कोशी प्रदेशको पर्यटन प्रवर्द्धनलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित कोशी पर्यटन वर्ष २०८२ सचिवालयले काठमाडौँमा व्यापक गृहकार्य थालेको छ । यही क्रममा सचिवालयले नेपाल पर्यटन बोर्डसँग औपचारिक सहकार्यको समझदारी पत्रमा हस्ताक्षर गर्दै कोशी प्रदेशको पर्यटकीय गतिविधि प्रवर्द्धनका कामलाई संस्थागत रूपमा अघि बढाउने सहमति गरेको छ ।
कोशी प्रदेशमा पर्यटकीय गतिविधि बढाउने, प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म प्रभावकारी रूपमा पुर्याउने उद्देश्यका साथ दुई दिनसम्म काठमाडौँमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको थियो । ती कार्यक्रमको मुख्य उपलब्धिका रूपमा नेपाल पर्यटन बोर्डसँग सहकार्य विस्तार गर्ने समझदारी भएको कोशी पर्यटन वर्ष २०८२ निर्देशक समितिका सहसंयोजक कृष्ण शाहले जानकारी दिए ।
सोमबार नेपाल पर्यटन बोर्डको कार्यालयमा आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका तर्फबाट पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको उपस्थितिमा बोर्डका कार्यकारी निर्देशक दीपक जोशी र कोशी प्रदेश सरकारका तर्फबाट मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटाले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारी पत्रमा कोशी प्रदेशको पर्यटन प्रवर्द्धनका काममा नेपाल पर्यटन बोर्डले गर्ने सहयोगका क्षेत्र स्पष्ट गरिएको छ । छिमेकी भारतसहित अन्य मुलुकमा कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्ने, प्रचार–प्रसार सामग्री विकास गर्ने, अन्तर्राष्ट्रिय तथा आन्तरिक पर्यटन बजारमा कोशीलाई ब्रान्डिङ गर्ने लगायतका विषयमा सहकार्य गरिने उल्लेख छ ।
सम्झौताअनुसार नेपाल पर्यटन बोर्डका पदाधिकारीसहितको टोली १५ दिनभित्र कोशी प्रदेश पुग्ने र त्यहाँ प्रदेश सरकार तथा सचिवालयसँग थप सहकार्यका क्षेत्रलाई मूर्तरूप दिने समझदारी भएको सहसंयोजक शाहले बताए । उनका अनुसार यो सहकार्यले कोशी पर्यटन वर्ष २०८२ लाई सफल बनाउन ठोस आधार तयार गर्ने अपेक्षा गरिएको छ ।
काठमाडौँमा आयोजित कार्यक्रमअन्तर्गत सोमबार नै पर्यटन क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएका व्यवसायीहरूसँग विशेष अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो । होटल, ट्राभल, ट्रेकिङ, साहसिक पर्यटन तथा सेवा क्षेत्रसँग आबद्ध व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको उक्त अन्तरक्रियामा कोशी प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि चालेको पहलको स्वागत गरिएको थियो ।
व्यवसायीहरूले विगतका अनुभव र सिकाइलाई आधार बनाएर कोशी प्रदेशले यसपटक अझ व्यवस्थित, योजनाबद्ध र परिपक्व ढंगले पर्यटन वर्ष सञ्चालन गर्न खोजेको भन्दै प्रदेश सरकारको खुलेर प्रशंसा गरे । साथै, आफूहरू सक्दो सहयोग गर्न तयार रहेको प्रतिबद्धतासमेत जनाए ।
अन्तरक्रियामा उठेका प्रश्नहरूको जवाफ दिँदै कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटाले कानूनी तथा प्रक्रियागत अल्झन हटाउँदै पर्यटन गतिविधि विस्तार गर्न प्रदेश सरकार पूर्ण रूपमा तत्पर रहेको बताए । उनले अब पर्यटन क्षेत्रमा थप व्यवस्थित ढंगले काम गर्न प्रदेश सरकार र निजी क्षेत्रबीच हातेमालो गरेर अघि बढिने स्पष्ट पारे ।
उक्त अवसरमा मन्त्री सदानन्द मण्डलले पनि अन्तरक्रियामा उठेका सवालहरूपछि राजनीतिक, सामाजिक र आर्थिक सबै हिसाबले कोशी प्रदेशलाई पर्यटनमैत्री बनाउन सबै पक्ष एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याए । पर्यटन विकास प्रदेशको समग्र समृद्धिसँग जोडिएको विषय भएकाले यसलाई साझा एजेन्डाका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
