ईश्वर थापा
धनकुटा । कोशी प्रदेशको प्रमुख तथा चर्चित पर्यटकीय गन्तव्यमध्ये एक धनकुटाको भेडेटारमा सञ्चालित स्काईवाक पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–६, भेडेटारमा निर्माण गरिएको स्काईवाकबाट पूर्वी नेपालको प्राकृतिक सौन्दर्य अवलोकन गर्न सकिने भएकाले यहाँ दैनिक रूपमा सयौँ पर्यटक पुग्ने गरेका छन् । परिवारसहित भेडेटार घुम्न आएका सुनसरीको देवानगञ्ज गाउँपालिका–६ का आनन्दी कुमार चौधरीलाई यसपटकको भेडेटार भ्रमण फरक अनुभव भएको छ । यसअघि पनि भेडेटार आइरहने चौधरी परिवारका लागि यसपटक स्काईवाकको अनुभव विशेष बन्यो ।
स्काईवाकको भुइँ पारदर्शी काँचले बनेको छ । त्यसैले यसको चुच्चो भागतिर पुग्दा तलको गहिरो भीर स्पष्ट देखिन्छ । यहाँ हिँड्ने आगन्तुकले डर र प्राकृतिक सौन्दर्यको अनुभूति एकैपटक गर्न सक्छन्। ‘स्काईवाकमा उभिँदा आकाशमै रहेकोजस्तो महसुस भयो,’ चौधरीले भने, ‘आकाशमै हिँडेजस्तो अनुभूति हुँदा निकै फरक अनुभव पाइयो ।’
‘कतिपय त सिसामाथि हिँड्न नसकेर वरिपरि लगाइएको फलाम समातिरहेका पनि देखिए,’ उनले थपे, ‘सुनसरी र धनकुटाको सिमानामा रहेको भेडेटार पहिलेदेखि नै पर्यटकीय गन्तव्य थियो, अहिले स्काईवाकले यसलाई नयाँ परिचय दिएको रहेछ ।’ भेडेटारमा गर्मीयाममा हुस्सु लाग्ने र मौसम चिसो रहने भएकाले विशेषगरी तराईका जिल्लाबाट तथा छिमेकी मुलुक भारतबाट गर्मी छल्न पर्यटक आउने गरेका छन् ।
दुई वर्षमा ३ लाख ९ हजार पर्यटक
वन्डर्स अम्युजमेन्ट पार्क्स एन्ड अट्राक्सन प्रालिले निर्माण गरेको स्काईवाक २०८१ साउन ११ गतेदेखि सञ्चालनमा आएको हो । २०७७ फागुन ९ गते प्रदेश लगानी प्राधिकरण र विकासकर्ताबीच परियोजना विकास सम्झौता भएपछि यसको निर्माण सुरु भएको थियो । करिब २० करोड रुपैयाँको लागतमा निर्माण भएको स्काईवाकले दोस्रो वार्षिकोत्सवसमेत मनाइसकेको छ ।
कोशी प्रदेश सरकारको लगानी प्राधिकरण, धनकुटाको साँगुरीगढी गाउँपालिका, सुनसरीको धरान उपमहानगरपालिका तथा वन्डर्स अम्युजमेन्ट पार्क्स एन्ड अट्राक्सन प्रालिको सार्वजनिक–निजी साझेदारी ९पीपीपी० मा निर्माण भएको स्काईवाकमा पहिलो वर्ष १ लाख ७८ हजार र दोस्रो वर्ष १ लाख ३१ हजार पर्यटकले भ्रमण गरेका स्काईवाकका प्रबन्ध निर्देशक सञ्जीव रोकाहाले जानकारी दिए । उनका अनुसार तीमध्ये करिब ३५ प्रतिशत भारतीय पर्यटक रहेका छन् । उनले ४१ मिटर लामो र दुई मिटर चौडा सिसाको पुलबाट वरपरको मनोरम दृश्य नियाल्न सकिने बताए । स्काईवाक निर्माण गरिएको जग्गा २५ वर्षका लागि वन्डर्स अम्युजमेन्ट पार्क्स एन्ड अट्राक्सन प्रालिलाई उपलब्ध गराइएको छ । सम्झौताअनुसार त्यसपछि उक्त संरचना स्वतस् सरकारलाई हस्तान्तरण हुनेछ ।
