इतिहासमा बेलबारीको पहिलो जाति धिमाल
October 3, 2024 Paryatan Yatra
बेलबारी। दुई सय वर्षभन्दा अघिदेखि नै बेलबारीमा धिमाल जातिका मानिसहरूको बसोबास हुँदै आएको छ । यसैलाई आधार मानेर बेलबारी नगरपालिकाले धिमाल जातिलाई नगरको ‘पहिलो जाति’ भनेर घोषणा गरेको छ ।
वि.सं. १८६२ देखि तराईका जिल्लाहरूमा धिमाल जातिको बसोबास रहेको रहेको मानिन्छ । बेलबारीको ऐतिहासिक क्षेत्रका नाम समेत धिमाल जातिकै नामबाट राखिएको पाइन्छ । वि.स.१९३६ मा पूर्व माननीय कर्णबहादुर धिमालका हजुरबुवा बैसार धिमालले बक्यौता तिरेको भूमिकारको रसिदको प्रमाण समेत भेटिएको छ ।
बेलबारीका एक दर्जन ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको नाम धिमाल भाषाबाट राखिएको छ । मैसाबारी, पर्ता घारी, भिन्दहा, बर्रा डाँगी, बेलबारी, तिन घोरे, माइनावारी, दोबरे, धारधुर (धररा) तेलिकुरी, कालाबञ्जर, बालाही, माटा गाउँ, जुराकादेरा, धेङ्ग्राधेङ्ग्रे, काकोम, नलघारी, भाउन्ने, भाङ घारी, दोन्द्राझोरा, बेतेनी झोरा, चिसाङ झोरा आदि ठाउँको नाम धिमाल भाषाको नामबाट राखिएको पाइन्छ ।
धिमाल जातिको खानाको परिकारहरूमा चिचिरी, तोले, पटुवाको साग, लेउमुन्ची, सिकाउँथी, चुदुर माखालाई, क्या हाम आदि छन् । यो समुदायको मुख्य बाजाका रूपमा ढोल, उनीतुञ्जाई, गुमाना, ठ्यापठ्यापे, घाघुरिङ बाजा हुन् ।
बेलबारीमा धिमाल जातिको ३ हजारभन्दा बढी जनसङ्ख्या छ । बेलबारीको कूल जनसङ्ख्या ६९ हजार ४ सय ९८ हो । धिमाल जाति नेपालको आदिवासी जनजाति हो ।