ऐतिहासिक राजारानी पोखरी डुल्न जाने कि ?

September 24, 2024     Paryatan Yatra
मोरङ । मोरङ जिल्लाको लेटाङ नगरपालिका वडा नम्बर १ मा पर्ने राजारानी पोखरी यस क्षेत्रकै ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको पर्यटकीय स्थल हो । यो पोखरी  विराटनगरदेखि करिब ५० किलोमिटर उत्तर पूर्वमा पर्छ ।
पूर्वपश्चिम राजमार्गको यात्रा गर्दा इटहरी बजारबाट पूर्वतर्फ अघि बढेपछि मोरङको बेलबारी बजार आउँछ । बेलबारीमा रहेको इलाका प्रहरी कार्यालय अगाडिबाट उत्तरतर्फ जाने कालोपत्रे सडक हुँदै जाँदा नक्साल बारी, बुधबारे अनि लोखरा पुगिन्छ ।
त्यहाँसम्म कालोपत्रे सडक छ । करिब ११ किलोमिटरको यात्रा चुरेको फेदीमा पुगेर टुङ्गिन्छ । त्यसपछि ठाडो उकालो सुरु हुन्छ । फेदीबाट २ किलोमिटरको यात्रा तय गरेपछि सुन्दर र मनमोहक राजारानी पुगिन्छ । २ किलोमिटर सडक कच्ची छ । यहाँसम्म जानका लागि हिउँदको सयमा बेलबारीबाट राजारानी हुँदै उत्तरतर्फ लाग्ने सार्वजनिक सवारी साधन पाइन्छ । भाडाका अरू सान पनि बेलबारीमा सहजै पाइन्छ । राजारानीमा खाना तथा खाजाका लागि होटलहरु उपलब्ध छन् । तिनमा मौलिक खान्की पाइन्छ । त्यहाँ रहेको सुनाखरी पाहुना घरमा राति समेत बस्न सकिने व्यवस्था छ । १० जनासम्म बस्न सकिने क्षमता पाहुना घरको छ ।
बेलबारीबाट १३ किलोमिटर उत्तरमा रहेको राजारानी क्षेत्रको क्षेत्रफल करिब २० हेक्टरमा फैलिएको छ । प्राकृतिक सौन्दर्य, ताल, विभिन्न किसिमका जल प्राणी तथा वनस्पति यस क्षेत्रका मुख्य आकर्षण हुन् ।
धिमालहरूबिच धिमालहरूको पहाड भनेर चिनिने राजारानी धिमाल पोखरीको आफ्नै धार्मिक तथा सांस्कृतिक महत्त्व छ । वरिपरि डाँड डाँडाले छेकिएको उपत्यकाझैँ देखिने राजारानी क्षेत्रमा तीन वटा पोखरी र धिमाल तथा मगर समुदायले पूजा गर्ने दुई वटा मन्दिर छन् ।
यसबाहेक यहाँको विशेषताका रूपमा पोखरीमा रहेका विभिन्न जातका सुनाखरी फूलहरू हुन् । यस स्थानलाई  विभिन्न प्रकारका पुतलीहरू पाइने प्रख्यात स्थानका रूपमा पनि लिइन्छ । पूर्व नेपालको झापा र मोरङका आदिवासी धिमालहरूले अढाई महिनासम्म लगाउने डङडङे (असारे) मेला हरेक वर्षको वैशाख २ गते यही धिमाल पोखरीबाट सुरु हुन्छ ।
धिमाल पोखरी छेउको धिमाल ग्रामथानमा पूजाआजा गरेपछि यो मेला सुरु हुन्छ । उक्त थानमा आ–आफ्नो गच्छेअनुसार बोका, कुखुरा, हाँस र परेवाको बलि दिएर धिमालहरूले पूजाआजा गर्ने गर्छन् । यो क्षेत्रमा वनभोजका लागि आउनेहरूको सङ्ख्या पनि उल्लेख हुने गरेको छ ।

कसरी पुगिन्छ लेटाङ बजार ?

हवाई यात्रा गर्दा काठमाडौँबाट ३० देखि ४५ मिनटमा विराटनगर विमानस्थल पुगिन्छ । विराटनगरबाट २ वटा सुविधा सम्पन्न सडकमध्ये कुनै रोज्न सकिन्छ ।

विराटनगरबाट पुष्पलाल चोक, झोराहाट हुँदै विराट चोक, बेलबारी हुँदै जाने हो भने ४९ किलोमिटर पार गर्नुपर्छ । विराटनगरबाट इटहरी हुँदै जाने हो भने ५७ किलोमिटर पार गर्नुपर्छ । विराटनगर–इटहरी–विराचोक–बेलबारी हुँदै कानेपोखरी बजारभन्दा पूर्वतर्फ रहेको कालोपत्रे सडकबाट उत्तर लागेपछि लेटाङ पुग्न सकिन्छ । कानेपोखरीवाट लेटाङ बजारसम्मको दूरी ७ किलोमिटर हो । यहाँ जान सार्वजनिक यातायात र भाडाका अरू साधन सहजै पाइन्छ । विराटनगरबाट लेटाङ बजार पुग्न करिब डेढ घण्टा लाग्छ ।
काठमाडौँबाट सडक यातायातमा इटहरी हुँदै लेटाङ बजार जाने हो भने ३९७ किलोमिटर यात्रा गर्नुपर्छ । यात्रा अवधि ८ देखि १० घण्टासम्मको हुने छ । काठमाडौँबाट सिधै लेटाङ बजार जाने साधन नपाइए झापाको काँकडभिट्टा जाने साधनमा आएर कानेपोखरी ओर्लनुपर्छ ।
त्यहाँबाट ७ किलोमिटर यात्राका लागि सार्वजनिक बस, ट्याक्सी, ट्याम्पो जस्ता सवारी साधन सहजै पाइन्छ । लेटाङ बजारमा बस्नका लागि सुविधा सम्पन्न होटलहरु प्रशस्तै छन् ।
All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.