सिमसारमा पर्यटकको बढ्दो आकर्षण

November 10, 2019     Paryatan Yatra

उर्लाबारी: पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी–३, मङ्गलबारे चोकबाट करीब २ किलोमिटर उत्तर चारकोशे जङ्गलभित्र अवस्थित रहेको छ, बेतिनी सिमसार ।उर्लाबारी–२ स्थित बेतिनी सामुदायिक वनको हाताभित्र ६१ हेक्टरमा फैलिएको उक्त सिमसार व्यवस्थित पयर्टकीय स्थलमा रूपान्तरण भइरहेको छ । उर्लाबारी नगरपालिकाले दोस्रो स्थापना दिवसको सन्दर्भमा नगरलाई ‘सिमसारयुक्त पर्यटकीय नगर’ घोषणा गरेको थियो ।
सोहीअनुरूप नै सिमसारलाई व्यवस्थित पर्यटकीय स्थल बनाउने जमर्काे भइरहेको छ । सिमसार क्षेत्रमा तारजाली, पक्की शौचालय, चौतारा, सडक ग्राभेललगायतका कार्य सम्पन्न भइसकेका छन् भने बनकै हाताभित्र बाल उद्यान निर्माण भएको छ ।
त्यस्तै, सङ्घीय सांसद क्षेत्र विकास कोषको १५ लाख रुपैयाँबाट वनभोजका लागि व्यवस्थित टहरा, शौचालय र खानेपानीको प्रबन्ध मिलाइएको समितिका कोषाध्यक्ष ज्योति थापाले जानकारी दिए । उनका अनुसार उर्लाबारी नगरपालिकाबाट सिमसारको बाँध निर्माणका लागि २ लाख रुपैयाँ विनियोजन भएको छ ।
समितिले सिमसार क्षेत्रलाई व्यवस्थित बनाउन आकर्षक फलैँचा, फूलबारी, सेल्फी डाँडालगायत निर्माण गर्ने बेतिनी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भीम राईले बताए । सिमसार क्षेत्रमा रहेको पोखरीको पश्चिम भागमा अवस्थित डाँडामा राखिएका तीनवटा बाघका प्रतिमालाई बाल उद्यानमा स्थानान्तरण गरी उक्त स्थानमा आकर्षक फलैँचा निर्माण गरिने अध्यक्ष राईले बताए ।

एकान्त र सुन्दर वातावरण रहेका कारण पर्यटकहरूको आकर्षणको केन्द्र बन्ने अध्यक्ष राईको भनाइ छ । ‘हामीले सिमसारलाई पूर्वकै नमूना पयर्टकीय स्थल बनाउने जमर्काे गरिरहेका छौं’, उनले भने, ‘अझै सिमसारलाई व्यवस्थित बनाउन बाँकी नै छ ।’ हालसम्म सिमसारको विकासमा डेढ करोडभन्दा बढी रकम खर्च भइसकेको उनले जानकारी दिए ।

सिमसारमा २ वटा डुङ्गा सञ्चालनमा रहेका छन् भने यसै आर्थिक वर्षभित्र २ वटा थप गर्ने योजना रहेको सदस्य मिलन दाहालले जानकारी दिए । सिमसारलाई व्यवस्थित बनाउन प्रवेश शुल्क प्रतिव्यक्ति १० रुपैयाँ तोकिएको उनले बताए । सिमसार क्षेत्रमा दैनिक ४÷५ सय आन्तरिक पर्यटकहरू आउने गरेका छन् भने बिदाको समयमा सिमसार घुम्न आउनेको सङ्ख्या अत्यधिक हुने गरेको समितिका सदस्य चन्द्र फोम्बोले जानकारी दिए ।
सिमसार क्षेत्रको विकासका लागि ३३ करोडको गुरुयोजना तयार भइसकेको छ । हाल दुई वटा पोखरी रहेका छन् । पोखरीमा डुबेर मृत्यु हुनेको सङ्ख्या बढेपछि दुवै पोखरीमा अहिले पौडी खेल्न रोक लगाइएको छ ।

छुट्टीको समयमा सिमसार क्षेत्रमा वनभोज खान र घुम्नका लागिसमेत आन्तरिक पर्यटकहरू आउने गरेका छन् । २०६३ सालदेखि नै सिमसारलाई पयर्टकीय क्षेत्र बनाउने भन्दै बेतिनी सिमसार तथा मिक्लाजुङ पर्यटन एकीकृत विकास सङ्घ गठन गरिएको थियो । उक्त सामुदायिक वन क्षेत्रमा बेत, सर्पगन्धा, हर्राे, अमला, लहरे, टिम्बुर, सुनाखरीजस्ता वनस्पतिहरू पाइन्छन् ।
चराचुरुङ्गीहरूमा मैना, लुइँचे, धनेश, मयुर, बट्टाई, हाँडीफोर, बकुल्लालगायत पाइन्छन् । यसैगरी सो स्थान आसपास मृग, हरिण, चितुवा, बँदेल, दुम्सी, सालक, वन बिरालो, गोहोरो, अजिङ्गरलगायतका जीवजन्तुहरू पाइन्छन् ।

सिमसार क्षेत्रमा बेत, सर्पगन्धा, कवै, चाप, सिमसाग, भुइँचम्पा, ओरेसा, सुनाखरी, लौठसल्लाजस्ता लोपोन्मुख वनस्पतिहरू समेत रहेका छन् । थुप्रै प्रकारका स–साना जीवजन्तुहरू समेत यहाँ देख्न पाइन्छ ।
सुन्दर र एकान्त वातावरणमा रहेका कारण पनि पर्यटकहरूका लागि पहिलो रोजाइमा बेतिनी सिमसार पर्ने गरेको स्थानीय युवा मनोज बुढाथोकी बताए । सिमसारलाई अझै व्यवस्थित रूपमा अगाडि बढाउन सकिए आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने थुप्रै सम्भावनाहरू रहेको उनको धारणा रहेको छ ।

सो सिमसार पर्यटकीय केन्द्रका साथै विद्यार्थीहरूको लागि अध्ययन गर्ने थलोको रूपमा विकास हुन सक्ने भएकाले त्यसको संरक्षण र विकास गर्न आवश्यक छ । साथै प्रेमजोडीहरूका लागि पनि राम्रो ‘डेटिङ’ स्पट बनिरहेको छ, बेतिनी सिमसार ।
सिमसारमा बर्खाको भेलबाढीमा समेत पानी नधमिलिने तथा जुनै मौसममा पनि पानी घटबढ नहुने अनौठो विशेषता रहेको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.