ढुङ्गै ढुङ्गाको मूर्तिले बनेको सृजना पार्क

October 22, 2024     Paryatan Yatra

विराटनगर । मोरङ जिल्लाको पूर्व क्षेत्रमा रहेको बेलबारी क्षेत्र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण रहेको छ । त्यो क्षेत्रमा बढी मात्रामा सिमसार रहेका छन् । बेलवारी नगरपालिका वडा नम्बर १० मा रहेको पूर्वपश्चिम राजमार्गसँगै जोडिएको भाउन्ने चोकदेखि पूर्वमा सिर्जना सामुदायिक वन क्षेत्र यो पार्क निर्माणका क्रममा छ ।

२०७५ फागुन ४ गतेदेखि नेपालसहित ६ देशका ४२ मूर्तिकारहरूले यस क्षेत्रमा  ढुङ्गा कुँदेर ढुङ्गाको मूर्ति बनाउने कार्यको थालनी गरेका छन् । यसको कूल क्षेत्रफल ३३ बिगाहा छ । यहाँ बन्दै गरेका र कतिपय बनिसकेका मूर्तिहरू छन् । केही मूर्ति धिमाल र राजवंशीको संस्कृति झल्कने किसिमका समेत छन् । बेलबारीको इतिहाससँग जोडिएको धिमाल तथा राजवंशीको कला र संस्कृति समेत मूर्तिहरूमा झल्किएको छ । त्यहाँ बनेका आकृतिहरूमा मङ्गोल, आर्यन र नेग्रो जातिका पुस्ताको रहनसहन झल्किएको पाइन्छ । त्यसै गरी माछा, हाँस, हात्ती, माउन्टेन लेडी जस्ता आकृतिहरू समेत छन् ।जङ्गल क्षेत्रमा बनाइने पार्कभित्र कुनै पनि रुख कटान गरिने छैन । यस क्षेत्रलाई आधुनिक पार्कमा परिणत गर्ने सिर्जना सामुदायिक वन उपभोक्ता समितिको लक्ष्य छ । यस पार्कको विस्तृत परियोजना प्रतिवेदन (सिपिआर) तयार भइरहेको र ५ वर्षभित्र ४० करोड लगानीमा सम्पन्न गर्ने लक्ष्य छ ।

कसरी आइपुगिन्छ बेलबारी ?

काठमाडौँबाट ३८६ किलोमिटर सडक यात्रा गरेपछि बेलबारी आइपुग्न सकिन्छ । काठमाडौँबाट सवारी साधनमा यात्रा गर्दा ९ देखि १२ घण्टा लाग्छ । यो रुटमा रात्रि तथा दिवा सेवाका सुविधायुक्त बसहरू सहजै पाइन्छ ।

हवाई यात्रा गर्दा काठमाडौँदेखि ३० देखि ४५ मिनटमा विराटनगर विमानस्थल आइपुगिन्छ । विमानस्थलबाट सुनसरीको इटहरी हुँदै त्यहाँबाट साढे ३२ किलोमिटर पूर्व लागेपछि बेलबारी आइपुगिन्छ । विराटनगरबाट यात्रा अवधि करिब डेढ एक घण्टाको हुन्छ ।

विराटनगर वाट प्रशस्त सार्वजनिक यातायातका साधन पाइन्छन् । विमानस्थलमा भाडाका सवारी साधन जति बेला पनि पाइन्छ । विराटनगरको पुष्पलाल चोक हुँदै जाने अर्को बाटो पनि छ । साढे २७ किलोमिटर दूरीको यो सडक भएर यात्रा गर्दा करिब १ घण्टामा आइपुगिन्छ ।

यो सडक चार लेनको व्यवस्थित बनिरहेको छ । निर्माण पूरा भएपछि यो सडक यात्राका लागि छिटो र सजिलो पनि हुनेछ । पूर्वको नाका काँकडभिट्टाबाट पूर्वपश्चिम राजमार्गको यात्रा गर्दै आउने हो भने करिब ३ घण्टामा सुन्दरहरैंचा आइपुगिन्छ । करिब ७० किलोमिटर यात्रा गरेपछि काँकडभिट्टाबाट यहाँ आइपुगिन्छ । यो रुटमा पनि सुविधायुक्त सार्वजनिक यातायातका साधन सहज उपलब्ध हुन्छन् ।

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.