अन्तरक्रियामा नेपाल पर्यटन बोर्डका पदाधिकारीसँगै पर्यटन क्षेत्रका प्रमुख संघ–संस्थाहरू— होटल संघ नेपाल (हान), ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा), प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा), नेपाल रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (नारा), नेपाल पर्वतारोहण संघ (एनएमए), नाथम, होटल व्यवसायी महासङ्घ, पशुपक्षी पर्यटन सङ्घ तथा पूर्वी नेपालको मेची क्राउन होटलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कोशी पर्यटन वर्ष २०८२ निर्देशक समितिका अर्का सहसंयोजक भवेशकुमार श्रेष्ठले काठमाडौँमा आयोजित यस्ता अन्तरक्रियाले कोशी प्रदेशमा पर्यटकीय गतिविधि बढाउन फलदायी हुने विश्वास व्यक्त गरे । उनले काठमाडौँलगायत देशभरबाट कोशी प्रदेश पुग्ने पर्यटक र पर्यटन व्यवसायीको सहजीकरणका लागि सचिवालयले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए ।
कोशी प्रदेशको पर्यटन प्रवर्द्धनलाई सिर्जनात्मक माध्यमसँग जोड्ने उद्देश्यले कोशी पर्यटन वर्ष २०८२ सचिवालयले मंगलबार चलचित्रकर्मी तथा कलाकारहरूसँग पनि विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा फिल्मकर्मी, निर्देशक, कलाकार तथा सिने क्षेत्रसँग आबद्ध व्यक्तिहरूले कोशी पर्यटन वर्ष सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
अन्तरक्रियामा सहभागी अधिकांश कलाकार तथा फिल्मकर्मीले पर्यटन वर्ष सफल बनाउन सरकारका तर्फबाट अझै सुधार गर्नुपर्ने धेरै पक्ष रहेको औंल्याए । कोशी प्रदेश फिल्म सुटिङका लागि अत्यन्तै भाग्यमानी र सम्भावनायुक्त प्रदेश भएको उल्लेख गर्दै उनीहरूले पूर्वाधार, अनुमति प्रक्रिया र सहजीकरणमा सुधार गर्न सुझाव दिए ।
कलाकारहरूसँगको अन्तरक्रियामा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले कोशी प्रदेश पर्यटनका दृष्टिले अथाह सम्भावना बोकेको भए पनि पर्याप्त प्रचार–प्रसार नहुँदा ओझेलमा परेको बताए । यही अवस्थालाई बदल्न कोशी पर्यटन वर्ष २०८२ मार्फत प्रदेशको पर्यटनलाई नयाँ उचाइमा पुर्याउने योजना अघि सारिएको उनको भनाइ थियो ।
काठमाडौँ भ्रमणका क्रममा कोशी प्रदेशका मन्त्री, सचिव तथा पर्यटन वर्ष सचिवालयका पदाधिकारीसहितको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा तथा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलासँग भेटवार्ता गर्दै प्रदेशले गरिरहेको कामको जानकारी गराएको थियो । साथै, आगामी दिनमा थप सहकार्य र सहयोगका लागि संघीय सरकारसँग आग्रह गरिएको थियो ।
भेटका क्रममा संघीय सरकारले प्रदेशमा रहेका प्राकृतिक सुन्दरतालाई पर्यटनसँग जोड्न आवश्यक आर्थिक, कानूनी तथा नीतिगत सहयोगलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाएको जनाइएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई कोशी प्रदेशमा आकर्षित गर्न आवश्यक सुरक्षा, सेवा सुविधा, आतिथ्यता तथा पर्यटकीय वातावरणलाई व्यवस्थित बनाउने काममा कोशी पर्यटन वर्ष २०८२ सचिवालय सक्रिय रूपमा लागिरहेको पनि सो अवसरमा जानकारी गराइएको थियो ।
सचिवालयका अनुसार काठमाडौँमा गरिएको यो व्यापक गृहकार्यले कोशी पर्यटन वर्ष २०८२ लाई केवल औपचारिक कार्यक्रममै सीमित नराखी प्रदेशको दीर्घकालीन पर्यटन विकासको आधार तयार गर्ने अपेक्षा गरिएको छ ।