एक पटक पुग्नै पर्ने सत्ययुगको छम्वुभीर

September 23, 2024     Paryatan Yatra

धनकुटा । धनकुटा जिल्लामा पर्ने महालक्ष्मी नगरपालिका वडा ३ मा पर्छ, छम्वुभीर । धर्मदेवी, चमेरे र लेगुवा झरना एउटै रुटमा वारिपारि केही दूरी वरपर छन् । अग्लो चट्टानी पहरा बिचबाट सदाबहार सङालो पानीको धारा झर्छ । सत्ययुगमा महादेव पत्नी सतीदेवीले आफ्ना बाबु दक्ष प्रजापतिले आयोजना गरेको यज्ञ कुण्डमा हाम फालेर देह त्याग गरेपछि पृथ्वी परिक्रममा बखत हजारौँ वर्षअघि यहाँ आइपुगेका महादेवले शौच गरेको भन्ने जनश्रुति छ । त्यो धारामा नुहाए पापबाट मुक्ति मिल्ने र सन्तान प्राप्त हुने आम विश्वास छ । लेगुवा झरनासँगै रहेको यो ठाउँमा पुग्न लेगुवा खोलामाथि झोलुङ्गे पुल निर्माणको काम अघि बढेको छ ।

कसरी पुग्ने महालक्ष्मी ?
सङ्घीय राजधानी काठमाडौँबाट विराटनगरसम्म हवाई यात्रा गरेपछि विराटनगरबाट धनकुटा हुँदै तेह्रथुम र सङ्खुवासभासम्म जाने यात्रुवाहक बसहरू सहज रूपमा विराटनगरमा पाइन्छन् ।
विराटनगरबाट करिब १०५ किलोमिटरको दूरी पार गरेपछि धनकुटा सदरमुकाम पुगिन्छ । हवाई यात्राबाहेक काठमाडौँबाट धनकुटाको हिले र तेह्रथुमका लागि रात्रि बस समेत चल्ने गर्छन् ।
सदरमुकाम धनकुटा बजारबाट १४ किलोमिटर उत्तर कोशी राजमार्गमा रहेको सानो त्रिसुले बजारदेखि  २२ किलोमिटरको दूरीमा महालक्ष्मी नगरको केन्द्र जितपुर बजार छ । यो मार्ग छथर जोरपाटी गाउँपालिकाभित्र पर्ने हात्तीखर्क पञ्चमी (पिङडाँडा र दुई पालिका सीमाको माङमाया खोला हुँदै अर्खौले कटेर जितपुर बजार पुगिन्छ ।
जितपुर बजार पुग्न धनकुटाको अर्को उत्तरी बजार सिधुवाबाट बेग्लै मार्ग पनि प्रयोग गर्न सकिन्छ । यो बजारबाट १४ किलोमिटरको दूरीमा रहेको जितपुर बजार पुग्न चौकी डाँडा, आहाले, नेता चोक, निगालेलगायत ग्रामीण बजार छिचोल्नु पर्छ । यी दुवै मार्गमा बाह्रै महिना पालिकाको केन्द्रसम्म यातायातका साधन सञ्चालन हुन्छन् ।

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.