भक्तजनको आकर्षण बक्रा जलदेवी मन्दिर

September 13, 2024     Paryatan Yatra

डेविड घिमिरे

पथरी।  मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ३ सुन्दरी चोक स्थित बक्रा जलदेवीको मन्दिर २०७८/०६/२१ गते स्थापना भएको हो। यस तीर्थस्थलको उद्घाटन पथरी शनिश्चरे नगरपालिकाका उपमेयर यमुना बिस्टबाट भएको मन्दिरका अध्यक्ष पुष्प बहादुर थापाले बताए।

यस मन्दिरको छेउमा बक्रा नदी बग्ने गर्दछ। बक्रा नदीको किनारमा स्थापना भएको यस मन्दिरमा टाढा टाढाबाट भक्तजन आउने गर्दछन्। मन्दिर परिसर बाट चुरे पर्वतको शृङ्खला निकै सुन्दर  देखिने गर्दछ । मन्दिर छेउको बक्रा नदीमा रहेको  झोलुङ्गे पुलले यस क्षेत्रमा पर्यटकहरूको मोह बढाउँदै आएको देखिन्छ। यस स्थानमा जानको लागि पथरी बजारबाट दक्षिणतर्फ ६ किलोमिटरको पिच बाटोको यात्रा गरेपछि पुग्न सकिन्छ। मन्दिरको निर्माणमा २० देखि २२ लाख खर्च आएको मन्दिरका अध्यक्षले बताए। स्थानीय तह वडा कार्यालयको सहयोग साथै स्थानीय वासीबाट उठाएको चन्दाले मन्दिरको निर्माण भएको जानकारी भयो। त्यसै गरी मन्दिरमा केही विकासका कामहरू सुरु हुन लागेको देखिन्छ ।

मन्दिरकै छेउमा अर्को शिव मन्दिर र नाग पोखरीको निर्माणको काम केही समयमै सुरु हुने अध्यक्षले बताए। यस मन्दिरको स्थापना पछि स्थानीयहरूमा खुसी आएको छ। मन्दिरकै कुरा गर्दा मन्दिरमा नाग देवताको बास रहेको विश्वासमा भक्तजनहरू पूजा आजाका लागि आउने गर्दछन्। विशेष गरी यस मन्दिरमा नाग देवता र बक्रा जलदेवीको पूजा गरिन्छ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.