प्रदेशको पर्यटन विकासमा कोषेढुंगा बन्दै इस्ट टुरिज्म मार्ट

September 22, 2019     Paryatan Yatra

इस्टटुरिज्म मार्ट दोस्रो संस्करणको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शनिवार धरानमा भव्य कार्यक्रमका विच उद्घाटन गर्नु भएको छ । धरानको सिद्धि नेवाः परिषदको सभाहलमा कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले मार्ट प्रदेश एकको पर्यटन विकासमा कोसेढुँगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । ‘प्रदेश १ को पर्यटन विकासका लागि सरकार सवैको साथमा छ,’ मुख्यमन्त्री राईले भन्नु भयो, ‘मन वचन कर्मले सबै क्षेत्रबाट एकजुट भएमात्र हाम्रो संमृद्धिको यात्रा सफल हुन्छ ।’

अहिलेपनि हामीहरुले जहां पु¥याउनु पर्ने हो त्यहांसम्म राम्रा ठाउंको प्रचारसमेत गर्न बांकी रहेको मुख्यमन्त्री राईको भनाइ थियो । ‘अन्तर्राष्ट्रिय जगतमा बिक्न सक्ने सम्भावित ठाउँहरु अझै ओझेलमै छन्,’ उहांले भन्नु भयो, ‘तिनको उजागर गर्ने दायीत्व पनि हाम्रो नै हो ।’ निजि क्षेत्रसँगको साझेदारीमा प्रदेश एकलाई माथि उठाउन हातेमालो गर्न सरकार तयार रहेको उहांको भजाइ थियो ।

यसैगरी उद्योग वातावरण तथा पर्यटन मन्त्री जगदीशप्रसाद कुसियैतले स्थानीय ठाउंको महत्वअनुसार यस्ता मेलाको आयोजना गर्नुपर्ने बताए । विदेशी पाहुनासहितको कार्यक्रमले यस क्षेत्रको विकासमा मदत पुग्ने बताए । छिमेकी मुलुकका नागरिकलाई आकर्षित गर्ने स्थानको अभाव नरहेको भन्दै लक्षित वर्ग समक्ष सहि सूचना पुग्ने यस्ता कार्यक्रम फलदायी हुने मन्त्री कुसियैतको भनाइ छ ।

धरान उपमहानगरपालिकाकी कार्यवहाक मेयर मञ्जु भण्डारीले धरानमा निरन्तर हुने मेलालाई थप परिस्कृत गर्दै लैजाने बताउनु भयो । उहांले विदेशी पाहुनालाई यहाँका आकर्षक गन्तव्यले मोहित पार्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले प्रदेश एकको उत्पादनले अन्तर्राष्ट्यि बजार पाउने उचित अवसर रहेको औंल्याए । ‘बजारीकरणको मागलाई केही हदसम्म पुरा गर्न मेला आयोजना भइरहनुपर्छ, यसले प्रदेश एकको पर्यटन विकासमा फड्को मार्छ,’ जोशीले भन्नुभयो ।

छिमेकी मुलुक भारत र तेस्रो देशका पर्यटक भित्र्याउन सक्ने प्रसस्त आधार रहेपनि सरकारी र नीजि क्षेत्रबाट पर्याप्त पहल नभएको पर्यटन क्षेत्रसँग आवद्ध व्यवसायीको गुनासो थियो । दुबै क्षेत्रको सक्रिय सहभागीताले पूर्वको पर्यटनले काँचुली फेर्ने विश्वास लिइएको छ  । विदेशी पाहुनालाई यहाँका विभिन्न पर्यटकीय गन्तव्य घुमाएर प्रचारप्रसारमा सहयोग गरिदिन र थप पर्यटक नेपल भित्र्याउन आग्रह गरिने इस्ट टुरिज्म मार्ट आयोजक समितिका अध्यक्ष एवंम पर्यटन व्यवसायी भवेश श्रेष्ठले बताउनु भयो ।

नेपाल पर्यटन बोर्डको आयोजनामा शुरु भएको तीनदिने मेलामा स्वदेशसहित, भारत, बंगलादेश र भुटानका गरि करिव ५ सय पर्यटकको सहभागीता रहेको छ ।

मेलामा प्रदेश १ का १४ जिल्लाका ६० स्टलहरू रहेका छन् । गत वर्षबाट धरानमा आयोजना हुन थालेको मार्टको यो दोस्रो संस्करण हो । नेपाल पर्यटन बोर्डले वार्षिक क्यालेण्डरमै राखेर यो कार्यक्रमको अयोजना गर्दै आएको छ । इस्ट टुरिज्म मार्टको दोस्रो संस्करणको रुपमा रहेको मेलामा विदेशीसहितको सहभागिताले नेपालको पर्यटकीय विकासमा फड्को मार्ने यहाँका व्यवसायीले विश्वास लिएका छन् ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.