रमणीय केराबारी भ्युपोइन्ट

March 9, 2025     Paryatan Yatra

केराबारी ।

कोशी प्रदेशको मोरङ जिल्लामा पर्ने  एक रमणीय गाउँपालिका हो केराबारी गाउँपालिका। मोरङ जिल्लाको उत्तर पश्चिम भेगमा रहेको यस गाउँपालिका निकै सुन्दर छ। सम्म फाट जमिन र थोरै मास्तिर गएपछि डाँडाकाँडा हरियो वन जङ्गल र आकर्षक पुलहरूले गर्दा यो ठाउँलाई निकै सुन्दर बनाएको छ।

पूर्वपश्चिम राजमार्गको खोर्सानीबाट करिब ९ किलोमिटर उत्तरतर्फ जाँदा केराबारी गाउँपालिका पुग्न सकिन्छ। खोर्साने बाट केराबारी जाने बाटो दुवै तर्फबाट वनले घेरिएको छ। यो सडक एकदमै सुनसान छ र कालोपत्रे पनि गरिएको छ। केराबारी गाउँपालिकाको मुख्य आकर्षक केराबारी भ्युपोइन्ट हो ।   मोरङ जिल्लाका आठ गाउँपालिकाहरूमध्ये केराबारी एक हो।  केराबारी बजारबाट अझै उत्तरतर्फ जाँदाखेरि पहाडी क्षेत्र पुग्न सकिन्छ। मासतिर पहाड क्षेत्र जाने क्रममा पिच बाटो सकेर केही ग्राबल बाटोको सहायता लिनुपर्ने हुन्छ। पहाडी भेगको  सडक भएर केही उकालो र घुमौरो पनि छ।

केराबारीको भ्युपोइन्ट जाने क्रममा बस्तीहरू पातलिँदै गए। भिर पाखा देखिन थाले र भिर पाखामै खनेर खेत बनाएर खेती गरेको देख्न सकिन्छ । केराबारी बजारबाट झन्डै ३ किलोमिटरको उकालो चढेपछि केराबारी भ्युपोइन्ट पुग्न सकिन्छ। केराबारी भ्युपोइन्टमा पर्यटकहरूको लागि आराम गर्न केही कुर्सीहरू बनाइएको छ । त्यसै गरी यहाँ एउटा ठुलो नेपालको झन्डा राखिएको छ। यहाँ केही किराना पसल तथा खाजा पसलहरू पनि छन्। यस क्षेत्रबाट केराबारीको सम्पूर्ण सम्म फाँटहरू देखिन्छ । यस क्षेत्रबाट देखिने दृश्य साँच्चै मनमोहक छ। केराबारी बजारबाट करिब १ घण्टाको पैदल यात्रा गरी यहाँ पर्यटकहरू आउन रुचाउँछन्। यस क्षेत्रबाट तराईका फाँट चार कोसे झाडी कदम खोला र गाउँ बस्तीका सुन्दर दृश्यहरू देख्न सकिन्छ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.