डेभिड घिमिरे
खोटाङ। हलेसी महादेव नेपालको एक प्रसिद्ध हिन्दू ,किराँत एवं बौद्ध तीर्थस्थल हो । यो स्थान कोशी प्रदेशको खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल देखि करिब ९ कोस पश्चिम अवस्थित हलेसी तुवाचुङ नगरपालिका को केन्द्र दुर्छिम छापडाँडाबाट पूर्व नगरपालिकाको वडा नं ७ महादेवस्थान हलेसी गाउँ मा पर्छ। ‘हलेसी गुफा’को प्राकृतिक भु–बनोटको संरचनासमेत विश्वमै अनौठो मानिन्छ । महादेवस्थान–४ मा बाक्लो जंगलले ढाकिएको एउटा थुम्को छ । थुम्कोको टाकुरामा आकाशतिर फर्केको एउटा ठूलो चट्टानको गुफा छ । त्यही गुफालाई हलेसी महादेव गुफा भनिन्छ । हलेसी महादेवलाई हिन्दु धर्मावलम्बीले पुर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी र किराँत धर्मालम्बीले आदिम भुमि ठान्दै आएका छन् । हिन्दु धर्म र बुद्ध धर्मको संगमस्थल मानिने हलेसी धाम करिब २६ रोपनीमा फैलिएको छ । गुराँसे, तुवाचुङ जायजुम मलाथुम्की र रुपाकोट डाँडा जस्ता सदावहार डाँडाको काखमा हलेसी महादेव अवस्थित छन् ।
स्थानियवासीका भनाइअनुसार पहिले सत्य युगमा हलेसी मन्दिर वरिपरि जङ्गल रहेकाले त्यहाँ बाघ, भालु घोरल मृग जरायो कालिज तित्रा आदि पशुपंक्षीहरू प्रशस्त मात्रामा पाईने र त्यस जङ्गलमा त्यसै गाउँका स्थानियवासी किराँत जातका मान्छेहरूले नै सिकार गर्ने र जिव जन्तुहरू मार्ने गर्दथे । त्यो बेलामा हलेसी गुफा लहराले जेलिएर रहेको अवस्थामा भएकाले यस गुफेका बारेमा कसैलाई थाह थिएन । एक दिन एकजना किराँती सिकारीको बाण प्रहारबाट घाइते भएको मृग लडेर हलेसी महादेव गुफाभित्र खसेछ । त्यो मृग लिन जाँदा अँध्यारो गुफाभित्र चम्किलो बत्तिको जस्तो ज्योती देखेर सिकारीको आँखा तिरमिराएर सिकारी बेहोस भएछ । उक्त बेहोस भएको सिकारीलाई भगवान शङ्करले दर्शन दिए पछि यस गुफाभित्र अन्य देवि देवताको पनि उत्तपत्ती भएछ । यो देखेर त्यो सिकारीले त्यो मन्दिर आसपासका क्षेत्रमा कसैले पनि हत्या हिंसा नगर्नु भन्ने चेतावनी समेत दिएको भन्ने भनाइ रहेको छ ।
महादेवले भस्मासु राक्षसबाट बचाउन मोहनी रुप धारण गरी भगवान विष्णु कैलाशबाट उक्त स्थानमा आएको पुरानो मान्यता रहेको छ । मोहिनीले राक्षसलाई झक्याएर भष्म गरिदिएकी थिइन्, जसको अवशेष भैरव गुफामा रहेको विश्वास गरिन्छ । त्यसकारण हलेसीलाई भष्मासुर गुफा पनि भनिन्छ । बाला चतुर्दर्शी, शिवरात्री, रामनवमी र तीजमा ठुला मेला लाग्ने हलेसीमा विभिन्न देशबाटसमेत तीर्थयात्री ता आन्तरिक पर्यटकहरु पुग्ने गर्छन् ।
किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको संगमस्थल ‘हलेसीधाम’ नेपालका थुप्रै तीर्थस्थल एवं पर्यटकीय स्थल मध्ये एक हो । ऐतिहासिक कालमा किरातहरूका पूर्वज खोक्चिलीप्पा, रैछाकुले, हेच्छाकुप्पा हलेसी गुफामा बसेको किंम्वदन्ती छ । यहाँ बर्सेनि किरातको चाड उभौली–उधौलीको अवसरमा खोटाङ, भोजपुर, उदयपुर, ओखलढुंगा, सोलुखम्बु लगायतका किराती भेला भई आफ्ना पितृलाई पुज्ने गर्छन् । अर्का तिर हिन्दू धार्मिक किंम्वदन्ती अनुसार सत्य युगमा महादेव भाङ–धतुराले मातेर अर्धचेत भएको अवस्थामा भष्मासुर नाम गरेको राक्षसले ‘मैले जसको टाउकोमा हात राख्छु, त्यो जलेर भष्म होस्’ भन्ने वरदान मागे । भाङमा लठ्ठ महादेवले पनि विचारै नगरी ‘तथास्तु’ भने । तर, वरदान पाएपछि भष्मासुर ले महादेवकै टाउकामा हात राख्न खोज्यो । भष्म हुने डरले महादेव भाग्दै जाँदा हलेसीको यसै डाँडालाई फोडेर चट्टानभित्र प्रवेश गरे र त्यहीँ अलप भए । त्यसैले यहाँ महादेवको बास रहेको विश्वास गरिन्छ ।