स्काईवाक बनेको स्थानमा पहिले चार्ल्स टावर रहेको थियो । बेलायती राजकुमार चार्ल्स उक्त डाँडामा पुगेपछि त्यसको नाम चार्ल्स टावर राखिएको थियो । यहाँ स्काईवाकसँगै अन्य साहसिक गतिविधिसमेत सञ्चालनमा छन् । पर्यटकले फ्री फल जम्प ९मिनी बन्जीजस्तै०, स्विङ तथा टिकटक जोनको समेत अनुभव लिन सक्छन् । परियोजनाले आगामी दिनमा थप गतिविधि विस्तार गर्ने योजना बनाएको जनाएको छ ।
स्काईवाक परियोजना कोशी प्रदेश लगानी प्राधिकरणसँगको साझेदारीमा सञ्चालन भएको प्रदेशकै पहिलो सार्वजनिक–निजी साझेदारी ९पीपीपी० मोडलको पर्यटन परियोजना भएको बताइएको छ । ‘स्काईवाक सञ्चालनमा आएपछि भेडेटारमा पर्यटक आगमन उल्लेखनीय रूपमा बढेको छ । स्थानीय व्यवसाय र पर्यटन क्षेत्रलाई यसले प्रत्यक्ष टेवा पुर्याएको छ,’ रोकाहाले भने, ‘यहाँ सिसामाथि हिँड्ने अनुभव, फ्री फल, स्विङलगायतका साहसिक गतिविधि सञ्चालनमा छन् । निकट भविष्यमा स्काई साइकलिङ, जिपलाइन तथा बालबालिकाका लागि आकर्षक पार्क निर्माण गर्ने योजना अघि बढाइएको छ ।’ स्काईवाकमा २१ जना कर्मचारी कार्यरत छन् । तीमध्ये ७० प्रतिशत साँगुरीगढी गाउँपालिकाका स्थानीय रहेको रोकाहाले बताए ।
हिमालदेखि तराईसम्मको दृश्य
स्काईवाक टावरबाट सप्तकोशी नदीको मनोरम दृश्य, पूर्वी तराईका विशाल फाँट तथा विश्वको सर्वोच्च शिखर सगरमाथासहित मकालु, कञ्चनजङ्घा र कुम्भकर्णलगायतका हिमशृङ्खला एकैसाथ अवलोकन गर्न सकिन्छ । मौसम सफा भएका दिनमा सूर्योदय र सूर्यास्तको अनुपम दृश्यले पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ ।
टावरको माथिल्लो भागबाट चारैतिर फैलिएको हरियाली, पहाडी दृश्य तथा तराईका बस्तीहरूको दृश्यले भेडेटार भ्रमणलाई स्मरणीय बनाउने गरेको सुनसरीको धरानका अविन शाक्यले बताए । समुद्री सतहबाट करिब एक हजार चार सय मिटर उचाइमा रहेको भेडेटार बजार धनकुटा जिल्लाको दक्षिणी प्रवेशद्वारका रूपमा परिचित छ । शीतल हावापानी, प्राकृतिक सौन्दर्य तथा सहज पहुँचका कारण भेडेटार वर्षौंदेखि पर्यटकको रोजाइमा पर्दै आएको छ । पछिल्ला वर्षहरूमा यहाँ निर्माण भएका नयाँ पर्यटकीय पूर्वाधारमध्ये स्काईवाक सबैभन्दा चर्चित बनेको छ ।
पर्यटन प्रवर्द्धनमा सहयोग
