सगरमाथा क्षेत्र सोलुखुम्बुको माथिल्लो भागमा पर्छ । खुम्बु भेगमा प्रशस्त पर्यटकीय होटेल र लज छन् । डिलक्स, टुरिस्ट र मध्यम खाले होटेल उपलब्ध छन् ।सन् १९८५ मा अमेरिकी राष्ट्रपति जिमी क्वार्टर काला पत्थर पदयात्रामा आउँदा बसेको खुम्बु लजको कोठा नं. १०५ डिलक्स यात्रुका लागि निकै प्रख्यात छ ।
क्वार्टर सुतेको कोठामा सुत्न पाउँदा पर्यटक दङ्ग पर्छन् । फोटो खिच्छन् र चर्चा–परिचर्चा गर्छन् । सगरमाथा क्षेत्रमा करिब पाँच सय साना–ठुला होटेल तथा लज छन्, जहाँ अनेक सुविधा उपलब्ध छ ।
काठमाडौँबाट आधा घण्टाको उडानबाट लुक्ला पुगेपछि सगरमाथा पदयात्रा सुरु गर्ने कि रामेछापको बाम्ती भण्डारसम्म वा सोलुखुम्बुको सदरमुकाम सल्लेरीसम्म गाडीमा गएर त्यहाँबाट थालनी गर्ने ? तीन विकल्प छन् ।
समय कम र यात्रा धेरै गर्ने हो भने लुक्ला को साहसिक र रोमाञ्चकारी हवाईजहाज उडानलाई छान्न सकिन्छ । नेपाल कस्तो छ भनेर बुझ्ने हो र समय पनि छ भने रामेछापको बाम्ती भण्डार वा सोलुखुम्बुको सल्लेरीको बाटो रोज्न सकिन्छ । सन् १९५३ मा तेन्जिङ र सर एडमन्ड हिलारी पनि जिरीको बाटो भएर सगरमाथा शिखर पुगेका थिए । हिलारी हिँडेको त्यो बाटो ऐतिहासिक मार्ग मानिन्छ ।
तल्लो सोलु भएर सगरमाथा पुगिने बाटो केही लामो छ । पर्यटनको स्वाद दोलखा, रामेछाप, ओखलढुङ्गा र सोलु भएर हिँड्ने यात्रुले पाउने छन् भने लुक्ला भएर जाने पर्यटकले त्यो स्वाद पाउँदैनन् । बाम्ती भण्डार पदयात्रा रोज्ने हो भने विभिन्न जनजीवन, संस्कृति, भाषा, वन्यजन्तु, लाली गुराँस, पदयात्राका रोमाञ्चकारी दृश्य देख्न, अनुभव गर्न र भोग्न पाउनुहुनेछ । अनुपम हिमाली र पहाडी दृश्य पदयात्राको मज्जा हो ।
सिधै लुक्ला जाने पदयात्रीको समय बचत हुन्छ । लामो दूरीको यात्रा हवाईजहाजबाट हुने भएकाले अहिले धेरै पदयात्रीको छनोटमा परेको छ । सगरमाथा क्षेत्रमा पुग्न पाउनु र त्यो पनि छिटो हुने भएकाले धेरैजसो पर्यटकको रोजाइमा काठमाडौँ लुक्ला हवाई यात्रा पर्न थालेको छ ।
लुक्ला उडान भरेर जाने पर्यटकले नाम्चे बजार पुगेपछि कता–कता जानेर के–के हेर्ने भनेर धेरैथरि गन्तव्य रोज्न सक्छन् । जानकारहरू हाइअल्टिच्युड पचाउन नाम्चे बजारमा दुई रात बस्ने सल्लाह दिन्छन् । नाम्चेमा दुई रात बसेपछि सगरमाथा आरोहीको गाउँ थामे, नाङपालासम्म पदयात्रा गर्ने र रेन्जोला पास गरेर गोक्यो तालतर्फ लाग्न सकिन्छ ।
मनोरम हिमतालले गोक्योमा पर्यटकलाई लोभ्याउँछन् । गोक्योमा एक रात बसेर गोक्योरी पनि चढ्न सकिन्छ । पाँच घण्टा हिँडेपछि ५ हजार ३ सय ६० मिटर उचाइको गोकारीमा पुगिन्छ । सगरमाथामा सूर्यास्तको किरण हेर्न जाने पर्यटकको गोकारीमा घुइँचो नै लाग्छ । जहाँबाट सगरमाथा, मकालु, ल्होत्से, नुप्से, आमादाब्लम, थामसेर्कु हिमशृङ्खलाहरू नाकै अगाडि देखिन्छन् । ५ हजार ५ सय मिटर उचाइको रेन्जोला पास पनि अर्को त्यत्तिकै मनोरम गन्तव्य हो ।
नाम्चेबाट सिधै सगरमाथा आधार शिविर ताक्ने पदयात्री बढी आउँछन् । नाम्चे बजारबाट ७ दिनको यात्रामा सगरमाथा आधार शिविर पुग्न सकिन्छ । लुक्ला बाट पदयात्रा गरेर सगरमाथा फेदीमा पुगेसपछिको मज्जा नै बेग्लै हुन्छ । बाटामा देखिने हिमाली वन्यजन्तु, हिमाली वनस्पति, जीवनशैली, ल्यान्डस्केप अनि नाकैमा देखिने हिमालले मन लोभ्याउँछन् । स्वर्गजस्तो ठाउँमा पदयात्रा गर्ने धोको बोकेर विश्वभरका मानिस सगरमाथा आउने गर्दछन् र त्यही भोगेर फेरि आउने वचनसाथ फर्कने पर्यटकहरू बताउँछन् ।
सगरमाथा जाँदाको अन्तिम मानव बस्ती हो, गोरे सेप । ५ हजार २ सय मिटरमा रहेको गोरे सेपमा होटेल–लजको सुविधा छ । सगरमाथामा पर्यटकले तारे होटेलको याद मेटाउने ती होटेलमा त्यस्तै सुविधा पनि उपलब्ध हुन्छ ।
गोरे सेपबाट ५ हजार ६ सय मिटर उचाइको काला पत्थरतिर लम्किने वा आधार शिविरतर्फ । आधार शिविरभन्दा काला पत्थर र सगरमाथाको सम्बन्ध आँगन र धुरीको जस्तो छ । आँगनबाट धुरीतर्फ हेरेझैँ सगरमाथालाई हेर्ने सबैको धोको काला पत्थरले पूरा गरिदिन्छ ।
काला पत्थरबाट देखिने हिमाली दृश्य, शब्दमा उल्लेख गर्नुभन्दा पनि भ्रमण गरेर अनुभव गर्दा वास्तविक रमाइलो हुन्छ । सगरमाथा आधार शिविरमा सबै पदयात्री र आरोहण दलले टेन्टमा बस्नुपर्छ ।
स्लिपसङ ब्याग र टेन्टको व्यवस्था गरेर मात्रै आधार शिविर जानु उत्तम हुन्छ । निश्चित गन्तव्यमा पुगेपछि पदयात्रा सकिएको अनुभव हुन्छ । अधिकांश पर्यटकहरू सगरमाथाको आधार शिविरमा बिताएका अविस्मरणीय क्षणलाई मनमा राखेर खुसी हुँदै घर फर्कन्छन् । तस्बिर सामाजिक सञ्जाल