‘वन र पर्यापर्यटनबाटै प्रदेशको समृद्धि सम्भव’ : मन्त्री पराजुली

August 4, 2026     Paryatan Yatra

धरान: कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले वन क्षेत्र र पर्यापर्यटनको विकासबाट मात्रै प्रदेशको दिगो विकास र समृद्धिको लक्ष्य पूरा हुने बताउनुभएको छ।

प्रदेश वन निर्देशनालय, धरानको आयोजनामा सञ्चालित मन्त्रालय र मातहतका निकायहरूको आर्थिक वर्ष २०८२/०८३ को दुई दिने वार्षिक समीक्षा गोष्ठीको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले यस्तो बताउनुभएको हो। बिहीबार सम्पन्न गोष्ठीमा बोल्दै उहाँले परम्परागत रूपमा वन पैदावारमा मात्र भर नपरी वनका जीवजन्तु, पोखरी र सिमसार क्षेत्रको अधिकतम उपयोग गरी पर्यापर्यटन (इको–टुरिजम) को विकास गर्नुपर्नेमा जोड दिनुभयो।

“धार्मिक पर्यटन र पर्यापर्यटनमार्फत नागरिकको जीविकोपार्जनमा सुधार ल्याउन सबै तहबाट सक्रियता आवश्यक छ,” मन्त्री पराजुलीले भन्नुभयो, “कार्यसम्पादनका क्रममा कुनै समस्या आए म जतिबेला पनि सहजीकरण गर्न तयार छु।” उहाँले मातहतका निकायहरूले प्रस्तुत गरेको प्रगति विवरण सन्तोषजनक रहेको उल्लेख गर्दै आगामी दिनमा थप उत्कृष्ट नतिजा ल्याउन र बेरुजु फर्छ्योटलाई उच्च प्राथमिकतामा राखेर काम गर्न कार्यालय प्रमुखहरूलाई निर्देशन समेत दिनुभयो।

मन्त्रालयअन्तर्गतका विभिन्न निकायहरूले वर्षभरि सम्पन्न गरेका कार्यक्रमहरूको समीक्षा गर्दै आगामी कार्यदिशा तय गरेर दुई दिने गोष्ठी सम्पन्न भएको छ।

गोष्ठीमा प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले प्रदेशको एकीकृत र दिगो पर्यटन विकासका लागि पर्यटनको प्रादेशिक गुरुयोजना तयार गर्न आयोग सदैव साथमा रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रदेशको आधाभन्दा बढी भू–भाग ओगटेको वन क्षेत्रमा बजेट विनियोजन कम भए तापनि संरक्षण र विकासमा उल्लेख्य प्रगति हासिल भएको भन्दै उहाँले प्रशंसा गर्नुभयो। यस्तै, आयोगकै सदस्य किशोरकुमार राईले समृद्धिको मुख्य आधार नै पर्यटन भएकाले नयाँ गन्तव्यहरूको पहिचान गरी लक्षित कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद रिसालले वन क्षेत्रको योगदानलाई तथ्याङ्कमा झल्किने गरी प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो। वन क्षेत्रको संरक्षणमा मात्र सीमित नभई आधुनिक व्यवस्थापन र नवीनतम प्रविधिको प्रयोगलाई बढावा दिनुपर्ने उहाँको भनाइ थियो।

मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटाले आगामी दिनमा नतिजामा आधारित मूल्याङ्कन गरिने स्पष्ट पार्नुभयो। उहाँले हरेक कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता (करार) गरिने जानकारी दिँदै कार्यक्रम सञ्चालनमा आइपर्ने समस्याहरू समयमै मन्त्रालयमा जानकारी गराउन आग्रह गर्नुभयो।

गोष्ठीको अध्यक्षता ग्रहण गर्नुभएका प्रदेश वन निर्देशक भरतबाबु श्रेष्ठले जलवायु परिवर्तनको असर न्यूनीकरण, वातावरण संरक्षण र भौतिक पूर्वाधार विकासबीच सन्तुलन कायम गर्दै पर्यापर्यटनको सम्भावनालाई दिगो विकासको लक्ष्यसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

कार्यक्रममा वन अधिकृत पटकबहादुर थापाले समग्र वन, वातावरण तथा भू–संरक्षण क्षेत्रको प्रस्तुतीकरण गर्नुभएको थियो भने धनकुटाका डिभिजनल वन अधिकृत सञ्जीवराज ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो। त्यसैगरी, पर्यटन कार्यालय झापा (काँकडभिट्टा) र पर्यटन महाशाखाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित पर्यटन प्रवर्द्धन कार्यक्रमको प्रगति र आगामी भ्रमण वर्षका लागि तय गरिएका आधारहरूबारे प्रस्तुति दिएका थिए।

दुई दिनसम्म चलेको गोष्ठीमा एफएओ (FAO) का प्राविधिक सल्लाहकार बद्रीराज ढुङ्गाना, सामुदायिक वन उपभोक्ता महासंघ कोशीका अध्यक्ष तुलसी सङ्ग्रौलाका साथै १५ वटा डिभिजन वन कार्यालय, पर्यटन कार्यालयहरू, भू तथा जलाधार व्यवस्थापन कार्यालय लगायत चुरे उत्थानशील आयोजना, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति, कोशी टप्पु वन्यजन्तु आरक्ष र नेपाल वन निगम विराटनगरका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.