कोशीटप्पुलाई पर्यटनमैत्री बनाउन समन्वय गर्दै स्थानीय र प्रदेश सरकार

November 20, 2019     Paryatan Yatra

विराटनगर, ४ मंसिर ।  कोशीटप्पु वन्यजन्तु आरक्ष र आरक्ष आसपासको क्षेत्रलाई संरक्षण गरी  पर्यटन प्रवद्र्धन गर्न सक्ने प्रशस्तै सम्भावना छन् । कोशी पश्चिमतर्फ रहेको श्रीलंका टापु अर्को आकर्षक पर्यटकीय केन्द्र बन्न सक्छ ।

पर्यटकीय क्षेत्र कोशीटप्पु पूर्वाधार विकास र कानुनी जटिलताका कारण अहिलेसम्म सोचेजस्तो विकास हुन सकेको छैन यो क्षेत्रको । यिनै विषयलाई समेटेर संवाद समुह मोरङले सरोकारवालाहरूसँग छलफल गरिएको छ । स्थानीय र वन्यजन्तुको द्वन्द्वका कारण  कोशीटप्पु क्षेत्रको पर्यटनको विकासमा बाधा पुग्दै आएको छ । स्थानीय कोशी गाउँपालिका, कोशीटप्पु वन्यजन्तु आरक्ष र प्रदेश सरकार एक भएर अघि बढ्न सके यो क्षेत्रको विकास चाँडो हुनेमा सबै सरोकारवालाहरू एकमत देखिएका छन् ।प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियैतले जंगली जनावरको व्यवस्थापनसँगै पर्यटनको विकासमा सरकार गम्भीर रहेको बताउनुभयो । जनावरको व्यवस्थापन गर्नका लागि क्यानल बनाएर नियन्त्रण गर्ने र पर्यटन प्रवद्र्धनका लागि लगानीको वातावरण निर्माण गर्न सरकार लागि परेको उहाँको दाबी थियो ।  पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश सरकार र कोशी गाउँपालिकाले आरक्ष आसपासमा पार्कको निर्माण सुरु गरिसकेको गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले जानकारी दिनुभयो । पर्यटक आउने वातावरण बनाउन र पर्यटकीय क्षेत्रको रूपमा कोशीटप्पुलाई विकास गर्ने विषय गाउँपालिकाको प्राथमिकतामा रहेको उहाँको भनाइ थियो ।

पर्यटकलाई घुमाउनको लागि गाइडको अभावलाई अन्त्य गर्नका लागि गाउँपालिकाले आरक्षलाई सहयोग गर्ने र आरक्षले गाइड उत्पादनको तालिम दिनेसमेत सहमति भएको छ । आरक्षका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले तालिम दिलाउने काम आरक्ष प्रशासनको भएको समेत बताउनुभयो । विराटनगरका  होटल तथा पर्यटन व्यवसायी भविसकुमार श्रेष्ठले पर्यटकीय स्थलहरूको भौतिक संरचना निर्माणका साथै पर्यटनमैत्री वातावरण निर्माणका लागि स्थानीय र प्रदेश सरकार गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभयो । “संघीयताको मर्म र भावनाअनुसार अब अन्य क्षेत्रजस्तै पर्यटनको विकासमा पनि स्थानीय र प्रदेश सरकार लाग्नुपर्छ,” श्रेष्ठले थप्नुभयो, “आफ्नो क्षेत्रमा भएका पर्यटकीयस्थलहरूको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा स्थानीय सरकार बढी चिन्तित हुनुपर्छ ।” उहाँले हिजोजस्तो केन्द्रलाई दोष लगाएर उम्कने ठाउँ अब कसैलाई नरहेको भन्दै सबै क्षेत्रको हातेमालो बिना पर्यटनको विकास सम्भव नहुने धारणा राख्नुभयो ।

प्रदेश–१ का प्रदेशसभा सदस्य सावित्रा रेग्मीले कोशीटप्पुलाई चितवन राष्ट्रिय निकुञ्जभन्दा धेरै माथि लग्न सकिने दाबी गर्नुभयो । “कोशीटप्पु जत्तिको सम्भावना बोकेको क्षेत्र प्रदेश–१ मा कमै रहेका छन्,” उहाँले भन्नुभयो, “कानुनी जटिलता भए त्यसको गाँठो फुकाएर तत्काल पर्यटक भित्र्याउने वातावरण बनाउन प्रदेशसभा कटिबद्ध छ ।”

नेपाल भ्रमण वर्ष २०२० प्रदेश समितिका सहसंयोजक राजन श्रेष्ठ, होटल संघ इटहरीका अध्यक्ष जीवन पराजुली, होटल व्यवसायी महासंघ प्रदेश–१ का अध्यक्ष मणिन्द्र कटुवाललगायतले कोशीटप्पुमा लगानी गर्नका लागि लगानीकर्ताहरू तयारी अवस्थामा रहेको भए पनि स्थानीय पालिका, प्रदेश सरकार र संघीय सरकारले वातावरण बनाउन नसकेको बताउनुभएको थियो । विराटनगर ट्राभल्स एजेन्ट संघका अध्यक्ष फणिन्द्र अधिकारी तथा उपाध्यक्ष ज्ञानु नेपालले अहिलेको अवस्थामा कोशीटप्पुका लागि पर्यटक घटेकाले पर्यटक बढाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.