तितेकरेलाको खेतीमा रोङका किसान आकर्षित

January 2, 2025     Paryatan Yatra

इलाम,  पुस १८ गते ।  जिल्लाको रोङ गाउँपालिकाका किसान तितेकरेलाको खेतीतर्फ आकर्षित भएका छन् । किसानले उत्पादन गरेका तितेकरेलालाई गाउँपालिकाले ‘ब्रान्डिङ’ गरेर बिक्री गरिदिन थालेपछि यहाँका किसान यसतर्फ आकर्षित भएका हुन् ।

रोङ–४ का रघुनाथ अर्यालका अनुसार गत वर्षसम्म बजारको पहुँच नहुँदा घरमा उपभोग गर्नका लागि मात्र तितेकरेला लगाउने गरिएकामा पालिकाले बजारीकरण गर्न थालेपछि व्यावसायिक उत्पादन सुरु गरिएको हो । “अहिले पालिकाले सुकाएर करेलाको ब्रान्डिङ सुरु गरेको छ । बजारको चिन्ता केही नभएपछि व्यावसायिक उत्पादन सुरु गरेका छौँ”, उहाँले भन्नुभयो ।

अर्यालले यसवर्ष पाखाबारीमा करेलाको एक हजार बिरुवा रोपेको जानकारी दिनुभयो । “तरकारीका रूपमा बिक्री नभए पनि स्थानीय सरकारले किनिदिने भएपछि ढुक्कसँग खेती थालेका छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार गाउँपालिकाका सबै वडाका अधिकांश किसान यो खेतीतर्फ आकर्षित भएका छन् ।

गाउँपालिकाले करेलालाई सुकाएर सुकुटीका रूपमा प्रशोधन गरी बिक्री सुरु गरेको हो । “यस वर्ष बिक्रीका लागि दुई सय किलो सुख्खा तितेकरेला तयार छ”, गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले भन्नुभयो, “यहाँका अधिकांश किसानले व्यावसायिक खेती सुरु गर्नुभएकाले अर्को वर्ष धेरै उत्पादन हुनेछ । एक पटकमा ५० हजार किलो काँचो करेला प्रशोधन गर्न सक्ने उद्योग निर्माण भइरहेको छ ।”

गाउँपालिकाका अध्यक्ष स्याङ्बोले बेमौसममा पनि उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर तितेकरेलालाई सुकाएर प्याकेजिङ गरी बजारमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।  करेलाको अध्ययन, अनुसन्धान गर्दा सफल भएपछि पालिकाले बजारीकरण थालेको उहाँको भनाइ छ ।

तितेकरेलालाई गुन्द्रुकसँग मोलेर अचारका रूपमा पनि खान सकिन्छ । प्याकेजिङ भएको तितेकरेलालाई तातोपानीमा पाँच-१० मिनेट भिजाएर पुरानै स्वरूप तथा स्वादमा विभिन्न तरिकाले पकाएर खान सकिने किसान बताउँछन् ।

रोङ गाउँपालिकाका सबै स्थानमा उत्पादन गर्न सकिने करेला पालिकाले प्रशोधन गरेर बजारीकरणमा लागेपछि यसको खेतीमा किसानको उत्साह बढेको करेला खेती गर्दै आएका रोङ–३ प्यूरेका लल्मी लाप्चाले बताउनुभयो ।

गाउँपालिकाले यसअघि रोङमा गुन्द्रुक, सिस्नो, बेसार, मह, चिया, कुचोलगायत कृषिजन्य वस्तुको ब्रान्डिङ गरी बजारीकरण गरिरहेको गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया भुजेलले बताउनुभयो । रोङको गुन्द्रुक र महको माग बजारमा बढी भएकाले माग अनुसार आपूर्ति गर्न कठिन भइरहेको उहाँको भनाइ छ । रासस

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.