‘रमणीय कोशी’ भन्ने नाराका साथ भव्य कार्यक्रम बिच शुक्रवार कोशी पर्यटन वर्ष २०८२ घोषणा हुँदै
September 26, 2024 Paryatan Yatra
डेभिड घिमिरे
विराटनगर । कोशी प्रदेश सरकारले ‘रमणीय कोशी’ भन्ने मूल नाराका साथ २०८२ लाई पर्यटन वर्षका रूपमा घोषणा गर्दै छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रवार विराटनगरमा एक भव्य कार्यक्रम बिच पर्यटन वर्षको घोषणा गर्दै हुनु हुन्छ ।
कोशी प्रदेशमा पर्यटकीय गन्तव्यहरूको पहिचान, स्तरोन्नति तथा प्रचारप्रसार गर्दै पर्यटन क्षेत्रको विकास र प्रवर्धन गरी यस क्षेत्रमा थप रोजगारी सृजना गर्ने उद्देश्यका साथ पर्यटन वर्ष घोषणा गर्न लागिएको हो । प्रदेशको पर्यटन प्रवर्धन एवं विकासका लागि आवश्यक नीतिगत प्रबन्ध गर्ने, पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पुँजी निर्माण र निज क्षेत्रको लगानी अभिवृद्धिका लागि सहजीकरण गर्ने उद्देश्य लिएको छ । सेवामूलक पर्यटन क्षेत्रको व्यावसायिक विकासका लागि आवश्यक जनशक्ति तयार गर्ने, पर्यटन उपज विकासका लागि साना भौतिक पूर्वाधार निर्माण र सामाजिक(सांस्कृतिक(ऐतिहासिक धरोधरहरुको पुनर्निर्माण गर्ने,
पर्यटन क्षेत्रलाई कोशी प्रदेशको आर्थिक विकासको मेरुदण्डको रूपमा स्थापित गर्ने उद्देश्य लिएको पर्यटन बन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले बताउनु भयो ।कोशी प्रदेश पर्यटन वर्षको कार्यक्षेत्र कोशी प्रदेशका १४ जिल्लाका विविध गन्तव्यहरू रहने । यस कार्यक्रमका लागि अभियानका रूपमा २०८२ का लागि ८२ गन्तव्यको सूची निर्देशक समितिबाट निर्णय गराई कार्यान्वयन गरिने छ ।
कोशी प्रदेश अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहु जातीय, बहुभाषीय, बहु धर्म र सामाजिक विविधता एवं ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको छ । धरातलीय हिसाबले सर्वोच्च शिखर सगरमाथादेखि होचो स्थान समुद्री सतहभन्दा ७० मिटर उचाइमा रहेको झापाको केचना कवलसम्म रहेको संसारकै एक मात्र भूभाग यसै प्रदेशमा छन् । अरुण उपत्यका, कोशी टप्पु वन्यजन्तु आरक्ष, चियाको राजधानी इलाम, लालीगुराँसको राजधानी तिन जुरे मिल्के जलजले, सूर्योदय र सूर्य अस्तका दृश्यावलोकन गर्न सकिने आकर्षक स्थलहरूले कोशी प्रदेशलाई समृद्ध बनाउन सक्छन् । वराहक्षेत्र, राम धुनी, हलेसी, पाथीभरा, विराट राजाको दरबार र विभिन्न सांस्कृतिक एवं पुरातात्त्विक महत्त्व बोकेका धार्मिक एवं पर्यटकीय स्थलले कोशी प्रदेशलाई विशेष बनाएको छ ।
