आर्कषणको केन्द्र बन्दै रुखका घर

November 13, 2019     Paryatan Yatra

 धनकुटा । रुख माथि घर हुन्छ भन्ने कुरा जोकोहीलाई पत्यार नलाग्न सक्छ । अझ रुख माथि वनेको घरमा रेस्टुरेन्ट संचालन भएको कुरा पत्याउन गाह्रो हुन्छ ।

तर छथरजोरपाटी गाउँपालिका–५ चुम्लुङमा वरुको रुख माथि घर बनाइएको छ । उक्त रुख माथि वनेको घरमा रेस्टुरेन्ट संचालनमा छन् । अहिले उक्त घर आन्तरिक तथा वाह्रय पर्यटकको लागि आर्कषणको केन्द्र विन्दु वनेको छ ।

चुम्लुङकै स्थानीय यूवाद्वय प्रेम लिम्बु र हेमकुमार लिम्बुको रुख माथि कटेज निर्माण गरि रेस्टुरेन्ट संचालनमा ल्याएका हुन् । करिव ५ लाख रुपैयाको लागतमा निर्मित उक्त कटेज असोज २१ गतेदेखि संचालनमा आएको संचालक प्रेम लिम्बुले बताउनु भयो ।

रुख माथि वनेको कटेज हेर्न आउने र त्यहाँ फोटो खिच्नेको दिनहुँ भिड लाग्ने प्रेमले बताउनु भयो । माथि डाँडैवाट कटेज देखिने भएकोले गर्दा आउने पाहुनाले देख्ने वित्तिकै अचम्म मान्छन् । सेल्फी खिचिहाल्छन् ।

धनकुटा–सिँधुवा सडक खण्डको सिँधुवा र जोरपाटी बजार देखि करिव २५ मिनेटको सवारी यात्रा पछि त्यहाँ पुग्न सकिन्छ । सामाजिक संजालवाट प्रचार भएपछि आउनेको भीड दिनहु वढ्दै भएको अर्का संचालक हेमकुमार लिम्बुले बताउनु हुन्छ । 

त्यहाँ दुई वटा ठूला वरको रुख भएपनि अहिले एउटा रुखमा मात्रै तीन वटा कटेज वनाइएको छ । कटेजमा खानपिनका लागि टेवल र कुर्सी राखिएको छ । कटेज भित्र एकै पटक २० जना सम्म मान्छे अट्न सक्ने हेककुमारले बताउनु भयो । कटेजमा आउने पाहुनाहरु गाउँघरमै उत्पादन भएका अर्गानिक कृषिजन्य वस्तुवाट परिकार वनाएर दिइने गरिएको छ । स्वास्थ्य प्राविधिक पढेका प्रेम लिम्बुलाई फरक किसिमले व्यवसाय गर्ने सोच पहिले देखि नै थियो ।

कटेज निर्माणमा च्यादर, गाउँघरमै पाइने वाँस र काठको प्रयोग गरिएको छ । कटेज संचालक दुई जनाले आफै निर्माण गरेका हुन् ।  अर्को वरको रुखमा समेत कटेज निर्माण गरिने उनले बताउनु भयो । कटेज भन्दा केही तल दुई वटा देवीको मन्दिर रहेकोले त्यहाँ सरसफाइ गर्ने र त्यहाँसम्म पुग्न रेलिङ लगाउने उहाँरुको योजना छ । सुरुमा कटेज निर्माण गर्दा आसपासका छिमेकी तथा साथीहरुले गाउँमा किन निर्माण गरेको, लगानी खेर जान्छ, चल्दैन भनेर प्रतिक्रिया दिएका थिए । तर अहिले कटेजमा मान्छेको ओइरो लाग्न थालेपछि सबै हौसला दिने गरेको बताउनु हुन्छ ।

सिंगापुरे पुलिस समेत रहेका झापाका वासिन्दा लिलाराज आङवुहाङले रुख माथि वनेको कटेज देख्दा मन लोभ्याएको । आर्कषक देखिएको बताउनु भयो । ‘क्रियटिभ माइन्डवाट निर्माण गरिएको कटेज सुन्दर र आर्कषक छ । अझ यहाँ पाइने आर्गनिक परिकारको स्वादले झनै रोमाञ्चक बनाउछ’ सामाजिक संजालबाट फोटो देखेर कटेज हेर्न पुगेका छथरजोरपाटी गाउँपालिकामा इन्जिनियर पदमा कार्यरत दिवश पौडेलले कटेजको सुन्दरताले जोकोहीलाई पनि लोभ्याउने बताउनु भयो ।   

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.