चिनियाँ पर्यटक लक्षित पर्यटन व्यवसायीलाई भाषा तालिम

December 21, 2025     Paryatan Yatra

काठमाडौं । बढ्दो चिनियाँ पर्यटक प्रवाहलाई लक्षित गर्दै नेपालका पर्यटन व्यवसायीलाई चिनियाँ भाषा प्रशिक्षण प्रदान गरिएको छ। नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसर पारेर नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ राजदूतावासको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिमको शुक्रबार औपचारिक समापन गरिएको हो।

छ महिनासम्म चलेको चिनियाँ भाषा तालिममा सहभागी ४७ जना पर्यटन व्यवसायीलाई काठमाडौंमा आयोजित समापन समारोहमा प्रमाणपत्र वितरण गरिएको छ। तालिमले व्यवसायीलाई चिनियाँ पर्यटकसँग सहज संवाद गर्न, सेवा–सुविधाबारे स्पष्ट जानकारी दिन र पर्यटक सन्तुष्टि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

समारोहलाई सम्बोधन गर्दै पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले चिनियाँ भाषा जान्ने जनशक्तिको अभावले पर्यटन क्षेत्रमा चुनौती थपिँदै गएको उल्लेख गरे। उनले यस्ता तालिमले व्यवसायीको सेवा गुणस्तर सुधार हुने र समग्र पर्यटन उद्योगमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा चिनियाँ राजदूतावासका ‘मिनिस्टर काउन्सिलर’ चु पानले नेपाल–चीन सम्बन्ध केवल कूटनीतिमा सीमित नभई संस्कृति, पर्यटन र जनस्तरको सम्बन्धमा समेत विस्तार हुँदै गएको बताए। उनले भाषा प्रशिक्षणजस्ता कार्यक्रमले दुई देशबीचको सांस्कृतिक समझदारी र आपसी विश्वासलाई थप मजबुत बनाउने धारणा राखे।

पर्यटन व्यवसायीहरूले पनि तालिमले व्यावहारिक ज्ञान दिएको र चिनियाँ पर्यटकसँग काम गर्न आत्मविश्वास बढेको प्रतिक्रिया दिएका छन्। बढ्दो चिनियाँ पर्यटक आगमनसँगै यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा सहभागीहरूको जोड छ।


All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.