विशाल जाँतोले गराउँछ ठाउँको पहिचान
October 8, 2024 Paryatan Yatra
ठाउँको पहिचान विशेष बनाउन निर्माण गरिएको विशाल जाँतोले धेरैको ध्यान तान्ने गरेको छ । पूर्वपश्चिम राजमार्गको यात्रामा आउने मोरङको पथरी बजार पुगेपछि इलाका प्रहरी कार्यालय अगाडिबाट उत्तरतर्फ लाग्ने सडक छ । यो सडकमा सार्वजनिक बस र अरू साना साधन पनि सञ्चालन हुन्छन् ।
पथरी बजारबाट ८ किलोमिटर जङ्गलको बिचबाट यात्रा गरियो भने धार्मिक चोक पुगिन्छ । त्यो चोक पुग्ने बेलामा एउटा विशाल जाँतो देख्न सकिन्छ । लेटाङ बजारबाट पश्चिमतर्फको सडक हुँदै जाँदा करिब ४ किलोमिटरको यात्रा गरेपछि पनि जाँतो भए ठाउँमा पुग्न सकिन्छ । ४ किलोमिटरमध्ये झन्डै एक किलोमिटर सडक भने कच्ची छ । बर्खाको समयमा यात्रा गर्दा मोरङगी खोला तर्नुपर्छ। यहाँ पुल नभएकाले बाढी आएका बेला तर्न मुस्किल हुन्छ ।
मोरङको लेटाङ नगरपालिका ९ मा रहेको जाँतो संसारकै ठुलो भनेर दाबी गरिएको छ । जाँतेको पहिचान र नाम जीवित गराउने उद्देश्यले बनाइएको हो । यही भएर यो गाउँको नामै जाँते हो । नगरपालिका बन्नुअघि यो जाँते गाविस थियो । पछिल्लो पटक लेटाङ नगरपालिका घोषणा हुँदा जाँते गाभिएको हो । आफ्नो ठाउँको नाम र पहिचान विशेष बनाउने जाँतोको स्तम्भ स्थापना गरिएको हो ।
चिटिक्क परेको पार्कभित्र ५ फिट गोलाईको जाँतो बनाएको छ । डेढ फिट उचाइको जाँतोको माथिल्लो घुम्ने ढुङ्गा १५ इन्चको छ । बिचको मानी २ किलो फलामको बनाइएको छ । जङ्गलको शिरमा रहेको यो जाँतोको स्तभसँगै धार्मिक चोक विविधताले भरिपूर्ण छ । यहाँ सबै जात र धर्मलाई समेट्ने गरी पर्यटकीय विशेष क्षेत्र बनाउने विकास योजना अघि सारिएको छ ।
चोकको पश्चिमतर्फ मगर बौद्ध गुम्बा छ । त्यसनजिकै वसन्त हरियाली सामुदायिक वनको कार्यालय छ । त्यहाँ २ वटा मृग पालिएको छ । पश्चिमतर्फ अलि अगाडि बढेपछि साकेला थान पुग्न सकिन्छ । त्योभन्दा अलि पर गणेश मन्दिर छ । धार्मिक चोकको उत्तर पूर्वतर्फ संस्कृत विद्यापीठ छ, जहाँ संस्कृत भाषाको पठनपाठन हुन्छ । चोकको पूर्वतर्फ किराँत यूमा माङ हिम थान छ । यहाँको दक्षिणतर्फको ठुलो भूभाग जङ्गल क्षेत्र छ ।