होमस्टेपछि अब पर्यटकलाई राख्न लेकमा ‘गोठस्टे’

September 25, 2019     Paryatan Yatra

लेकाली क्षेत्रमा पर्यटकका लागि ‘गोठस्टे’
पाँचथर, ८ असोज । पर्यटकका लागि होमस्टे त सबैले सुनेको हो तर गोठस्टे चाहिं धेरैले नसुनेको हुन सक्छ । होमस्टे जस्तै गोठस्टेको अवधारणा पाँचथरका लेकाली क्षेत्रका बासिन्दाले अघि सारेका छन् ।
जिल्लाको उच्च पहाडी क्षेत्रका बासिन्दाले पर्यटकका लागि भन्दै ‘गोठस्टे’ सञ्चालनमा ल्याइएका छन् । परम्परागत रूपमा पालिएका चौरी गोठहरूलाई पर्यटक बस्न योग्य बनाउँदै ‘गोठस्टे’ नामाकरण गरेका हुन् उनीहरूले । होमस्टे जस्तै गोठस्टेको अवधारणा अघि सारिएको स्थानीय बताउँछन् । “गोठस्टेप्रति पर्यटकको आकर्षण बढ्दै गएको छ,” रेडपाण्डा नेर्टवकका सरक्षण संयोजक दावा तेन्जी यल्बो भन्नुहुन्छ, “गोठस्टेमा आउने पर्यटकले फरक र बेग्लै आनन्द लिन पाउँछन् ।” यो क्षेत्रमा भारतीय र बङ्गालीलगायतका स्थानबाट पर्यटकहरू आउने गरेका छन् ।
जिल्लाको फालेलुङ तथा याङवरक गाउँपालिकामा रहेका लेकाली गोठहरूलाई नै गोठस्टे बनाइएको छ । चौरी गोठलाई सफा चिटिक्क बनाउने, पर्यटक बस्न मिल्ने संरचनाको निर्माण, शौचालयलगायतको व्यवस्थापन गरिएको छ । सन्दकपुर, फालोट, चाररातेलगायतका क्षेत्र घुम्न आउने, कञ्चनजंगा बेसक्याम्प, तिम्बुपोखरी जाने पर्यटकलाई लक्षित गरी गोठस्टेहरू बनाएको हो । गोठस्टेमा बस्ने पर्यटकहरू आगो ताप्दै लेकाली वातावरणमा रमाउँछन् ।
आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी गोठस्टे सञ्चालनमा ल्याएको गोठस्टेका सञ्चालक चन्द्र नेपाल बताउनुहुन्छ । हाल त्यो क्षेत्रमा २१ वटा गोठलाई सुधारेर पर्यटकमैत्री बनाइएको छ । नेपाल–भारत सिमानामा पर्ने विभिन्न ठाउँहरूमा आउने पर्यटकलाई लक्षित गरी गोठस्टे निर्माण गरिएको नेपाल बताउँछन् । यस वर्षको पर्यटक आउने सिजन सुरु भएको छ । हिमाली दृश्य, सूर्योदय, जैविक विविधता तथा सौन्दर्यतामा रमाउन यो क्षेत्रमा अत्यधिक पर्यटक आउने गर्छन् । पर्यटकलाई गोठमा राखेर यहाँको मौलिक परम्परा देखाउने तथा आयआर्जन बढाउन खोजिएको छ । गोठस्टेबाट राम्रै आम्दानी पनि भइरहेको सञ्चालक नेपालको भनाइ छ ।
यसका लागि रेडपाण्डा नेटवर्क र दीपज्योति युवा क्लब मिलेर गोठ सुधारलाई अघि बढाएका हुन् । पर्यटकलाई गोठमा रमाउने वातवरण बनाउने प्रयास गरिएको दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल वान्तवाले बताउनुभयो । पर्यटकहरू चौरी दुहुनेका साथै गोठमै पकाएर खान पाउँदा खुसी देखिन्छन् । चौरीसँगै सेल्फी खिच्नेहरूको पनि भीड लाग्ने गरेको छ । यसरी आउने पर्यटकले घ्यू र छुर्पीसमेत किनेर लाने गरेको वान्तवाले जानकारी दिनुभयो । गोठस्टेको रूपमा सुधारिएको चुल्हो, टेण्ड, गोठ सुधारका लागि काम गरिरहेको रेडपाण्डा नेर्टवकका सरक्षण संयोजक यल्बोले बताउनुभयो ।
गोठका सञ्चालकलाई पर्यटकलाई कसरी स्वागत गर्ने, वनवातारण किन जोगाउने भन्ने विषयमा तालिमसमेत दिएको छ । हिमाल, लेकाली डाँडाहरू र चौरी हेर्न आउने पर्यटकलाई बसाउने किसिमको गोठ बनाउनका लागि प्रयास थालिएको गोठ पालक समूहका उपाध्यक्ष जंग राईले बताउनुभयो । यहाँ चौरी तथा भेंडीगोठ सञ्चालन भइरहेका छन् ।
पशुपालनसँगै पर्यटनलाई पनि सँगसँगै लैजाने योजना अघि सारिएको राईको भनाइ छ । गोठ सञ्चालकले रेडपाण्डाले प्रयोग गर्ने विरुवाहरू पनि रोप्न थालेका छन् । “गोठ सञ्चालकहरूबाट त्यस क्षेत्रमा विभिन्न विरुवासमेत रोप्ने काम भइरहेको छ,” यल्बोले भने, “गोठस्टेले पाँचथरको लेकाली क्षेत्रका बासिन्दाको जीवनस्तरमा समेत सुधार आउन थालेको छ ।”

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.