किराँत सभ्यताको उद्गम र विकास यही प्रदेशमा भएको भनी इतिहासमा पढ्न पाइन्छ । विजयपुर, लारुम्बा, लब्रिकुटी, मुक्कुमलुङ, खुवालुङ, तुवाचुङ जस्ता क्षेत्रहरू कोशी प्रदेशको सभ्यतासँग जोडिएका छन् । जैविक विविधता, प्राकृतिक सौन्दर्ययता र सांस्कृतिक विविधताको दृश्यावलोकन गर्दै ट्रेकिङ गर्न सकिने पदमार्गहरूले कोशी प्रदेशको पर्यटनलाई मौलिक बनाएको छ । कोशी प्रदेशलाई प्रकृति, वनस्पति, पक्षी तथा जीवजन्तुका आधारमा समेत विविधतापूर्ण छ । संसारमै दुर्लभ तथा लोपोन्मुख मानिएको जनावर रातो हाब्रे (रेड पान्डा) यस प्रदेशको गहना हुन् । कोशी नदी र आसपासको क्षेत्रमा पाइने विभिन्न प्रकारका चराचुरुङ्गी र कोशी टप्पुमा पाइने अर्नाले विश्वको ध्यान आकृष्ट गर्ने गर्छ ।
पर्यटन विकासका लागि पर्यापर्यटन, हात्तीमैत्री पर्यटन, जङ्गल सफारी, प्याराग्लाइडिङ, याफ्टिङ्ग, स्काइवल्क, खेल पर्यटन कोशी प्रदेशको समृद्धिका आधारका रूपमा रहेका छन् र विश्व विख्यात बनाएका छन् । कोशी प्रदेशमा तारे स्तरका कुल १२ वटा होटल, पर्यटकीय स्तरका होटल ३६ वटा, निजी र सामुदायिक गरी कुल १०५ वटा होमस्टेहरू रहेका छन् । प्रदेशमा हाल ७१ वटा ट्राभल तथा ट्रेकिङ एजेन्सीले पर्यटकहरूलाई विभिन्न पर्यटकीय सेवा उपलब्ध गराई रहेका छन् ।
कोशी प्रदेशमा ट्रेकिङ गाइडको सङ्ख्या ८७ र टुर गाइड २८९ र पोर्ट गाइड ८५ जना रहेका छन् । प्रदेशमा ४ स्थानमा ¥याफ्टीङ सञ्चालनमा रहेका छन्, भने इटहरीको इप्पील्याण्ड, झापाको ह्याप्पील्याण्ड र भेडेटार, देविथान जीपलाइन, भेडेटार र कन्याममा स्काईवाकका साथै जङ्गल सफारीका रूपमा माउन्टेन साइक्लिङ तथा रक क्लाइम्विङ, इलामको स्काइवाक र बुढासुब्बा तथा बेलकामा प्याराग्लाइडिङ सञ्चालनमा रहेका छन् । स्विस सरकारको सहयोग तथा तिनै तहका सरकारहरूको सह लगानीमा यस प्रदेशमा चियाबारी पदमार्ग, लालीगुराँस पदमार्ग, फाल्गुननन्द पदमार्ग र मुन्धुम पदमार्ग गरी चार वटा मुख्य पदमार्गमा आधारित पर्यटन विकास आयोजना समेत यसै वर्षदेखि सञ्चालनमा रहेका छन् ।
कोशी प्रदेश पर्यटन वर्ष २०८२ को कार्यान्वयनबाट कोशी प्रदेशमा पर्यटकको सङ्ख्या र बसाइँ अवधिलाई २५ प्रतिशतले वृद्धि गर्ने लक्ष्य सरकारले लिएको छ । पर्यटन वर्ष भरी रूपमा मुख्य विषयगत क्षेत्र र क्रियाकलाप, नीतिगत कार्य व्यवस्था पुनरावलोकन, सुधार, तर्जुमा, खारेज र सिफारिस, भ्रमण वर्ष कार्यसंचालन कार्यविधि तर्जुमा र निर्णय, भ्रमण वर्ष सञ्चालनका लागि संरचनागत एवं बजेट व्यवस्थापन, भ्रमण वर्षको सचिवालय सञ्चालन स्थानीय तहहरु र नेपाल सरकारसंगको समन्वय र सहकार्य, निज क्षेत्र सँगको साझेदारी तथा सहकार्य, पर्यटन गन्तव्य उपज विकास, प्रवर्धन र बजारीकरण, पर्यटन सेवा क्षेत्रको व्यावसायिक विकास र प्रवर्धन, पर्यटकको सरल, सहज र सुलभ पहुँचका लागि यातायात व्यवस्थापन, पर्यटन क्षेत्रको दिगो विकासका लागि संस्थागत संरचना निमार्ण, डिजीटल माध्यम तथा सुचना प्रविधि सेवाको प्रवर्धन र उपयोग गरीने मन्त्रालयले जनाएको छ ।