादनका बारेमा किसानसँग संवाद र छलफल गर्नेछन् । नेपाल उद्योग वाणिज्य कोसीले हरेक वर्ष कृषि एक्स्पोलाई निरन्तरता दिने घोषणा जनाएको छ ।

मुख्यमन्त्री कार्कीले किसान र निजी क्षेत्रलाई एक ठाउँमा ल्याई कृषि उत्पादन बढाउनका साथै यान्त्रीकरण गर्न एक्स्पो कोषेढुंगा सावित हुने बताउनु भयो । लगानीको सुनिश्चितता र कृषि आधुनिकीकरणका लागि यस्ता अवसर सहयोगी हुने उहाँको भनाइ थियो । सङ्घीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषिको व्यावसायिकीकरण लागि रणनीतिक महत्वका साथ अघि बढ्नु पर्ने बताउनु भयो । सात वटै प्रदेश र सबै स्थानीय तहमा लगानी क्षेत्र पहिचान गरी बजेट पठाउने काम भएको उहाँको धनाइ थियो । दुग्धजन्य पदार्थको उत्पादन तथा बजारीकरणका निम्ति विविधीकरण गर्न आवश्यक रहेको उहाँले बताउनु भयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गर्दै किसान र उद्यमीलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसाथ एक्सपो आयोजना गरिएको बताउनु भयो । “कृषिको विकाससँगै आयातमुखी अवस्थालाई परिवर्तन गर्दै निर्यातजन्य कृषि उपजको उत्पादनमा टेवा दिनु हाम्रो उद्देश्य हो ।” राउतले किसान, उद्यमी, लगानीकर्तासहितको उपस्थिति रहेको एक्स्पो देशमै उदाहरणीय भएको बताउनु भयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले कृषिमा निजी क्षेत्रको प्रवेश र लगानी सुनिश्चितताको काम हुन सके नेपालले चाँडै यस क्षेत्रमा फड्को मार्ने बताउनु भयो । महासंघीकी उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठले भौगोलिक अवस्थिति र विविधतायुक्त हावापानीका कारण नेपालले कृषि क्षेत्रमा राम्रो प्रगति गर्न सक्ने बताउनु भयो ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.