दृश्यावलोकनका लागि जाउँ ट्याम्के डाँडा
September 20, 2024 Paryatan Yatra
कोशी प्रदेशमा यस्ता कतिपय अग्ला भूभाग छन्, जहाँबाट सूर्योदयको मनमोहन दृश्यावलोकन गर्न सकिन्छ । सूर्योदय मात्र होइन सूर्यास्त पनि उत्तिकै चित्ताकर्षक रूपमा देख्न सकिन्छ । यस्ता डाँडाबाट हिमाली क्षेत्र, पहाडी भूभाग र तराईका फाँट पनि एकसाथ अवलोकन गर्न सकिन्छ । त्यस्तै स्थानमध्येको एक हो– ट्याम्के डाँडा ।
भोजपुर जिल्लाको ट्याम्के मैयुङ गाउँपालिकामा अवस्थित ट्याम्के डाँडा प्राकृतिक सुन्दरताले भरिपूर्ण गन्तव्य हो । यो स्थानसँग छिमेकी खोटाङ जोडिन्छ । प्राकृतिक सुन्दरता अवलोकन गर्नका लागि यो स्थान अब्बल मानिन्छ ।
भोजपुरको साबिक गोगने, लेखर्क, खावा, नागी र खोटाङको खिदिमा, च्याँनडाँडा र रतन्छा गाविस बिचमा पर्ने ट्याम्के प्राकृतिक, धार्मिक, सांस्कृतिक र भौगोलिक रूपले विशिष्ट पहिचान र महत्त्व बोकेको ठाउँ हो ।
डाँडामा सिद्धेश्वर महादेव, महाकाल देवी लगायतका मन्दिर छन् । यहाँ हरेक वर्ष बालाचतुदर्शी र शिवरात्रिका दिन भव्य मेला लाग्ने गर्छ । मेलामा सत बीज छर्न धेरै धर्मावलम्बीहरू आउने गरेका छन् । मेलामा धामी–झाँक्रीहरूको रोचक प्रदर्शन पनि हुने गरेको छ । ट्याम्के डाँडाबाट मनोरम हिमशृङ्खला तथा तराईको समथर ठाउँ अवलोकन गर्न सकिन्छ । यहाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, मकालु, कञ्चनजङ्घा, गौरीशंकरलगायत दर्जनौँ हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।
मङ्सिरे पूर्णिमाका दिन चन्द्रोदय र सूर्यास्त एउटै समयमा यो ठाउँबाट देख्न सकिन्छ । यहाँबाट घाम झुल्केको दृश्यावलोकन अनुपन मानिन्छ । मौसम सफा भएका बेला भारतका सिक्किम, दार्जिलिङ, कालेम्पोङ, सिलिगुढी तथा भुटानलगायत स्थान देख्न सकिन्छ ।
यसै गरी इलाम, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बुलगायत जिल्लाका भूभाग देख्न सकिन्छ । चैत वैशाखमा फुल्ने विभिन्न प्रजातिका गुराँस अनि चाँपको दृश्य मनमोहक हुन्छ ।
ट्याम्के आसपासका जङ्गलमा दुम्सी, मृग, सालक, मुनाल, घोरलजस्ता दर्जनौँ पशु पन्छीहरूको वासस्थान रहेको छ । यस क्षेत्रको जङ्गलमा चिराइतो, मजिठो, ठुलो ओखती, पाखनभेद, नागबेली, वन करेला, मुसे करेला, सतुवा जराजस्ता जडीबुटी प्रशस्त पाइन्छ ।
कसरी पुग्ने ?
खोटाङ सदरमुकाम दिक्तेलदेखि ५० किलोमिटर पूर्व र भोजपुर सदरमुकामदेखि करिब ५५ किलोमिटर पश्चिममा ट्याम्के डाँडा पर्छ । दिक्तेलदेखि ट्याम्केसम्म करिब ५० किलोमिटर र भोजपुर सदरमुकामदेखि ट्याम्केसम्म करिब ५५ किलोमिटर कच्ची सडक निर्माण भएको छ । सडक निर्माणसँगै ट्याम्के डाँडा नजिकै चखेवा भन्ज्याङसम्म हिउँदको समय सवारी साधन पुग्न थालेका छन् ।
काठमाडौँबाट भोजपुर वा खोटाङका विमानस्थलमा जहाजबाट ओर्लिएर सडक यातायातको माध्यमबाट यो ठाउँमा पुग्न सकिन्छ । जहाजबाट झरेपछि पैदल यात्रा गरेर पनि यो ठाउँसम्म पुग्न सकिन्छ ।
सडक यातायातबाट इटहरी, धरान, धनकुटा, हिले, लेगुवाघाट, भोजपुर बजार हुँदै यो ठाउँसम्म पुग्न सकिन्छ । त्यस्तै उदयपुर, घुर्मी, दिक्तेल बजार हुँदै पनि यो ठाउँसम्म पुगेर आनन्द लिन सकिन्छ । तस्बिर सामाजिक सञ्जाल