ऐतिहासिक पृष्ठभूमि केराबारी
October 6, 2024 Paryatan Yatra
मोरङ जिल्लाको उत्तर पश्चिममा पर्ने केराबारी गाउँपालिकाको क्षेत्रफल २१९.८३ वर्ग किलोमिटर छ । प्रदेशको राजधानी विराटनगरबाट ४६ किलोमिटर उत्तर पूर्वमा रहेको यो गाउँपालिका पूर्वपश्चिम राजमार्गभन्दा करिब ५ किलोमिटर उत्तरको यात्रा गरेपछि पुग्न सकिन्छ ।
साबिकका केराबारी, याङशिला, पाटी र सहदेवी गाविसका सबै वडाहरू तथा लेटाङ भोगटेनी नगरको वडा नम्बर १ लाई मिलाएर केराबारी गाउँपालिका बनेको हो । पालिकामा १० वडा छन् । यसको केन्द्र केराबारी वडा नम्बर १० मा छ ।
केराबारी गाउँपालिका क्षेत्रको ठुलो भूभागलाई घना जङ्गलले ढाकेको छ । यसको नामकरण केराको बारी या केरा पाइने स्थानका रूपमा रहेको पाइन्छ । इसा पूर्व कालमा यस गाउँपालिकाबाट ‘उत्तरामहापथ्या’ गएको मानिन्छ । उत्तरामहापथ्या भारतको पूर्वी भागबाट पश्चिम एसिया र युरोपतिर जाने व्यापारिक मार्ग थियो ।
चीनतर्फ सिल्क रोड चलनचल्तीमा रहेसरह नै यस भेगबाट यस्तो बाटो गएको हुनाले प्राचीन कालतिर व्यापारी र तीर्थयात्रीहरू हालको केराबारी हुँदै कछाडको बाटो हिँडेर आउजाउ गर्ने गर्दथे । अघि इसाको सातौँ शताब्दीतिर भारतको आसामबाट मत्स्येन्द्रनाथलाई यही बाटो हुँदै काठमाडौँ उपत्यका लगिएको किंवदन्ती पनि छ । तिनलाई उपत्यका लैजाने बन्धुदत्त नामका तान्त्रिकले मत्स्येन्द्रनाथलाई यहीँ एक रात वास बसाएका थिए भनिन्छ । तसर्थ केराबारी भेगका विभिन्न गतिविधिमा मत्स्येन्द्रनाथको नाम जोडिने गर्दछ ।
गाउँपालिकाको उत्तरी भाग केही पूर्वतिर फैलिएको छ । भौगोलिक हिसाबले यो पालिका अक्षांश २६० ८४ डिग्री उत्तर ८७.४१ डिग्री पूर्वी देशान्तरमा फैलिएको छ।
प्रशस्तै सम्भावना बोकेका पर्यटकीय केन्द्रहरू, सिमसार क्षेत्रहरू र जैविक विविधताका हिसाबले पनि महत्त्वपूर्ण छन् । जैविक विविधता र पहाडी भूभागबाट देखिने मनोरम प्राकृतिक दृश्य, हरियाली तराई क्षेत्रमा पर्ने वन र सिमसार र यहाँ बसोबास गर्ने समुदायको मौलिक संस्कृति र यससँग सम्बन्धित पर्यटन केराबारी गाउँपालिकाको गहना मात्र होइन आम्दानीको राम्रो पनि स्रोत हुन् ।