स्काईवाकले भेडेटारको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको स्थानीय व्यवसायीहरूको भनाइ छ । होटल, रेस्टुरेन्ट तथा पर्यटनसँग सम्बन्धित अन्य व्यवसायमा समेत सकारात्मक प्रभाव परेको होटल साविराकी सञ्चालक अनिरा राईले बताइन् । उनका अनुसार विशेषगरी बिदाका दिन, सार्वजनिक बिदा तथा चाडपर्वका बेला भेडेटार आउने पर्यटकको संख्या उल्लेखनीय हुने गरेको छ ।
प्राकृतिक दृश्यावलोकनसँगै साहसिक अनुभव लिन चाहनेका लागि स्काईवाक उपयुक्त गन्तव्य बनेको होटल लावती कर्नरका सञ्चालक लिलाराज लावतीले बताए । होटल एसोसिएसन अफ भेडेटारका पूर्वअध्यक्षसमेत रहेका लावतीले टावरबाट देखिने हिमाल, पहाड र तराईको संगमले भेडेटारलाई कोशी प्रदेश मात्र होइन, देशकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरेको बताए । उनले स्काईवाकका कारण साना पसलदेखि होटल व्यवसायसम्म थप चलायमान भएको अनुभूति भएको बताए ।
साँगुरीगढी गाउँपालिकाको मुख्य आयस्रोत नै पर्यटन रहेको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए । उनका अनुसार नमस्ते झरना, पाथीभरा मन्दिर, नाम्जे र ध्वजेडाँडाजस्तै स्काईवाक पनि गाउँपालिकाको अर्को प्रमुख पर्यटकीय गन्तव्य बनेको छ । उनले स्काईवाकले भेडेटारमा पर्यटक आगमन बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
करको भार परेको गुनासो
परियोजनाले अत्यधिक करको भार बेहोर्नुपरेको जनाएको छ । नियमित करबाहेक ५ प्रतिशत रोयल्टी र ५ प्रतिशत मनोरञ्जन कर तिर्नुपर्ने भएकाले प्रत्येक टिकटमा करको भार बढ्ने गरेको परियोजनाको भनाइ छ । ‘वार्षिक ३ लाख रुपैयाँ नवीकरण शुल्क, पर्यटन कर, भ्याट तथा अन्य विभिन्न करसमेत तिर्नुपर्छ,’ प्रबन्ध निर्देशक रोकाहाले भने, ‘गत वर्ष करिब ९ करोड रुपैयाँ कारोबार हुँदा मात्र करिब ४५ लाख रुपैयाँ रोयल्टी तिर्नुपरेको थियो । त्यति नै रकम मनोरञ्जन करमा पनि तिर्नुपर्यो ।’ वन्डर्स अम्युजमेन्ट पार्क्स एन्ड अट्राक्सन प्रालिले काठमाडौंको कमलादीस्थित स्काईवाकमा भने वार्षिक ५० हजार रुपैयाँ मात्र मनोरञ्जन कर तिर्ने गरेको जनाएको छ । ‘अन्य स्काईवाक परियोजनामा यस्तो अतिरिक्त करको व्यवस्था छैन । त्यसैले कोशी प्रदेशमा लागू गरिएको उच्च करले लगानीकर्तालाई निरुत्साहित गरेको हाम्रो अनुभव छ,’ उनले भने ।
प्रदेश सरकारले सार्वजनिक–निजी साझेदारी ९पीपीपी० परियोजनालाई प्रवर्द्धन गर्ने नीति लिएको भए पनि यस्ता परियोजनालाई दिगो बनाउन कर नीति पुनरावलोकन आवश्यक रहेको सञ्चालकहरूको भनाइ छ । उनीहरूका अनुसार अत्यधिक करको सट्टा व्यावहारिक र लगानीमैत्री नीति अपनाइए नयाँ परियोजना आकर्षित गर्न, पर्यटन विकास गर्न तथा दीर्घकालीन रूपमा राज्यको राजस्वसमेत बढाउन सहयोग पुग्नेछ । साभारः अनलाईन खबर